कोभिडको नक्कली रिपोर्ट दिने चारजना काठमाडौँबाट पक्राउ
काठमाडौँ- प्रहरीले कोभिड-१९ नक्कली रिपोर्ट बनाइदिने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् । राजदेवी नगरपालिका-४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका-३२ का निर्मल गिरी भने फरार छन् ।
अस्पताल र प्रयोगशालाहरूले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् । भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक हुन् ।
प्रहरीकाअनुसार उनीहरूले व्यक्तिको स्वाबको नमुना नलिइकनै नेगेटिभ रिपोर्ट दिने गरेका थिए । पीसीआर पोजेटिभ देखिएका नमुनाको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको पनि प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ती अस्पताल र ल्याबबाट सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबविनै विचौलियाहरूले आफैंले आफ्नो स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ ।
त्यस्तै विचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी एक जनाबाट १० हजार रुपैयाँसम्म असुल गरेको पाइएको पनि अपराध अनुसन्धान महाशाखाले जनएको छ ।
प्रहरीले पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको छ ।
यो पनि
कोभिडको नक्कली रिपोर्ट दिने कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया