समाज

बैजनाथपुरका सबैले लगाए कोभिडविरुद्ध खोप

इकागज |
माघ २६, २०७८ बुधबार १५:४ बजे

विराटनगर - विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण  उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

आर्थिक एवं सामाजिक रुपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसईईसम्म पढेका छैनन् । तर पनि अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन् ।  दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरुको पीडादायी प्रतिक्रिया छ । 


आर्थिक एवम् सामाजिक रुपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ । महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ । एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ ।

विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाइ खानेपानीका लागि ट्युबेलसमेत जडान गरेको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरुलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ ।

ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल रहेका छन् । एउटा बिग्रिदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो कृषिदेवले बताए । यो घर पनि हाम्रो लागि प्रयाप्त छैन् परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ । .

फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन् । एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश कृषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन् । दैनिक रु ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको उनको भनाइ छ ।

उनका पनि दुई बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन् । सरकार सेवा र सुविधा विरलै पुग्ने यो बस्तीका व्यक्तिले भने कोरोना भाइरसविरुद्धका खोप लगाएका छन् । रासस


Author

थप समाचार
x