समाज

पुस्तक प्रकाशक बन्दै हुनुहुन्छ ? पढ्नुहोस्, यी चार अनुभव

सृजना खड्का |
पुस २६, २०७७ आइतबार ९:४५ बजे

सहरमा चार पूर्वप्रधान न्यायाधीशहरूको संयुक्त भनाइको चर्चा छ । उनीहरूलाई नैतिकता सिकाउने ‘नैतिकवान्’हरूको पनि कुनै कमी छैन । यसैबीच नेपालका चारै पुस्तक प्रकाशकहरूले संयुक्त स्थलबाट दिएको उस्तै उस्तै बोली पनि उत्तिकै महत्वपूर्ण ठानेर हामीले सार सम्प्रेषण गरेका छौँ । कोभिड महामारीले पुस्तक क्षेत्रमा पारेको प्रभाव त छँदै छ, समग्रमा प्रकाशन क्षेत्र व्यावसायिक हुन नसकेको, सरकारले पुस्तकालयतिर भन्दा भ्युटावरतिर ध्यान दिएको प्रसंग यहाँ उठेको छ । यसरी नै पठन संस्कृति फराकिलो र लेखन संस्कृति गहकिलो हुन नसकेको तर्क वितर्कसँगै प्रकाशकहरूले बजारबाट पैसा उठाउन गाह्रो हुने अनुभव सुनाएका मात्र छैनन्, इपुस्तकको वर्तमान र भविष्यबारे पनि मुख खोलेका छन् । ‘नेपाली पुस्तक प्रकाशन क्षेत्रमा अवसर र चुनौती’ विषयमा यही पुस २१ गते मार्टिन चौतारीमा अनलाइन अन्तर्क्रिया भएको थियो, जहाँ अक्षर क्रियसन्स्का अर्चना थापा, बुक-हिलका भूपेन्द्र खड्का, सांग्रिला बुक्सका मणि शर्मा र किताब पब्लिसर्सका कल्पना ढकाल वक्ता थिए । प्रस्तुत छ, उनीहरूको विचार र भावनाको सार संक्षेप, उनीहरूका दुःख-सुख उनीहरूकै शब्दमा :    

पुस्तक बढायौँ, पाठक बढाउन सकेनौँ : अर्चना थापा 
साझा प्रकाशन १०६ वर्ष पुरानो प्रकाशन गृह हो । प्रकाशनमा अवसर भएको भए सायद साझा प्रकाशनको अवस्था राम्रो हुन्थ्यो । उसले सरकारसँग ४० करोड रुपैयाँ आर्थिक सहयोग माग्‍ने स्थिति आउँदैनथ्यो । त्यसमा व्यवस्थापकीय कमजोरी र राजनीतिकरणका कुरा जोडिएर आउँछन् । 



 
हामीजस्ता साना प्रकाशन गृहका अवसर कम, चुनौती धेरै छन् । प्रकाशन गृहका आ-आफ्नै अजेन्डा हुन्छन् । हामी वर्षमा दुइटा किताब निकाल्छौँ । बजारमा स्थापितभन्दा फरक धारको स्वादको किताब निकाल्दा सबै पाठकलाई मन नपर्न सक्छ । जसले गर्दा स्रोत र साधनको अभाव हुन्छ । संस्था र लेखकको जीविका चलाउन समस्या हुन्छ ।
 
कोभिडले पुस्तकको प्रकाशन र बिक्रीमा अवरोध सिर्जना गर्‍यो । तर, अवरोधसँगै अवसर पनि आएका छन् । डिजिटल्ली हामी अगाडि बढ्न पाएका छौँ । इ-बुक आएको छ । अडियो बुकहरूमा सुन्‍न पाइएको छ । किताबहरू होम डेलिभरीको माध्यमबाट घर-घरमा पुर्‍याउन पाइएको छ ।

हामीले दैनिक पत्रिकामा किताबको ठूलो विज्ञापन दिन सक्दैनथ्यौँ । तर, अहिले सोसल मिडियाको माध्यमबाट मार्केटिङ भइरहेको छ । विज्ञापन भइरहेको छ । ‘रेफरल मार्केटिङ’ भइरहेको छ । त्यस्तै, यस्तो कोभिडको बेलामा पनि नयाँ प्रकाशन गृह खुलेका छन् । नयाँ प्रकाशन गृह आउनु भनेको आशा हो । अवसर हो ।  

