समाज

सुत्केरी छोरी : घरले जाजा, माइतले आआ

बुहारीका लागि घर, कहिलेसम्म ‘पराइ घर’ ?

सृजना खड्का |
माघ २५, २०७८ मंगलबार १७:३७ बजे

काठमाडौँ - भक्तपुर, नलिन्चोककी सीता खत्रीको आधा जिन्दगी छोरीहरूको सुत्केरी स्याहारमा बित्यो । पाँच छोरीका १३ नातिनातिनालाई उनले आफ्नै बुढ्यौली लागेका हातले स्याहारेकी हुन्  । 

विशेषगरी काँठतिर सुत्केरी हुँदा नौ दिनमा माइतीपक्ष छोरीको घर जानुपर्छ । यसरी जाँदा आमा र बच्चालाई कपडा, साबुन, डिटरर्जेन्ट पाउडर (सरफ) र लुगा धुने बाटा आदि लैजानुपर्छ । ‘सुत्केरी छोरी र बच्चाको लुगा धुन चाहिने सबै सामान बोकेर जानुपर्छ,’ उनले भनिन्, ‘कतै आमा र बच्चाको मात्रै लुगा धुने चलन छ । कसैकोमा परिवारका अन्य सदस्यको लुगासमेत धोइदिनुपर्छ ।’ बच्चाको न्वारानपछि भने सुत्केरीलाई माइत पठाइन्छ । माइतमा उनीहरू दुईदेखि छ महिना अर्थात् आफूू नतंग्रिने बेलासम्म बस्छन् । 


सीता एकल आमा हुन् । खेतीपातीबाहेक आम्दानीको अन्य स्रोत छैन । तर, सुत्केरी छोरीलाई घर फर्काउँदा उनले ‘सुत्केरी भाग’ तयार गरिदिन्थिन् । सुत्केरी भागमा सिरक, डसना, परिवारका सदस्य र नजिकका नातेदारलाई एकसरो कपडा, सेलरोटी, तरकारी, अचार, फलफूल, मिठाई आदि तयार गर्नुपर्थ्यो । बच्चालाई कानमा सुनको मुन्द्रादेखि हातखुट्टामा कल्ली बनाएर लगाइदिनुपर्थ्यो । ‘घरपक्षको ध्यान बच्चा र आमाको स्वास्थ्यमा भन्दा कोसेलीमा बढी हुन्छ,’ उनले भनिन्, ‘कोसली चित्त नबुझे छोरीले माइतको नानाथरी नाम सुन्नुपर्छ । समाजलाई देखाउनै भए पनि चित्तबुझ्दो कोसेली पठाउनै पर्छ ।’ 

००० 

काठमाडौँ, साँखुकी सीमा फुँयाल माइतबाट सुत्केरी फर्किंदा यी सबै रिवाज पूरा गरेर फर्किएकी थिइन् । सीमालाई यो सब गर्न मन थिएन । तर, आमाले कुनाभित्र बस्दा छोएको लुगा जसरी पनि माइतबाटै लैजानुपर्छ भनेपछि सिरक, डसना र कोसेली बोकेर माइत फर्किइन् । आमा, काकी र भाउजूले ती भारी बोकेर उनलाई सुत्केरी फर्काउन आए । ‘घर आएपछि सबैलाई कोसेली र लुगाफाटो दियौँ,’ उनले सुनाइन्, ‘तर, भोलिपल्टैबाट कोसेली र लत्ताकपडा गतिलो भएन भनेर कुरा काट्न थाले ।’ 

जुम्ल्याहा बच्चा जन्माएकी सीमालाई सुत्केरी अवस्थामा श्रीमान्‌को साथ मिलेन । सुत्केरी हुँदा अस्पतालले श्रीमान्‌लाई कुरुवाबस्‍नदिएन, सुत्केरीपछि परिवारले । अस्पतालबाट डिस्चार्ज गरेपछि उनका धेरै रात अनिदोमै बिते । ‘एउटालाई खुवायो अर्को रुन्थ्यो, एउटालाई सुतायो अर्को उठ्थ्यो’ उनले भनिन्, ‘उनीहरूलाई थुम्थुम्याउँदै रात बित्थ्यो । बच्चाहरूलाई काखमा लिन नजान्दा उनीहरूसँगै रुन मन लाग्थ्यो ।’ 

