समाज

ललितपुरको साइकल लेन पनि व्यापारीको कब्जामा

दुई वर्षमा पनि बनेन ऐन

अतिन आचार्य |
फागुन ६, २०७८ शुक्रबार ७:५० बजे

काठमाडौँ- काठमाडौँ उपत्यकालगायत देशका मुख्य-मुख्य सहरका सडकमा पछिल्लो समय साइकल चलाउनेहरूको संख्या बढ्दै गएको छ । सडकमा मात्र होइन विदाका समयमा साइकिलिङ् गर्न उपत्यका आसपासका डाँडापाखामा पुग्‍ने वयस्क तथा युवायुवतीहरूसमेत भेटिन थालेका छन् । केही समयअघि सुनिल तण्‍डुकार साइकल लिएर सगरमाथा बेसक्याम्पसम्म पनि पुगेका छन् ।  

स्वास्थ्य तन्दुरुस्त रख्‍न तथा शारीरिक अभ्यासको निम्ति साइकल एकदम उपयुक्त मानिन्छ । उपत्यकामा बढ्दो सवारीसाधनको चाप भएको ठाउँमा साइकलले धेरै महत्त्व राख्छ । सवारी जाम र साँघुरो सडकमा सहजै सञ्‍चालन हुन्छ ।


व्यवस्थित लेन नहुँदा साइकल यात्रीलाई यात्रा गर्दा जोखिम हुने गरेको पाइएको छ । विभिन्‍न स्थानमा केही चालकको मृत्यु पनि भएका छन् । व्यवस्थित 'साइकल लेन' नहुँदा सवारीसाधन गुडिरहेको सडकमा साइकल चलाउन बाध्य छन् ।

उपत्यकाकै ललितपुर महानगरपालिकाले साइकल लेन बनाएको दुई वर्ष भइसकेको छ । बनेको 'लेन' व्यापारीले कब्जा गरेका छन् । व्यापारीले लेनलाई साइकल मर्मत गर्ने स्थान बनाएका छन् । जहाँसुकै साना-साना सवारीसाधन पार्किङ गरिएको देखिन्छ ।

'लेन' भन्दा बाहिर सञ्चालन गर्दा दुर्घटना हुने जोखिम बढी हुन्छ । अधिकांश स्थानमा बनेका लेनमा साइकलको  चक्का होइन, मिस्त्रीका औजारहरू देख्‍न सकिन्छ । महानगरपालिकाले नयाँ संरचना निर्माण गर्दा दीर्घकालीन सोचाइ नराखी बनाउँदा व्यापारी तथा स्थानीयले प्रयोग गर्ने र अव्यवस्थित हुने गरेको छ । लेन जरुरी भए पनि सस्तो लोकप्रियताका लागि जनप्रतिनिधिले निर्माण गरेको देखिन्छ । जसका कारण व्यापारी लेनको जग्गा प्रयोग गर्न बाध्य छन् ।

पर्याप्त स्थानको व्यवस्थापन गरिनुपर्थ्यो तर, साँघुरो ठाउँमा लेन बनाउँदा व्यापारीहरूले प्रयोग गर्दै स्थान हराएको छ । फुटपाथ सानो भएका ठाउँमा लेन निर्माण भएकाले व्यापारी तथा स्थानीयले प्रयोग गरिरहेका छन् ।

पहिलो चरणमा निर्माण भएको कुपण्डोल-पुल्चोक साइकल लेनलाई महानगरपालिकका प्रमुख चिरिबाबु महर्जनले २०७६ मंसिर १४ मा उद्घाटन गरे । उद्घाटनको एक वर्षपछि महानगरभित्रका सडकको दायाँबायाँ भागमा लेन बनाउने काम सम्पन्‍न भयो । उनले उद्घाटन त गरे तर, आफ्नो कार्यकाल समाप्‍त हुन लाग्दासम्म ऐनको टुंगो लगाउन सकेका छैनन् । 

महानगरपालिकामा ५४ किलोमिटर र १.२ मिटर चौडाइको लेन बनेको छ । विभिन्‍न समयमा महानगरले बनाएको लेनमध्ये पहिलो चरणमा २२ र दोस्रोमा ३२ किलोमिटर लेन बनेको थियो । महानगरले कुल ५७ लाख  रुपैयाँमा निर्माण सम्पन्‍न गरेको थियो ।

महानगर साइकलमैत्री बनाएसँगै मेयरको चौतर्फी प्रशंसासमेत भएको थियो । सडक किनारा छेउमा हरियो कलर लगाएर लगनखेल, जाउलाखेल, झम्सीखेल, महालक्ष्मीस्थान, पाटन कृष्णमन्दिर र कुपण्डोलसम्मको विभिन्‍न सडक किनारामा साइकल बनेका छन् ।

