समाज

क्रिप्टोकरेन्सी काराेबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर

इकागज |
माघ ११, २०७८ मंगलबार १७:१३ बजे

काठमाडाैँ – क्रिप्टोकरेन्सी काराेबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर भएकाे छ । कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धितालविरुद्ध मुद्दा दायर भएको हो ।

राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हाे ।विभागका अनुसार क्रिप्टोकरेन्सीको कारोबार ई-स्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट भएको हो ।


विभागका सूचना अधिकारी कृष्णा प्रसाद पाण्डेका अनुसार दिनेशले आफू र परिवारका सदस्यको नाममा क्रिप्टोकरेन्सीको कारोबार गरेका थिए ।  दिनेशले आफ्नो बैंक खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार भएकाे विभागले दाबी गरेकाे छ । यसैगरी नरबहादुरको बैंक खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ काराेबार भएकाे छ ।

त्यस्तै अनिताको खाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँ र भगवतीको बैंक खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ । 


Author

थप समाचार
x