न्वारन सकिएको दुई दिनपछि उनी माइत गइन् । माइतमा सुख हैन, झनै दुःख भयो । बाआमा खेतीपाती र गाईबस्तुमा व्यस्त । त्यतिबेला उनलाई श्रीमान्‌को साथ पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, श्रीमान् बच्चाको स्याहार गर्ने गरी होइन, मुख हेर्नेगरी आउँथे । ‘घरपरिवार र समाजको डरले एक दिनबाट दुई दिनबस्‍नमान्नु हुन्नथ्यो,’ उनले भनिन्, ‘छोरामान्छे ससुराली बस्दा मान्छेले कुरा काट्छन् भन्दै हतार–हतार फर्किनुन्थ्यो । फोनमा मलाई एक्लै स्याहार गर्न गाह्रो भयो भन्दा ‘अलिअलि गाह्रो त भइहाल्छ नि’ भन्‍ने जवाफ आउँथ्यो ।’ सुत्केरीमा उनलाई बच्चाको ख्याल राख्दाराख्दै आफ्नो ख्याल राख्‍ने फुर्सद कहिल्यै मिलेन । 

त्यही बीच सीमाकी सासूको मृत्यु भयो । त्यसबेला बच्चाहरूको स्याहारसुसारमा झनै कठिनाइ आयो । ‘खाटमा सुत्न हुन्न’ भनेर भुइँमा सुताइयो । दुई दिन चिसो भुइँमा सुतेपछि तेस्रो दिन उनले खाटमै सुत्ने निर्णय गरिन् । ‘चलिआएको परम्परा तोड्ने तँ को होस् भन्दै छिमेकी जुलुस लिएर आए,’ उनले भनिन्, ‘नुन खान भएन । घ्यु र भातले मात्रै दूध आएन । बच्चाहरू दूध नपुगेर रातभरि सुत्न दिँदैनथे ।’ 

सीमा अहिले फेरि माइत गएकी छिन् । केही दिन अघि ज्वरो आएपछि घरबाट उनलाई माइत जान सुझाइयो । ‘सुत्केरी हुँदा मलाई बिरामी हुने छुट पनि छैन,’ उनले भनिन्, ‘कहिलेकाहीँ म मान्छे होइन, मेसिन हो जस्तो लाग्छ । किनभने, मेरो श्रीमान्‌लाई निद्रा लाग्छ, गाह्रो हुन्छ । मलाई चाहिँ केही हुनु हुँदैन ।’ यी यावत् कारण सीमालाई धेरैपटक आत्महत्याको सोचसमेत आइसक्यो । आजभोलि उनलाई बच्चा रोएको सुन्दा टिपेर मिल्काउन मन लाग्छ । ‘उनीहरूको आवाज नै सुन्न नपरे हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘एक्लै बसेर रुन, चिच्याउन मन लाग्छ । आजभोलि मैले म को हुँ भन्‍ने नै बिर्सिसकेँ ।’ 

‘आफ्नो पालामा सकिनँ, बच्चाको पालामा परिवर्तन गर्छु’ 

भक्तपुर, नंखेलकी आस्था खत्रीलाई सुत्केरी हुँदा माइत जाने चलन पटक्कै मन पर्दैनथ्यो । आफू स्वस्थ हुँदा परिवारको स्याहारमा वर्षांै बिताएकी उनलाई सुत्केरीपछि स्याहार खोज्दै माइत जान मन थिएन । उनी घरमै श्रीमान्‌को साथमा बच्चा हुर्काउन चाहन्थिन् । तर, सुत्केरीपछि बाध्यताले उनी माइत जानुपर्‍यो । ‘सुत्केरी भेट्न आउने आफन्तको ‘माइत कहिले जाने ?’ भन्‍ने प्रश्नले मलाई जबर्जस्ती माइत पुर्‍यायो,’ उनले भनिन् । 

उनी पनि न्वारन लगत्तै माइत गइन् । तर, सुत्केरीबस्‍नजानुभन्दा पहिला उनलाई सुत्केरीसम्बन्धी चलनबारे जानकारी गराइयो । माइत जाँदा उनलाई बच्चासँगै सुत्केरी फर्किंदा लिएर आउनुपर्ने कोसेली र लत्ताकपडाको लिस्ट बोकेर पठाइयो । ‘घरबाट सुत्केरी भएर फर्किनु भनेको दुल्हन फर्किए जस्तै हो, परिवार र आफन्तलाई स–सानो भए पनि उपहार लिएर आउनु भन्नुभएको थियो,’ उनले सुनाइन्, ‘छोरालाई यसो सानो भए पनि गहना लगाएर ल्याउनू, अरुले देख्दा छ्या भन्‍ने नहोस् पनि भन्नुभएको थियो ।’ माइतीको आर्थिक अवस्था राम्रो थिएन । फर्किने बेला आफैँले बचत गरेकोे पैसाले समाजलाई देखाउन भए पनि छोरालाई कानमा मुन्द्रा र हातखुट्टामा कल्ली बनाइदिइन् । परिवार र आफन्तलाई कपडा किनिदिइन् । ‘सुत्केरीमा आफूलाई खान मन लागेको कुरा किन्छु भनेर जम्मा गरेको पैसा कोसेली किन्दै सकियो,’ उनले भनिन्, ‘आफूलाई मन नहुँदा नहुँदै धेरै कुरा गर्नुपर्‍यो । आफ्नो पालामा परिवर्तन गर्न सकिनँ । छोराको पालामा आफ्नै दुःख सम्झिएर भए पनि यो कुरा परिवर्तन गर्छु ।’ 

सुत्केरीमा जो माइत गइनन् 

सञ्चारिका समूहकी केन्द्रीय सदस्य वसन्ती बास्तोला भने सुत्केरी हुँदा माइत गइनन् । सुत्केरीपछि उनी पनि माइत जाने कुरा आएको थियो । तर, उनकी आमाले अस्पतालमा बिताएका अनिदो रातहरू सम्झेर माइत जान मानिनन् । छोराछोरी हुर्काएर फेरि ठूलो बनाइसकेपछि बुढेसकालमा नातिनी स्याहार्नुपर्ने कुरा उनलाई पटक्कै चित्त बुझेन । ‘हामी श्रीमान्श्रीमतीको रहरले बच्चा पाएपछि हुर्काउने जिम्मा पनि हाम्रै हो भन्‍ने लाग्यो,’ उनले भनिन्, ‘हाम्री छोरी हुर्काउन मेरोभन्दा बढी श्रीमान्‌को भूमिका छ । छोरीको डाइपर चेन्ज गर्नेदेखि दूध बनाएर खुवाउने सबै श्रीमान्‌ले गर्नुहुन्थ्यो । यसैले पनि होला, छोरी अहिले मसँग भन्दा श्रीमान्सँग बढी नजिक छिन् ।’ 

वसन्तीलाई लाग्यो, माइत गए पनि बच्चाको स्याहार बुवा र दाजुभाइले गर्ने होइनन् । आमा, दिदी–बहिनी, भाउजू–बुहारीले नै दुःख पाउने हुन् । उनको मनमा अर्को एउटा प्रश्न पनि जन्मियो– जहाँ गए पनि महिलाले गर्नु परेपछि पुरुषलाई यो तिम्रो पनि दायित्व हो भनेर कसरी बुझाउने ?  त्यस्तै, वसन्तीलाई माइत जाँदैमा सबै छोरीले स्याहार पाउँछन् नै भन्‍ने लाग्दैन । ‘छोरीलाई अंशको हकदार नमान्ने माइतीले सुत्केरीमा उसको स्याहार–सुसार गर्छ भन्‍ने म विश्वास गर्दिनँ,’ उनले भनिन् । 

