समाज

धनगढी उपमहानगरलाई रोटरी क्लब धनगढीले दियो ३० हजार थान मास्क

इकागज |
माघ ९, २०७८ आइतबार १८:१७ बजे

कैलाली - रोटरी क्लब अफ धनगढीले कोभिड-१९ बाट बच्‍न 'अनिवार्य मास्क लगाऊ' भन्ने उद्देश्यले धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष दीपक उपाध्यायले उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई मास्क हस्तान्तरण गरेका छन् । मास्क हस्तान्तरण गर्दै अध्यक्ष उपाध्यायले बढ्दो कोभिड-१९ बाट बच्न "अनिवार्य मास्क लगाउ" भन्ने उद्देश्यका साथ क्लबले उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायतका लागि मास्क हस्तान्तरण गरेको बताए । 

उपमहानगरपालिकाका मेयरले वडले रोटरी क्लबले पहिलो तथा दोश्रो कोभिड-१९ महामारीका बेला धेरै मानवीय सेवा गरेको स्मरण गर्दै तेश्रो लहरमा समेत अग्रपंक्तिमा रही कार्य गर्दै आइरहेकोमा प्रशंसा गरे ।


उपमहानगरपालिका भित्र अनिवार्य मास्क अभियान अन्तर्गत सम्पुर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै मेयर वडले प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्न नगरबासीहरूलाई आग्रह समेत गरे । 

मास्क हस्तान्तरण कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालगायतको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x