ठाउँ अभाव भएर लेनको प्रयोग

लगनखेलका श्रीपलान्चोक भगवती माइ साइकल स्टोरका सञ्चालक रामहरि कार्की व्यापार गर्ने ठाउँमा साइकल लेन बनेपछि बाध्यताले सडकमा साइकल निकाल्नु परेको बताउँछन् । व्यापारीले साइकल राख्‍ने ठाउँको अभाव झेल्दा लेनको प्रयोग गर्नु परिरहेको बाध्यता उनले सुनाए ।

'देख्‍दा साइकल व्यापारीले लेनमा अवरोध गरेको देखिन्छ, ठाउँ अभाव भएकै छ, ' उनले इकागजसँग भने,' महानगरले लेन निर्माण गर्दा व्यापार गर्नेको स्थान पनि ओगटेको छ । ग्राहक आउँछन्, लेनमा पार्किङ नगर्नु भनेर भन्‍न मिल्दैन ।'

पार्किङ व्यवस्थित बनाएमा सार्वजनिक जग्गा प्रयोग नगर्ने कार्कीले बताए । योजनासहित निर्माण भएको भए ठाउँ अभाव नहुने उनले तर्क गरे । पार्किङ र खुला स्थान बनाउन महानगरले वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

पुरानो सडकमा नयाँ डिजाइन गर्दा अप्‍ठयारो

महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रुद्र गौतम पुरानो सडकमा नयाँ डिजाइनको लेन बनाउँदा केही समस्या आएको बताउँछन् । भएका सडकमा लेन थप्दा चुनौती थपिएको उनले बताए । उनकाअनुसार लेन निर्माणमा ५७ लाख रुपैयाँ खर्च भएको छ ।

'लेनको सुरुवाती भइसकेको छ । लेनमा अवरोध भएकालाई हटाउँदै लगिएको छ,' गौतमले भने,' लेनमा बाधा गर्नुहुँदैन भनेर चेतना र संस्कारको विकास गरिँदैछ ।' उनले जनप्रतिनिधिको मतैक्यता हुन नसक्दा 'साइकल लेन ऐन' बन्‍न नसकेको बताए । राजनीतिक दलको संयन्त्र नमिल्दा ऐनलाई पूर्णता दिन ढिलाइ भइरहेको उनको भनाइ छ ।

ऐनको ड्राफ्ट तयार भइसकेको र महानगरको सभामा पेश गर्न बाँकी रहेको गौतमले जानकारी दिए । 'सडकमा साइकल लेन बन्यो तर ऐन बन्‍न सकेको छैन,' उनले भने,' ऐन बनेर राजपत्रमा प्रकाशित गर्नुपर्छ । महानगरले साइकल ऐन पहिलो प्राथमिकतामा राखेको छ ।'

पार्किङ स्थलमा लेन बन्दा समस्या

साना-साना सवारीसाधनको पार्किङस्थलमा लेन बनेकाले विभिन्‍न स्थानमा समस्या भइरहेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछुथे बताउँछन् । 'लेन बनाउँदा निर्माण कम्पनीले पार्किङ र व्यापारीको स्थानमा लेनको रङ्ग लगाएका छन्,' उनले भने ।

मुख्य-मुख्य व्यापारिक चोकको पार्किङ स्थललाई लेन बनाउँदा व्यापारी र ग्राहकले पार्किङ गरिरहेको उनले जानकारी दिए । ठूला सवारीसाधनहरू पार्किङ भएमा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको उनले जानकारी दिए ।

'लेनमा राखेका सवारीसाधनलाई महानगरले जुनसुकै समयमा कारबाही गर्छ,' उनले भने,' लेनलाई अवरोध गरी कब्जा गरेका पसललाई महानगरले पत्र काटेर हटाउन अनुरोध गरेर नमानेमा कारबाहीसमेत गरिन्छ ।'

संरचना बन्यो, अनुगमन भएन

साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले भौतिक संरचना निर्माण भए पनि अनुगमन हुन नसकेको बताए । निर्माण गरेका संरचनालाई पनि समय-समयमा अनुगमन र संरक्षण गर्नुपर्ने उनले बताए ।

'लेन बनाएपछि चालकले सुरक्षित भएको महसुस गर्न पाउनुपर्छ,' उनले भने,' लेन बने पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन । बनेका भौतिक संरचनालाई अनुगमन गर्नुपर्छ । '

लेनमा भएको अवरोध हटाउन कदम चाल्नुपर्ने श्रेष्‍ठको भनाइ छ । निर्माण प्रक्रिया अगाडि बढिसकेको छ त्यस कदमलाई सकरात्मक कदम मान्‍न सकिने उनको तर्क छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x