जनयुद्धको एउटा कहानी
शरीरमा गोली, टाउकोमा छर्रा, दिमागमा माओवादी
‘राजनीतिले मानिसको चरित्र बदल्दो रहेछ’
काठमाडौँ- दुई दशक अघि कालीबहादुर माझीले 'परिवर्तन' सोचे । उनलाई कसरी र कहाँबाट परिवर्तन सुरु हुन्छ थाहा थिएन । कसको र के का लागि परिवर्तन गर्ने समेत थाहा थिएन ।
उनले राजनीति, आर्थिक र सांस्कृतिक परिवर्तन ल्याउने सोचे । सबैभन्दा पहिले आफ्नो समुदायमा भइरहेको व्यवस्थालाई बदल्ने अठोट लिए । परिवर्तन एक्कासी सम्भव हुँदैन । उनले आदिवासी समुदायको प्रतिनिधित्त्व गर्दै आन्दोलनमा सहभागी भए ।
मुलुक र समाजमा अशिक्षा र गरिबीले साम्राज्य जमाएको थियो । परिवर्तन सोच्नसाथ तुरुन्तै पनि हुँदैन । गन्तव्यमा पुग्न यात्रामा निस्कनुपर्छ । उनी परिवर्तन आफैँबाट सुरु गर्ने चाहन्थे र माओवादी जनयुद्धमा होमिए ।
सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका ११ मा माझी बस्तीमा हुर्केका कालीबहादुरले आफ्नो समुदायमाथि राज्यको असमान नजर परेको थाहा पाए । तत्कालीन जनयुद्धको समयमा उमेरले २३ औं वसन्तमा पुगेका थिए । तन्नेरी सोच र विचार जंगलमा बिताए । आफ्नो समुदाय राजनीति, शैक्षिक र आर्थिक रुपमा पछाडि परेकाले आन्दोलनमा सरिक हुनु परेको उनी उनले सुनाए ।
२०५२ फागुन १ गते माओवादीले मुलुकमा शसस्त्र जनयुद्ध थालनी गरेको थियो । कालीबहादुर आफ्नो समुदायको मुद्दा माओवादीले मात्र बोक्न सक्ने ठानी कलम समाउने हातले 'थ्री नट थ्री राइफल' समाउन पुगे । उनलाई परिवर्तन कलमले मात्र नल्याइ हतियारले पनि ल्याउने जस्तो लाग्थ्यो ।
जनयुद्धमा सामेल हुनुअघि उनी गाउँकै सामुदायिक विद्यालयमा शिक्षण पेशामा आवद्ध थिए । उनले कलम समाउनु भन्दा विचार र सिद्धान्त अँगालेर हतियार उठाउन उचित ठाने । उनले २०५७ सालदेखि कलमले भन्दा हतियारले मुलुक र समाज परिवर्तन हुन्छ ठानी विद्यालय छोडे ।
'विद्यालयमा शिक्षाको माध्यमबाट सय जनालाई परिवर्तन गर्न सक्थे होला तर, माओवादीमा लाग्दा समाज र देश बदल्नु सक्छु लाग्थ्यो,' विगत सम्झदै कालीबहादुर भन्छन्,' अहिले सम्झदा हतियार समाए । केही देखे र समाज बुझे । त्योभन्दा बढी अवसर पाइन् । पाउनुपर्ने भन्दा केही दिनुपर्ने भावनासहित आन्दोलमा सहभागी भएको थिए ।'
आन्दोलनताका उनले उपेक्षित वर्गलाई समेटेर लैजाने नारा सुन्थे ।अवसरबाट वञ्चित सबैलाई समान अवसर दिने । व्यवहारिक रुपमा समान अवसर भने अहिलेसम्म भोग्न नपाएको तीतो अनुभव उनीसँग छ ।
माओवादी आन्दोलनले विश्राम लिएसँगै मुद्दा पनि सेलायो । युद्धका बन्दुक बिसाए । उत्साह हराए । आन्दोलनकर्मी हराउँदै गए, केही खाडीमा श्रमिक बन्न गए, विकासका नाममा अर्काकाे देशमा पसिना बगाएर गगनचुम्बी भवन ठडयाउन पुगे । शान्तिप्रक्रिया मार्फत खुला राजनीतिमा अवतरण गरेसँगै विचारले पनि हार खायो । जित्छु भनेर बढेका पाइलाहरू हार मान्दै पछाडि फर्के ।
जनयुद्धको काठमाडौँमा आएपछि आन्दोलनको मोडले अनेक घुम्ती लियो । आन्दोलनका नेतृत्वहरू आत्मकेन्द्रित भएर र व्यक्तिवादी चरित्र हावी भएकाले आन्दोलले लिएको लक्ष्य पुरा गर्न नसकेको उनले बताए । नेताले आजीवन भोग्न नसक्ने कुराहरू केही समयमा प्राप्ती गरेका छन् ।
समय परिवर्तन भए पनि जनयुद्धले खास-खास मानिसको जीवन मात्र परिवर्तन गरेको उनले बताए । जुन उद्देश्यले आन्दोलन भयो त्यो उदेश्य अझै पनि पूरा नभएको कालीबहादुको बुझाइ छ ।
