समाज

कमलपोखरीमा ९ वटा चैत्य प्रतिस्थापना, १५ दिनमा उद्घाटन हुने

इकागज |
माघ २६, २०७८ बुधबार १२:३६ बजे

काठमाडौँ - कमलोपखरीमा काठमाडौँ महानगरपालिकाले ९ वटा चैत्य प्रतिस्थापन गरेको छ । बुधबार बिहान महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चैत्यको प्रतिस्थापन गरेका हुन् ।

कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको राखिएको शाक्यले बताए । 'प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रूपमा विकास गरेको छ,’ उनले भने, ‘ ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौ ।’


बिहान र साँझपख स्वच्छ हावा र हरियालीमा घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरी विकास हुने उनले बताए । पुननिर्माणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको उनले दाबी गरे ।

'कोभिडको कारण देखाएर ढिला–सुस्ती गर्दा काम समयमा सम्पन्न गर्न केही कठिनाइ भयो,’ उनले भने, ‘निर्माण कार्यको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप पोखरीको किनारमा ९ वटा चैत्यको प्राणप्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो ।' पहिलो चरणको काम ठेकेदारले १५ दिनभित्र सम्पन्न गरिसक्‍ने उनले जानकारी दिए ।

महानगरले पहिलो चरणको काम सम्पन्न हुने वित्तिकै कमलपोखरीको उद्घाटन गर्नेछ । दोस्रो चरणको काम सँगसँगै सुरुवात हुनेछ । उनले चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरि वृक्षारोपन गर्ने तयारी भएको पनि जनकारी दिए ।

काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने बताए ।  

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि पनि बस्नेतले जानकारी दिए । उनले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरेको बताए । ‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ बस्नेतले भने, ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन् ।’


Author

थप समाचार
x