‘सुत्केरी अवस्था सम्बन्ध मात्रै होइन, सम्पत्तिसँग पनि जोडिएको छ’ 

लेखक वन्दना ढकाल हालसालै दोस्रो सन्तानकी आमा भएकी छिन् । पहिलो सन्तान जस्तै दोस्रो सन्तानको पालामा पनि उनले श्रीमान्‌को साथ पाइन् । उनीहरू दुवै आफूले निभाउनुपर्ने भूमिकामा स्पष्ट छन् । ‘श्रीमतीले पाएको बच्चाको कारण बधाई खाँदैमा मात्र कोही पुरुष बुवा बन्दैन,’ वन्दनाले भनिन्, ‘श्रीमती सुत्केरी हुँदा उसले निभाएको भूमिकाले उसलाई बुवा बनाउँछ । त्यो बेलामा जसले असल श्रीमान्‌को भूमिका निभाउँछ, उही असल बुवा बन्छ ।’ 

आफूले निरन्तरता दिनुपर्छ भनेर धेरै पुरुषहरू सुत्केरी स्याहारमा प्रवेश गर्न नचाहने उनको तर्क छ । ‘एकपटक खुवाउन, थाङ्ना बेर्न, दिसा सफा गर्न जान्दिनँ भनेपछि सधैँ उम्किने/पन्छिने बाटो हुन्छ,’ उनले भनिन्, ‘महिलामा मात्र मातृत्व पलाएर आउनुपर्छ भनेर सिकाइएको छ । पुरुषलाई चाहिँ यसमा छुट दिएको छ ।’ कतिपय ठाउँमा सुत्केरीलाई ११ दिनसम्म कुनामा राख्‍ने चलन छ । यस्तो बेला श्रीमान्‌ले मात्रै नभएर परिवारका सदस्य कसैले पनि सुत्केरीलाई छुँदैनन् । ‘सुत्केरी हुँदा श्रीमतीलाई सघाए परिवारको अगाडि इज्जत जान्छ भन्‍ने डरले पनि ऊ श्रीमतीको अगाडि पर्दैन,’ वन्दनाले भनिन् ।  

वन्दनाकी आमालाई सानैदेखि ‘सुत्केरी भाग’ भनेर कोसेली आउँथ्यो । ‘आमाले न सुत्केरी स्याहारेको न केही गरेको, किन कोसेली ल्याएको होला ?’ उनी सोच्थिन् । उनको यो प्रश्नको उत्तर उनलाई समयले दिएको छ । अहिले उनले बुझेकी छन्, पितृसत्तात्मक समाजले श्रीमतीको परिवारलाई निचो देखाउनकै लागि यस्तो थिति बसाएको रहेछ । ‘म मालिक हुँ, तिमी सेवक हौ’ भनेर श्रीमतीको परिवारलाई हैसियत देखाएको रहेछ । ‘माइत जाँदैमा त्यो महिलालाई सुख हुन्छ भन्‍ने छैन,’ वन्दनाले भनिन्, ‘माइतबाट फर्किंदा बच्चाको ख्याल राख्‍न नसकेको भन्दै घरबाट उल्टै गाली पाउँछन् । कारणवश माइतमै बच्चाको मृत्यु भए माइतीपक्षले जीवनभरि नै अपजस खेप्नुपर्छ ।’ 