'जनयुद्धले दूरदराज र भौगोलिक विकटतामा रहेका मानिसको आंशिक जीवन परिवर्तन गराएको छ । राजनीतिको चेतना प्रवाह गरी केन्द्रको राजनीतिमा आइपुगेका छन्,' उनले भने,' सामान्य मानिसको पहुँच नभएको केन्द्रमा तल्लो तहको मानिस आइपुग्न सफल भएका छन् ।' संविधानसभा मार्फत संविधान बनाउन पिछडा वर्गका मानिसहरूको सहभागी भयो ।'
माओवादी शान्ति प्रक्रियामा आएको दुई दशक बढी भइसकेको छ । खुला राजनीतिमा आइसकेपछि कालीबहादुरको जीवनमा केही परिवर्तन हुन सकेको छैन । उनले सामाजिक र राजनीतिक जीवनका केही आयामहरू बुझ्न सकेका छन् ।
'द्वन्द्वलाई बुझ्ने र अध्ययन गर्ने अवसर पाए, समाजमा द्वन्द्व कसरी विकास हुन्छ ? मैले पाएको उपलब्धि यहीँ हो,' उनले भने,' धेरै मानिसका सामाजिक जीवन बदलिए, तर मेरोआर्थिक जीवन हिजोको जस्तै आज पनि त्यस्तै छ ।'
मुलुकले जनयुद्ध मात्र भोगेन । १७ हजार मानिसले जीवन गुमाए । धेरै मानिसले सोचाइ गुमाए । कालीबहादुरको जीवनले जनयुद्धको दुई दशक पार गर्दासम्म आफ्नो जीवनलाई लयमा फर्कउन सकेका छैनन् । सबैलाई रोजगारी दिने व्यवस्था मिलाउने अभियानमा लागेका उनी यतिखेर आफैँ बेरोजगारी छन् ।
जनयुद्ध सक्यो । नेताहरू विचलित भए । माओवादीका धेरै नेतृत्त्वले आन्दोलन छोडे । विभिन्न राजनितिक दलमा प्रवेश गरे । कतिपयले नयाँ पार्टी दर्ता गरे । तर, उनी भने कतै पनि लागेनन् । आन्दोलनमा लागेकोमा उनलाई पछुतो पनि छैन ।
'शिक्षक थिए । अहिले रहिन, समाजमा विभिन्न गतिविधिको बारेमा अध्ययन गर्न पाए, ' आन्दोलनमा होमिएको समयलाई स्मरण गर्दैन उनी भन्छन,' विद्यार्थी जस्तै भए । धेरै कुरा सिके । ज्ञान र औपचारिक शिक्षा लिन विद्यालय जानुपर्छ भन्ने मान्यता थियो । तर, समाज पनि शिक्षाको ठूलो खानी रहेछ ।' आन्दोलनमा लाग्दा कुनै पश्चाताप बोध नभएको उनले बताए । नेताहरू परिवर्तन भएको देख्दा भने उनलाई राजनीतिले समाज नभइ मानिसको चरित्र बदल्ने लाग्दोरहेछ ।
राजनीतिले धेरै परिवर्तन गर्यो । व्यवस्था बदल्यो तर, बेलाबेलामा समाजको अवस्था बदल्न नसकेकोमा उनी दिक्क मान्छन् । जसलाई भरोसा गरेको थिए, उनले भगवान जस्तै मानेका नेतालाई सम्झदा र बोलेअनुसार व्यवहार गर्न नसक्दा आन्दोलनको औचित्य सकिएको बताए ।
उनी परिवारमा दुई छोरी र छोरा आमासहित छ जना बस्छन् । निर्माण व्यवसाय कम्पनीमा कामदारहरू सप्लायर्सको काम गर्छन् । उनले सरकारले उद्योग कारखानालाई अझै पनि प्रोत्साहन गर्न नसकेकोमा गुनासो गरे । उद्योग सञ्चालन गर्नेलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्ने वातावरण बनाइदिनु पर्ने उनको धारणा छ ।
मुलुकबाट जनयुद्धका डोबहरू मेटिए । तर, कालीबहादुरको शरीरमा लागेका गोलीका छर्राका डोबहरू हट्न सकेका छैनन् । शरीरको तीन ठाउँमा गोली लागि घाइते भए । चार ठाउँमा भने गोलीका छर्राहरू लागेका छन् । उनी अहिले पनि खतरामुक्त छर्रा टाउकोमा बोक्न विवश छन् ।
टाउकोमा भएको छर्राले उनलाई दुखाइको महसुस गराउँदैन । गोली लागि घाइते भएको ठाउँमा मौसम परिवर्तन हुँदा असाध्यै दुख्ने गरेको उनले बताए । चिसो मौसममा असाध्यै पीडा हुने र गर्मीमा आराम मिल्ने उनले सुनाए ।' छर्रा बोकेर हिँड्दा दुख्दैन तर नेपालीको जीवन परिवर्तन नभएकोमा दुःख लाग्छ,'उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया