समाज

लमजुङमा जबरजस्ती करणीका घटना बढ्दो, सात महिनामा १५ घटना

इकागज |
माघ २५, २०७८ मंगलबार १९:५९ बजे

लमजुङ – पछिल्लो वर्षमा लमजुङमा जबरजस्ती करणीको घट्ना बढ्दै गएको पाइएको छ। पछिल्लो ६ वर्षमा अन्य अपराधिक घटनाको तुलनामा जबरजस्ती करणीका घटना बढेको लमजुङ प्रहरीको तथ्यांकमा पाइएको हो। चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै लमजुङमा १५ वटा जबरजस्ती करणीका घटना भएको जिल्ला प्रहरी कार्यालयमा दर्ता मुद्दाको तथ्यांकले देखाएको हो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचनाअधिकारी जगदिश रेग्मीका अनुसार चालु आर्थिक वर्षको श्रावण यतामात्रै १४ वटा मुद्दा जबरजस्ती करणीका रहेका छन् भने एउटा मुद्दा बाल यौन दुर्व्यवहार सम्बन्धी रहेका छन् । उनका अनुसार गत आर्थिक वर्षको अवधीमा मात्रै जिल्लामा १९ वटा जबरजस्ती करणीका घटना भएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा मात्रै १० वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन्, भने नौओटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।


अघिल्लो आर्थिक वर्ष ०७५/७६ को एकवर्षको अवधीमा जिल्लामा १६ वटा जवरजस्ती करणीका घटना भएको थियो । जिल्लामा सो आर्थिक वर्षमा मात्रै आठवटा जबरजस्ती करणीका घटना र आठ ओटा जवरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएको रेग्मीले बताए । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलत्कारका घटना हुने गरेको पाइएको छ ।

प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष ०७३/७४ मा पनि जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँच वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । यस्तै आर्थिक वर्ष ०७२/७३ मा जबरजस्ती करणीमा सात र उद्योग अन्तर्गत चार मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष ०७१/७२ मा जबरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढ्दो पाइएको छ ।

१६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै करणी भएपनि जबरजस्ती अन्तर्गत पर्ने कानुनमा उल्लेख छ । कतिपय घटनाहरु आपसी लेनदेन मिलेपछि स्थानीय स्तरमै लुकाउने वा मिल्ने गरेका पनि छन् । आर्थिक प्रलोभनमा बलात्कारको घटना प्रहरी समक्ष उजुरी नगर्नेहरुको सख्यापनि समाजमा थुप्रै भेटिने गरेको छ । लमजुङ जिल्ला कारागारको तथ्यांकअनुसार जिल्लामा मुद्दाको प्रकृति हेर्दा अहिले सवैभन्दा बढी कैदीबन्दीहरु जबरजस्ती करणीका रहेको पाइएको छ ।


Author

थप समाचार
x