सुत्केरीमा माइत जाने चलनलाई अंशसँग जोडेर पनि धेरैले विश्लेषण गर्छन् । ‘दाजुभाइले अंश पाउँदा आफूले सुत्केरीमा किन स्याहान नपाउने भन्‍ने धेरैको प्रश्न हुन सक्छ,’ उनले भनिन् । छोरासरह सम्पत्तिमा छोरीको अधिकार हुन्थ्यो भने यो समस्या नै ननिम्तिने उनको बुझाइ छ । ‘सम्पत्तिमा आफ्नो अधिकार हुँदा के खाने, आफ्नो स्याहार कसरी गर्ने आफैँ बन्दोबस्त गर्न सकिन्थ्यो । यसकारण सुत्केरी अवस्था सम्पत्तिसँग पनि जोडिएको छ,’ उनले भनिन् । 

‘महिलामाथिको विभेद’ 

जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले पहिला सुत्केरी हुँदा घरमा आराम नपाइने, पोषिलो खानेकुरा खान नपाइने हुनाले सुत्केरीबस्‍नमाइत जाने चलन भएको बताइन् । ‘तर, यसले परम्पराका रुपमा निरन्तरता पायो, जुन गलत हो,’ उनले भनिन्, ‘सुत्केरी महिला सासूसँग भन्दा आमासँग खुल्न सक्ने भएकाले जान चाहन्थे ।’ सुत्केरी हुँदा माइत पठाउने चलनलाई डा. उप्रेती महिलामाथिको अपमान ठान्छिन् । ‘माइत गएर आराम गर भनेर माया गरेजस्तो गरिन्छ तर, त्यो मायाभित्र ठूलो राजनीति लुकेको छ,’ उनले भनिन्, ‘यो महिलामाथिको विभेद हो ।’ 

सुत्केरीसँग जोडेर दिइने लत्ताकपडा र कोसेलीलाई उनी दाइजोको अर्को रूप मान्छिन् । ‘छोरी अपमानित हुन नपरोस् भनेर माइतीले सकि–नसकी कोसेली पठाउँछन्,’ उनले भनिन्, ‘माया स्नेहले कोसेली आदानप्रदान गर्नुमा आपत्ति छैन । अपमान खेप्नुपर्ला भनेर नसक्नले पनि विवशताको भार बोक्नु गलत हो ।’  

श्रीमान्‌ले नै सुत्केरी श्रीमतीको ख्याल राख्‍न सक्ने भएपनि नआउने भनेर पन्छिने गरेको डा. उप्रेतीले बताइन् । उनले भनिन्, ‘उनीहरूलाई नआउने, नसक्ने होइन । पैसा पाउने भएपछि तिनै पुरुष केयर टेकरको काम गर्न विदेश जान्छन् । आफ्नो परिवारमा भने त्यही काम गर्न तयार हुँदैनन् ।’ यसरी पुरुषले आफ्नो बच्चाप्रति जिम्मेवारी बोध गर्न कहिल्यै नसिक्ने उनले बताइन् । 

एकल परिवारमा बस्‍नेकेही बुवाले बाध्यताले आमा र बच्चाको स्याहार गरे पनि धेरै परिवारमा यो परिवर्तन हुन बाँकी रहेको उनले बताइन् । ‘आफ्नो काखमा खेलेको बच्चाले दिसा–पिसाब गर्‍यो भने सफा गरिदिन आमालाई कुरेर बस्‍नेपरिपाटी छ,’ उनले भनिन्, ‘ठूलो भएर खेल्न थालेपछि मात्र नजिकिन खोज्ने बुवाहरू समाजमा थुप्रै छन् ।’ अझै पनि पितृसत्ताले जकडिएको नेपाली समाजमा महिलाहरू यस्तै–यस्तै रितीथितीका कारण दबाइनु दुःखद भएको उनले बताइन् ।

‘नवजात शिशु र आमाको केयर टेकर उसको बुवा हुनुपर्छ’ 

