समाज

कोही किन कपाल दान गर्छ ?

इकागज |
फागुन ६, २०७८ शुक्रबार ८:५६ बजे

कपाल दान गर्न मिल्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । तर, पार्लरमा काटेर डस्टविनमा फ्याक्ने कपाल कसैको आत्मविश्वासको सारथि बन्‍न सक्छ । क्यान्सरको उपचारमा ‘केमोथेरापी’ गर्दा प्रायको कपाल झर्छ । त्यस्तै, एलोपेसिया एरियाटा (कपाल झर्ने समस्या) का कारण धेरैले आफ्नो प्राकृतिक कपाल गुमाउँछन् । यसरी कपाल गुमाएकाहरू निराश भएर डिप्रेसनसम्म पुग्‍ने अवस्था हुन्छ ।

अहिले कपाल दान गर्ने प्रचलन बढिरहेको छ । कपाल संकलन केन्द्रले प्राकृतिक कपाल संकलन गरेर ‘विग’ अर्थात् नक्कली कपाल निर्माण गर्न थालेका छन् । जहाँ मानिसले आफ्नो कपाल डोनेट गर्न सक्छन् । ती कपाल विगको रूपमा आवश्यक पर्ने व्यक्तिले प्रयोग गर्न सक्छन् ।


कपाल दान गर्न चाहनेलाई सामाजिक सञ्जालद्वारा विभिन्‍न संघसंस्थाले जानकारी दिइरहेको हुन्छ । दान गरिएको कपालले कपाल झरेकाको निराशालाई अन्त्य गर्छ । नक्कली कपाल भए पनि लगाएर बाहिर निस्किन पाउँदा उनीहरूको आत्मविश्वास बढ्छ । 

सामान्यतया ५ देखि १० जनाले दान गरेको कपालबाट मात्र एउटा विग बनाउन सकिन्छ । एउटा-एउटा कपाल गरेर बनाउनुपर्ने भएकाले विग बनाउन लामो समय लाग्छ । दान गर्ने कपालको लम्बाई कम्तिमा १० इन्चको हुनुपर्छ । १० इन्चभन्दा सानो कपालको विग बनाउन सकिँदैन ।

त्यस्तै, विग बनाउने कपाल पूर्णतया स्वस्थ हुनुपर्छ । कुनै प्रकारको खराबी हुन हँदैन । सकेसम्म हेयर कलर नगरेको, कर्ल-स्ट्रेट, हाइलाइट, हेयर ट्रिटमेन्ट आदि नगरिएको कपाल हुँदा राम्रो हुन्छ । कपाल दान गर्न चाहनेलाई केही पार्लरले निःशुल्क कपाल काटिदिन्छन् । हामीले महिनैपिच्छे काटेर फ्याक्ने कपालले क्यान्सर पीडितलाई खुसी बिनाउँछ, उनीहरूलाई प्रेरणा दिन्छ भने आफ्नो कपाल पार्लरमा गएर खेर फ्याक्नु हुँदैन ।


Author

थप समाचार
x