समाज

बैतडीका २२ वडासचिव स्पष्टीकरणमा

इकागज |
माघ १७, २०७८ सोमबार २०:९ बजे

बैतडी- बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।    
    
स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, डिलाशैनी गाउँपालिका–२, मेलौली नगरपालिका–२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक वडाका सचिव रहेका छन् ।    
    
राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भए पनि बैतडीका धेरैजसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोधिएको हो । धेरैजसो वडामा कानून नै नपढेर हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले उनीहरुलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।    
    
सूचना अधिकारी भारतीले भने, “२० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको पाइएको, धेरै जसोले व्यक्तिगत घटना दर्ता अनलाइनमा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको हो । पहिलो पटक उनीहरुलाई सचेत गराउन स्पष्टीकरण सोधेका र दोहिरिएमा कानूनबमोजिम कारबाहीका भागीदार हुनेछन् ।”    
    
राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा एमआइएस अपरेटर राखेको भए पनि अनलाइन दर्ता गर्ने कार्य नभएको हो। विसं २०७५ भदौ १ गतेपछिका हरेक व्यक्तिगत घटना दर्ता अनलाइनमा दर्ता हुनुपर्ने भएकाले त्यसो नभएकाले स्पष्टीकरण सोधिएको हो ।    
    
यसका साथै मुलुकी संहिता, २०७४ को दफा ७० को ‘घ’ अनुसार विवाह दर्ता नगरेको पाइएको छ । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्तालगायतका कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भए पनि त्यसो नगरेका वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।    
    
जिल्लाका अन्य वडासचिवले पनि यस्तो गरिएको पाइएमा पहिलो पटक स्पष्टीकरण सोधिने र दोहोरिँदै गए कारबाही गरिने बताइएको छ । राष्ट्रिय पञ्जीकरण विभागकै कार्ययोजनाअनुसार अनलाइन घटना दर्ता नहुँदासम्म नागरिकता प्रदान गर्न नसकिने जनाइएको छ । कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहलाई आलोपालो सेवा दिइरहेको छ ।    



Author

थप समाचार
x