                - प्रणिका कोयू   

सुत्केरी हुँदा माइत पठाउने/जाने चलन पितृसत्ताले महिलामाथि गर्ने शोषणको उदाहरण हो । जहाँ महिलालाई केवल वस्तुका रूपमा हेरिन्छ । वस्तुको भोगचलन तबसम्म हुन्छ जबसम्म उसलाई फाइदा हुन्छ । नवजात शिशुको स्याहार गर्नु कुनै पुरुषका लागि रमाइलो काम होइन । त्यो भार उसले बेहोर्न चाहँदैन । वस्तुको स्याहार गर्ने इच्छा कसैको हुँदैन । सुत्केरीबस्‍नमाइत पठाउनु भनेको वस्तुको ‘मेन्टिनेन्स कस्ट’ तिर्न नखोज्नु हो ।

हाम्रो समाजको मुल्यमान्यताले पुरुषको परिवारलाई बढी शक्ति दिएको छ । उसलाई महिलाको परिवालाई हेप्न, निचो बनाउन, शोषण गर्न छुट छ । जसरी गाईले दूध दिन छाडेपछि खेद्ने, लखेट्ने गरिन्छ । सुत्केरी हुँदा माइत पठाउनु पनि त्यस्तै हो । महिलाको परिवारलाई सम्बन्धको हवाला दिँदै शोषण गरेको हो । आफू जिम्मेवारीबाट पन्छिएको हो ।

छोरीको परिवार भएकै कारणले उनीहरूमाथि भौतिक, शारीरिक, मानसिक र आर्थिक शोषण गरेको हो । सुत्केरी भएर माइत जाँदैमा महिलाले माया पाउँछन् भन्‍ने छैन । माइतीमा आर्थिक स्रोतमा निर्णय गर्ने व्यक्तिसँग सुत्केरी महिलाको सम्बन्ध अनुसार उसलाई व्यवहार हुन्छ । त्यो बेला तेल लगाउनेदेखि पोषिलो खानेकरा र मानसिक रूपमा आडभरोसासम्मको कुरा आउँछ । तर, सबैभन्दा जोखिम र संवेदनशील भएर स्याहार गर्नुपर्ने बेला सरक्क माइती पठाइन्छ । 

बुहारीलाई आफ्नो सम्पत्ति ठानेर भित्र्याइन्छ तर, उसका लागि सम्पत्ति खर्च गरिँदैन । घरमा कुनै सामान ल्याउँदा पुछपाछ गरिन्छ, बिग्रिँदा बनाउन लगिन्छ । तर, सुत्केरी हुँदा पुरुषको परिवारले उनीप्रति त्यो सामान जति पनि दायित्वबोध गर्दैन । हाम्रो पितृसत्तात्मक समाज महिलाले बच्चा जन्माइदियोस् भन्‍ने मात्र चाहन्छ । तर, जन्मेको बच्चा र उसकी आमालाई स्वस्थ बनाउन गर्नुपर्ने दायित्वमा हिसाब गर्छ । सुत्केरीलाई आमाले जस्तो माया कसैले गर्दैन भन्दै सुत्केरीलाई माइत पठाउँछ । सासूलाई भन्‍ननसकेको कुरा आमालाई भन्‍नसकिन्छ भनिन्छ । तर, आमालाई सजिलै भन्‍नसकेको कुरा सासूलाई किन भन्‍नसकिएन, त्यतातिर ध्यान दिइँदैन । 

सुत्केरीमा महिलालाई माइत पठाउनु भनेको उसलाई आफ्नो हैसियत देखाउनु पनि हो । तिम्रो सामाजिक सम्बन्धहरूमाथि हाम्रो (घर–माइती) अधिकार हुन्छ भन्नु हो । अरु बेला त अधिकार जमाउँछन् नै, सुत्केरी हुँदा पनि महिला कहाँ बस्‍नेकति बस्‍नेउनीहरूले नै तय गर्छन् । नत्र अरु बेलामा माइत जानुपर्दा मन मैलो गर्ने परिवारले किन आफ्नो नवजात सन्तानलाई ‘पराइ’ भनिएको घरमा हेरचाहको लागि पठाउँछ । तीजमा माइत जान पाइएन भनेर रोएका मात्र गीत आउँछन् । त्यो बेलामा किन पठाइएन त माइत ? किनभने, स्वस्थ भएको बेला उसले घरमा काम गर्नुपर्छ । 

