समाज

उपत्यकाको फोहोर विसर्जनमा सरकारले तत्काल समाधान खोज्नुपर्छः मेयर शाक्य

इकागज |
फागुन २, २०७८ सोमबार १६:२४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनको समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।


फोहोर विसर्जनमा अवरोध भएपछि महानगरपालिकामा मात्रै नभइ उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्घन्ध फैलिएर थप समस्या हुनसक्छ,’ प्रमुख शाक्यले भने, ‘संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु ।’

२०७० सालदेखि सुरु भएको बाटो बन्न नसक्दा पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको उनले स्मरण गराए ।‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबै भन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्वन्धित निकायले पहल गरोस् ।'

बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक अवरोध हुँदा महानगरपालिकाले गाली खानु परिरहेको शाक्यले गुनासो गरे । महामारी नहटेको समयमा सडकमा फोहोर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ,’ उनले भने , ‘त्यसैले फोहोरको राजनीति कसैले नगरौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।’

शाक्यले बञ्चरे डाँडाको निर्माण कार्य पूरा नहुँदा थप समस्या भइरहेको बताए । ‘सरकारले समयमा निर्माण सम्पन्न नगर्दा फोहोर विसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार–साउनबाट फोहोर विसर्जनमा थप समस्या सिर्जना हुने उनको दाबी छ ।


Author

थप समाचार
x