समाज

रेडियो दिवस

गाउँमा सूचना र समाचारको एउटै सञ्चारमाध्यम रेडियो

खबर आदानप्रदान गर्न चिठ्ठीको सहारा चाहिने गाउँको कथा

इकागज |
फागुन १, २०७८ आइतबार १७:३५ बजे

फुङ्लिङ : ठावा शेर्पालाई घरमा एक्लै बस्न  विरक्त लागेपछि रोडियो सुन्छन् । गाउँका सबै याक गोठमा गएपछि गाउँ रुङ्गने एक्लै भएकाले  रेडियो नै उनको साथी बनेको हो । जीर्णोद्वार गरिएको र  काठले छाएको  घर  निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको  छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो  रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । 

यो दृश्य हो ताप्लेजुङको जिल्लाकै उच्च  हिमाली तथा पूर्व नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७  को दुर्गमबस्ती  याङमाको हो । याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आए पनि  घरमा प्रायः ताल्चा लागेको देखिन्छ ।  यहाँका समूदायको प्राय याक गोठमै समय बित्छ । अहिले पनि गाउँमा खासै मान्छे भेट्न मुस्किल परे पनि  गाउँ रुङग्ने  ६६ वर्षका  उहाँलाई भने सहजै भेट्न सकिन्छ । 


त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग पनि न मोवाइल  छ नत टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन्  तर घरको छानोमा एन्टिनाको  तार राख्न सक्नेले मात्र  रेडियो नेपाल र केही एक दुईटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने शेर्पाले बताए । उनले भने, “गोठमा गएपछि सबैको घर बन्द छ । मेरा साथी भनेको रेडियो हो ।” उनले रेडियोबाटै देश विदेशमा के भइरहेको छ भन्ने खबर प्राप्त गर्ने गरेको जानकारी दिए । 

शेर्पाले भने, “अगाडि त कोशी एफएम पनि अलीअली टिप्थो तर हिजोआज त्यो पनि टिप्न छोड्यो ।” याङमा क्षेत्रमा एक दुईवटा रेडियोका फ्रिक्वेन्सी सुन्ने बाहेक अन्य सञ्चारमाध्यमका पहँुच पुग्न सकेको छैन् । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताए ।

सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दाले बताए । उनीहरुका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्दछ । त्यहाँ भने करिब एकवर्ष अघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो । 

बर्खा याममा भने याङ्मा–ओलाङ्चुङगोला आवतजावत गर्न सक्ने अवस्था नभएकोे याङ्मावासीले बताए । याङ्मा खोलामा हिउँदमा काठेपुल हालेर  आवतजावत  गरिन्छ भने बर्खामा पुल बगाउने भएकाले ओलाङ्चुङगोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताए । उनका अनुसार याङ्मा गाउँदेखि एक÷डेढघण्टा दूरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काई मोबाइलमा सम्पर्क भए पनि सहजरुपले कुरा गर्न पाईदैन ।

दुर्गम तथा दूरदराजको याङ्मामा थोरै परिवार र पातलो  बस्ती भएकाले सञ्चारको पहुँच पु¥याउन तत्काललाई कुनै योजना नभएको गाउँपालिकाले जनाएको छ । ओलाङ्चुङगोलावासीसमेत रहनुभएका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले याङ्मासम्म सञ्चारको पहुँच विस्तार गर्ने कुनै योजना नरहेको जानकारी दिए ।

केहीवर्ष अघिसम्म विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफको सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एस्टिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चारको पहुँच बाहिर पुगेको उनले बताए । प्रवक्ता शेर्पाका अनुसार याङ्मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने वा चिठीपत्र पठाउनुपर्ने अवस्था छ ।

कुनै पनि सञ्चारमाध्यमका नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयम् मानिसको उपस्थिति वा चिठीपत्रबाहेक अर्को विकल्प नभएको अर्का स्थानीयवासी टासीफिन्जो शेर्पाले शेर्पाले बताए । 

याङ्माका बासिन्दाको मुख्य व्यवसाय भनेको परपरागत याक पालन हो । प्रायः याक गोठमै समय बिताउने याङ्मावासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नु पर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको याक गोठाला कान्देग्याबु शेर्पाको भनाइ थियो  । 

यसरी स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार गर्ने गरिए पनि अहिलेको सूचना र प्रविधिको समयमा पूरै गाउँबस्ती सञ्चारबिहीन अवस्थामा रहनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल क्यान जिल्ला अध्यक्ष विष्णुकुमार लिम्बूले बताए ।  

तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पुर्‍याउनका लागि आवश्यक पहल गर्नुपर्ने उनको माग थियो  । हिमाली बस्ती याङ्मामा हाल १० परिवार बस्दै आएका छन् भने यहाँको जनसङ्ख्या करिब ४० जना रहेको बताइएको छ । रासस
 


Author

थप समाचार
x