त्यस्तै, चुनौतीहरू पनि धेरै छन् । हामीले किताबको संख्या बढाए पनि पाठकको संख्या बढाउन सकिरहेका छैनौँ । सरकारले पनि यो क्षेत्रलाई चासो दिएको छैन । सरकारलाई भ्यू टावरको संस्कृति विकास गर्न रुचि छ । तर, पुस्तकालय बनाउने र साहित्यलाई अगाडि बढाउने कुरामा रुचि छैन । प्रज्ञा प्रतिष्ठानमा साहित्यलाई बुझ्‍ने र प्रवर्धन गर्ने व्यक्तिले नियुक्ति पाउँदैनन् । त्यो प्रतिष्ठान राजनीतिक भर्ती केन्द्र जस्तो भएको छ । 

लेखक पनि जिम्मेवार हुनुपर्छ : भूपेन्द्र खड्का
कोभिडले गर्दा पुस्तक प्रकाशन क्षेत्रमा चुनौती थपिएको छ । पुस्तकको बजार छैन । कुनै बेला पुस्तकमा लगाइएको करले बजार खस्कियो । भुइँचालो र नाकाबन्दीले पनि हामीलाई ब्रेक लगाउने काम गर्‍यो । पछिल्लो समय कोभिडको मारमा हामी पर्‍यौँ । यो व्यवसायलाई उद्योगका रुपमा लैजान सकिरहेका छैनौँ । सरकारले जबसम्म पुस्तक प्रकाशनका निम्ति प्रयास गर्दैन, तबसम्म यस क्षेत्रमा चुनौती थपिइरहन्छन् ।

हर राष्ट्रको पहिचान भनेकै कला, संस्कृति र साहित्य हो । तर, सरकारले साहित्य क्षेत्रलाई पाँचौँ नम्बरको मनोरञ्‍जन तहमा राखेको छ । यसलाई पनि स्वास्थ्य र शिक्षा जस्तै अनिवार्य तहमा ल्याउनुपर्छ । देशका सबै गाउँपालिकामा सार्वजनिक पुस्तकालय स्थापना गर्नुपर्छ । अनि मात्र पठन संस्कृतिको विकास हुन्छ । 

बदलिँदो समयसँगै पुस्तकका प्लेटफर्महरू बदलिएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रिन्ट भएकै दिन किताब इबुक र अडियो बुक पाठकले आफ्नो छनोटअनुसार खरिद गर्न पाउने सुविधा छ । हाम्रो देशमा पनि त्यसको अभ्यास भइरहेको छ । 

अबको समयमा प्रकाशकसँगै लेखक पनि जिम्मेवार हुनुपर्छ । लेखनको गुणस्तर बढाउनु पनि उत्तिकै महत्वपूर्ण छ । लेखकले आफूले लेखेको कुरा हतारमा प्रकाशन गर्नुभन्दा त्यसको पुनर्लेखन, सम्पादनलगायत कुरामा ध्यान दिनुपर्ने देखिन्छ । अस्थिर बजार चलायमान बनाउन सहयोग हुनुपर्छ । नत्र जति धेरै संख्यामा पुस्तक प्रकाशनमा आए पनि खर्च धान्‍न मुस्किल पर्छ ।

बजारबाट पैसा उठाउन गाह्रो छ : मणि शर्मा
प्रकाशन एउटा व्यावसायिक क्षेत्र हो । जुनसुकै व्यावसायिक क्षेत्रमा चुनौती हुन्छन् । विशेष गरी व्यवस्थापनसँग जोडिएका चुनौती धेरै हुन्छन् । चुनौतीसँगै अवसर पनि आउँछन् । अवसर हामी आफैँले सिर्जना गर्ने कुरा हो ।


 
पछिल्लो समय पुस्तक प्रकाशन क्षेत्रमा धेरै राम्रा काम भइरहेका छन् । फरक तरिकाले काम गर्ने प्रकाशन गृहहरू सञ्‍चालनमा आइरहेका छन् । तर, प्रकाशन गृहहरू धेरै भए पनि व्यवसायिक भने हुन सकिरहेका छैनन् । 

प्रकाशन गृह चलाउन आवश्यक पर्ने कुराहरू छैनन् । प्रकाशन क्षेत्र भनेको थुप्रो लगानी लाग्‍ने क्षेत्र हो । महिनामा चारओटा किताब प्रकाशन गर्दा पनि न्यूनतम खर्च धान्‍न गाह्रो हुन्छ । बौध्दिक व्यवसायको क्षेत्रमा काम गर्न निकै गाह्रो छ । 

नेपाली प्रकाशन क्षेत्र चलायमान पनि छ । तर, प्रकाशक र लेखकअनुसार बजार भने निर्माण हुन सकेको छैन । पुस्तकालयको व्यवस्थापन हुन सकेको छैन । पाठक नभएका होइनन् । तर, पाठकसम्म पुग्‍न बजार व्यवस्थापनमा चुनौती छ । बजारबाट पैसा उठाउन गाह्रो छ ।
 
यूएसआईडीको सहयोगमा स्कुलहरूलाई पुस्तकालयको बजेट पुग्‍न थालेको तीन वर्ष भयो । त्यो बजेट कहाँ जान्छ, थाहा हुँदैन । यो वर्ष मात्रै १ हजार १६ स्कुललाई छ लाखको दरले पुस्तकालय बजेट गएको छ । तर, त्यसको सदुपयोग हुन सकिरहेको छैन । राम्रा किताब त्यहाँसम्म पुग्‍न सकिरहेका छैनन् । 

‘सकिहालिन्छ नि’देखि ‘सोचेजस्तो रहेनछ’सम्म : कल्पना ढकाल
अहिलेसम्म हाम्रो प्रकाशन गृहले जम्मा छवटा किताब निकाल्यो । प्रकाशनको काम सुरु गर्दा ‘सकिहालिन्छ नि’ भन्‍ने आँट थियो । तर, सोचे जस्तो सजिलो रहेनछ । अहिले थुप्रै चुनौतीको सामना गर्नु परिरहेको छ ।

मैले यो क्षेत्रमा प्रवेश गरेदेखि नै बजार खस्कियो किताबको बिक्री बढेन भनेर सुन्दै आएको थिएँ । बुझ्दै जाँदा सबै कुरा गुणस्तरमा गएर अड्कियो । हाम्रो क्षेत्रको जिम्मेवारी हामी आफैँले लिनुपर्छ । हाम्रो कामको गुणस्तर पाठकले रोजेको वा खोजेको जस्तो नभएको पनि हुन सक्छ ।
 
यो ज्ञानको निर्माण र विस्तार गर्ने क्षेत्र भएको भएर यस क्षेत्रमा काम गर्न पाउनु आफैँमा अवसर हो । केही राम्रा किताब छाड्न पाइयो भने आफूलाई एकखाले आत्मसन्तुष्टि हुन्छ । किनभने, समाजमा ज्ञानको भोक कहिल्यै मेटिँदैन । यो क्षेत्रको खोजी सबैले सधैँभरि गरिरहन्छन् । 

कतिपय सरकारी प्रकाशन क्षेत्रले गर्न नसकेका काम निजी प्रकाशन क्षेत्रले गरिरहेका छन् । यसरी नेतृत्व पाउनु आफैँमा अवसर हो । त्यस्तै, जति नै डिजिटल जमाना आए पनि प्रिन्ट बुकलाई अरु केहीले जित्न सक्दैन । किनभने, कोभिडको समयमा पनि विभिन्न देशले प्रिन्ट बुकको बिजनेस राम्रो गरेका उदाहरण छन् ।

तर, एउटा खाद्यान्‍न पसलेलाई एक महिनामा कति खाद्यान्‍न जान्छ भनेर थाहा हुन्छ । हामी प्रकाशकलाई भने त्यो अड्कल हुँदैन । नयाँ किताब बजारमा जाने बेला कति किताब जान्छ भन्‍ने अनुमान गर्न सकिँदैन । हामी अन्यौलमा हुन्छौँ । कुनै किताब राम्रो लाग्छ तर, पछि थन्किन बेर लाग्दैन ।

ठिकै जाला भनेर कम छापेका किताब बजारमा पुग्न नपाई पुनः प्रकाशन गर्नुपर्ने स्थिति  हुन्छ । हरेक किताब प्रकाशन गर्ने बेलामा नयाँ बच्चा जन्माएको जस्तो अनुभूति हुन्छ । विषयवस्तु र टिम पनि फरक फरक हुने भएकाले हरेक पटक नयाँ अनुभव भने गर्न पाइन्छ । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x