हाम्रोमा पुरुष ससुराली गइराख्दा लाज हुन्छ । महिला सुत्केरी बस्दा यही कारणले पुरुष ससुराली जाँदैनन् । पुरुष ससुराली जान नहुने भनिएको चलनले श्रीमान् श्रीमतीको सम्बन्धलाई नियन्त्रण गरेको देखाउँछ । जहाँ परिवारले छोरामाथि बुहारी हाबी हुने रूपले हेर्ने गर्दछ र उनीहरूको न्यानोपनालाई कस्न खोज्छ । त्यसैले छोरालाई आफ्नो नियन्त्रणमा राख्‍न उसलाई समाजको लाज देखाउँदै सुत्केरी श्रीमतीसँग ससुरालीमा बसेर आफ्नो बच्चा हेर्ने जिम्माबाट वञ्चित गराइन्छ ।

तर, बच्चाको प्राइमरी केयर टेकर सुत्केरी महिला होइन, उसको बुवा हो । सुत्केरी बेला श्रीमतीलाई सक्दो सहयोग उसैले गर्नुपर्छ । सपोर्ट सिस्टम (बाआमा, सासूससुरा) को सहयोग कति बेला लिने त्यसमा विचार पुर्‍याउनुपर्छ । बच्चा गर्भमा आएदेखि उसको जिम्मेवारी बुवाआमा दुवैको प्राथमिकतामा पर्नुपर्छ ।

वर्तमान समाजमा बदलिँदो परिवेशमा आत्मनिर्भर महिलालाई जता बस्दा पनि समस्या हुँदैन किनकि उसले आफ्नो सन्तानको र आफ्नो हेरचाहको व्यवस्थापन गर्न सक्छिन् । तर, आर्थिक आत्मनिर्भरताले मात्रै पनि हुँदैन । यस्ता मायाको लेप लगाइएको सामाजिक संस्कारलाई कुसंस्कार र शोषणरहित बनाउनका लागि प्रयास गर्ने बनाउनका लागि प्रयास गर्ने चेत पनि हुनुपर्छ । महिला आफू गर्भवती भएदेखि नै आफ्नो सन्तानको दैनिक हेरचाहमा समेत शिशुको बुवाको जिम्मेवारी बराबर हो र त्यो जिम्मेवारी वहन गराउनुपर्छ ।  

सुत्केरी अवस्थासँग जोडिएको पितृसत्ताको राजनीति 

                                                                                  - डा. मीना उप्रेती 

सुत्केरी हुँदा माइत जाने चलनलाई हामीले सन्तान सुखसँग जोडिएको व्यक्तिगत, पारिवारिक र संरचनागत मनोदशासँग जोडेर हेर्नुपर्छ । यसरी हेर्दा त्यसको वास्तविक चित्र आउँछ । सुत्केरी अवस्था भनेको असह्य शारीरिक पीडा र मानसिक विचलनको अवस्था हो । यो बेला धेरैलाई माइतीको याद आउँछ । माइती जादा मनोवैज्ञानिक रूपले उनीहरू बलियो हुन्छन् ।

आमासँग खुलेर दुःख, सुख साट्न सक्छन् । मन लागेको कुरा ढुक्कले भन्‍नपाउँछन् । माइतीमा मजाले आराम पाइन्छ, बच्चाको राम्रो स्याहार हुन्छ भन्‍ने विश्वास हुन्छ । यो जन्म घरसँग जोडिएको माया र भरोसा हो । भविष्यसँगको चिन्ता हो । आफू जागिरमा जाँदा पनि धेरैको माइतीपक्षले नै बच्चा हेर्न सहयोग गरेको देखिन्छ । तर, यसलाई यतिमा मात्र सीमित राखेर हेर्नुहुँदैन । यो काम र सेवासँग पनि जोडिएको छ । पितृसत्तात्मक परिवारमा बुहारी र छोरीको हैसियत फरक हुन्छ । उनीहरूलाई हेर्ने तरिका नै फरक हुन्छ । बुहारीलाई कामदारका रूपमा लिइन्छ ।

सुत्केरी हुँदा माइत जाने कुरालाई बाध्यता र सुविधा दुई कुरासँग जोड्नुपर्छ । एकल परिवार हुँदा कहिलेकाहीँ त्यो बाध्यता पनि हुन सक्छ । तर, कतिपयले सुविधाका लागि पठाउँछन् । दुईजनामा एकले नकमाउँदा रोजीरोटी गुम्छ भने त्यहाँ बाध्यता हुन सक्छ । तर, बच्चा रोएर सुत्न पाइएन भन्दै माइत पठाउनु भनेको सुविधाका लागि पठाउनु हो । जहाँ न कुनै माया हुन्छ न कुनै कर्तव्य बोध । त्यहाँ केवल श्रीमान्, सासूससुराले सुत्केरीको स्याहार गर्नुहुँदैन भन्‍ने मान्यता मात्रै हुन्छ । उसले मात्र हाम्रो स्याहार गर्नुपर्छ भन्‍ने गलत चेतना हुन्छ । परिवारमा अरु सदस्य बिरामी हुँदा हेरविचार गर्ने मुख्य जिम्मेवारी बुहारीको हुन्छ ।

जागिरै छाडेर स्याहारसुसारमा खट्नुपर्छ । तर, उसलाई अप्ठ्यारो पर्दा उसको पनि केयर गर्नुपर्छ भन्‍ने चेतना छैन । श्रीमतीलाई माइत पठाएर फोनमा बच्चा कत्रो भयो भन्दैमा जिम्मेवारी पूरा हूँदैन । सुत्केरी एउटा अवस्था हो । तर, योसँग जोडिएका हाम्रा मूल्य, मान्यता, पारिवारिक अवस्थालाई केलाउँदा थुप्रै कुरा निस्किन्छ ।
हाम्रो समाजमा सन्तान प्राप्ती छोरासँग जोडिएको छ । छोरी पाउने आमाहरूले उसै पनि कम स्याहार पाउँछन् । सुत्केरीमा आमा र बच्चाको हेरचाह गर्ने पहिलो दायित्व श्रीमान् र परिवारको हो ।

तर, न्वारान गरेपछि माइतीमा जान नपाउनेले परिवारको मुख टाल्नकै लागि भए पनि दिदी, काकी जसकोमा भए पनि जाने चलन छ । सुत्केरी हुन अस्पताल जाँदा हाम्रोमा श्रीमान्‌ले न देख्न पाउँछन् न कुरुवाबस्‍नपाउँछन् । उसलाई बाहिर निकाल्ने चलन छ । तर, विदेशीहरूले श्रीमान्‌लाई पनि भित्रै राखेर देखाउँछन् ताकि बच्चा जन्माउँदाको पीडा देखून्, अनुभव गरुन् । ‘हाम्रो पाला’मा यस्तो थियो, उस्तो थियो भनेर सुत्केरीलाई ढाडस दिनुभन्दा पनि कमजोर बनाइन्छ । 

नेपालमा जनसंख्या घटेको कुरा आएको छ । सुत्केरी अवस्थामा स्याहार नपाएर यो अवस्था आएको हो । परिवारले मात्र होइन, राज्यले समेत उनीहरूको स्याहारमा ध्यान दिनुपर्छ । सुत्केरी बिदा दिनुपर्छ । आमा बन्‍ने अधिकारमा सारथि बन्नुपर्छ । कोही आमा बनेकै कारणले जागिर गुमाउने अवस्था आउनु हुँदैन । नत्र यो राष्ट्रलाई बच्चा किन जन्माइदिने भन्‍ने आमाहरू बिस्तारै जन्मिन्छन् । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x