समाज

मापदण्डविपरीत अग्ला घरले जानकी मन्दिरको ऐतिहासिक सौन्दर्य छोपिँदै

सुभाष कर्ण |
फागुन ३, २०७८ मंगलबार १२:२६ बजे

जनकपुरधाम – विश्व सम्पदा सूचीकृत हिन्दूहरूको आस्थाको केन्द्र मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिर वरिपरि मापदण्डविपरीत संरचना बनिरहेका छन् । मन्दिर नै नदेखिने गरी मापदण्डविपरीत निर्माण भएका ठूल्ठूला घरहरूले ऐतिहासिक मन्दिरको शोभा र सौन्दर्यताकै विरूप बनाएको छ ।

गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ यसरी मापदण्डविपरित अनाधिकृत रूपमा जानकी मन्दिर वरिपरि निर्मित ठूला घरहरूले मन्दिरको सौन्दर्यता र तीर्थालुलाई नकारात्मक असर परेको ठान्छन् । उनले इकागजसँग भने, ‘विगतमा तत्कालीन जनकपुर नगरपालिकाले मन्दिर वरिपरि ३१ फिटभन्दा बढी उचाईका घर निर्माण गर्न नसक्ने मापदण्ड बनाएको थियो । तर नगरपालिकाकै कर्मचारीहरूको मिलोमतोमा आर्थिक चलखेल गरी ५० फिटसम्मका घर निर्माणको नक्सा पास गरी घर तथा भवनहरू बनाइएको छ ।’


त्यस्तै, युवा अभियन्ता सरोज मिश्रले जनकपुरधाम उपमहानगरपालिकाले निर्धारण गरेको मापदण्डविपरीत जानकी मन्दिर वरिपरि अग्ला भवन निर्माण हुँदा मन्दिरको सौन्दर्यता समाप्त हुने जोखिम बढेको बताए । उपमहानगरपालिका प्रशासन तथा मन्दिर संचालन समितिले चासो लिनुपर्नेमा उल्टै आर्थिक चलखेलको आधारमा मापदण्ड विपरित नक्सा पास गरेर अग्ला भवन तथा घरहरू निर्माण गर्न स्वीकृति दिँदै आएको आरोप उनले लगाए ।

त्यस्तै, जानकी मन्दिर दर्शन गर्न भारत बिहार मोतिहारी जिल्लाबाट आएका पर्यटक सुरज गोहिवार भन्छन्, ‘मन्दिर निकै नै मनमोहक लाग्यो, तर मन्दिर वरिपरि निर्माण भएका ठूलठूला भवनहरूले गर्दा यसको सौन्दर्यतामा ग्रहण लागेको जस्तो आभाष भएको छ । मन्दिरको सौन्दर्यता कायम राख्नुपर्छ ।’

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मन्दिरको संरक्षण र सौन्दर्यता कायम राख्न यहाँका उपमहानगरपालिका र प्रदेश सरकारको प्रमुख जिम्मेवारी भएको बताउँछन् । उनी भन्छन्, ‘उपमहानगरपालिकाबाटै ठूलठूला भवन निर्माणको स्वीकृति दिइएको छ, यदि दिएको छैन तुरुन्त कारवाही प्रक्रिया अघि बढाउनु पर्छ तर मौन देखिएको छ ।’

उनी आफूहरूको जिम्मेवारी मन्दिर र भगवानको पूजापाठ व्यवस्थापन भएको उल्लेख गर्छन् । उनी भन्छन्, ‘मन्दिर वरिपरि सरसफाई र अनाधिकृत रुपमा निर्माण भइरहेको भवनलाई रोक्ने काम वा निर्मित भवनलाई मापदण्डभित्र ल्याउने काम उपमहानगरपालिकाको हो, तर त्यसका पदाधिकारी तथा कर्मचारीहरूले के/कति कारण चासो नदेखाएको थाहा भएन ।’

विश्व सम्पदा सूचीमा सूचीकृतको पर्खाइमा रहेका जानकी मन्दिरको दक्षिणतिर गायत्री कुञ्ज, उत्तरतिर सुखसागर लज र पूर्वतिर हंसराज मिठाई पसल, मन्दिर भन्दा बढी उचाईमा तीन ठूला होटेल संचालन छन् । मन्दिर छोप्ने गरी ठूलठूला भवन तथा प्रचार–प्रसारका बोर्डहरू लगाइएको छ । २०७० मा तत्कालीन जनकपुर नगरपालिकाले जानकी मन्दिरको वरिपरीको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाईसम्मको मात्र नक्सा पास गर्ने भनी मापदण्ड ल्याएको थियो । तर पालना भएको चाहिँ देखिँदैन ।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले डेढ दशक अघिसम्म मन्दिर वरिपरि मुस्किलले दुईतल्ले भवन तथा घरहरू थियो । तर अब उपमहानगरपालिकाका कर्मचारीहरूलाई प्रभावित गरी चार÷पाँच तल्लेसम्मको घर निर्माण भइसकेको छ । 

उक्त मापदण्ड अनुसार जानकी मन्दिरको वरिपरी १२ विघा रंगभूमि मैदानदेखि दक्षिणतर्फ दशरथ मन्दिर, रामजानकी पेठिया बजार, महाविर चौक, भैरव चौक, राम चौक, जनक चौक, शिव चौक, गंगासागर मार्ग, धनुषा पथ, दूरसंचारको उत्तरतर्फको बाटो हुँदै अस्पतालको पश्चिम उत्तर कुना तर्फबाट दक्षिण नयाँ निर्माण भएको सडक हुँदै अस्पताल सडकसम्मको क्षेत्रभित्र ३१ फिट उचाईसम्म मात्र भवनको नक्सा पास गरिने तथा नक्सा पासको प्रक्रियामा रहेका नक्साहरूलाई समेत ३१ फिट उचाईसम्मको इजाजत दिइने कानून छ ।

उपमहानगरपालिका कार्यालयले जानकी मन्दिर वरपरको निर्धारण गरेको ४ किल्ला अन्तरगत अस्पताल रोड, दशरथ तलाउ, पेठिया, महाबीर चौक, भैरब चौक, शिव चौक, जानकी चौक सबै तर्फ हेर्ने हो भने करिब २ सय भन्दा वढी घरहरू ३१ फिट भन्दा वढी उचाईमा घर तथा भवनहरू निर्माण भएको तथ्यांक उपमहानगरपालिकाको रहेको छ ।

मन्दिर वरिपरि ३१ फिटभन्दा माथिको घर तथा भवन निर्माण गर्न सक्ने मापदण्ड विपरित निर्माण भएकोबारे उपमहानगरपालिकाकी उपपमेयर रीता मिश्रले आफूहरू निर्वाचित भएर आएदेखि नयाँ कुनै त्यस्ता संरचना निर्माण नभएको दाबी गरिन् ।

उनले भनिन्, ‘आफूहरूको निर्वाचित हुनुभन्दा अगावै नै तत्कालीन नगरपालिकाबाट केही नक्सा पासले र केही अनाधिकृत रूपमा मन्दिर वरिपरि ३१ फिटभन्दा माथिको भवन तथा घरहरू निर्माण भएको हो । विगतमा नगरपालिकाले बनाएको कानून बमोजिम छिट्टै मन्दिर वरिपरिका संरचनाहरू हटाइनेछ ।’


 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x