समाज

किन बढ्दै छ बाँके–बर्दियामा बाघ आतंक?

६ महिनामा ९ जनाको ज्यान गयो

कृष्ण अधिकारी |
फागुन १८, २०७८ बुधबार ७:२५ बजे

फाइल तस्बिर

काठमाडौँ - बाघको श्रृंखलावद्ध आक्रमणका कारण बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा त्रास बढ्दै गएको छ । पछिल्लो ६ महिनामा बाँकेमा ५ र बर्दियामा ४ गरी ९ जनाले बाघको आक्रमणमा ज्यान गुमाइसकेका छन् । यो अवधिमा दर्जनौं व्यक्तिको बाघसँग जम्काभेट भइसकेको र त्यसक्रममा केही गम्भीर घाइते समेत भएका छन् र केही आफ्नो ज्यान जोगाउन सफल पनि भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा पर्ने कम्दी जैविक मार्ग अन्तर्गत पर्ने राप्तीसोनारी वडा नम्वर ३ र ६ मा पाटे बाघको चहलपहल बढेको स्थानीय बताउँछन् । त्यहाँ उनीहरूले बाघ ओहोर–दोहोर गरेको देखिरहने र सधैँ बाघसँग जम्काभेट भएर ज्यानै जाला भन्ने त्रासमा बस्नु्परेको स्थानीयको गुनासो छ । बाघको आक्रमणका घटना बढ्दै गए पछि जनप्रतिनिधि र स्थानिय बासिन्दाहरूले मान्छे खाने बाघलाई नियन्त्ररण लिएर अनेत्र लैजान या मार्न माग गर्दै आएका छन् ।


दवाव बढ्दै गए पछि स्थानीय प्रशासनले राष्ट्रिय निकुञ्ज, वन तथा राष्ट्रिय प्रकृति संरक्षण कोषमा उपलव्ध प्राविधिकहरूको टोली नै परिचालन गरेर मान्छेलाई आक्रमण गर्ने बाघको पहिचान गरेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । तर विगत दुई महिनादेखि निरन्तर प्रयास गर्दा पनि सो नरभक्षी बाघलाई नियन्त्रणमा लिन सकिएको छैन । बाघलाई नियन्त्रणमा लिनका लागि गरिएका प्रयासहरू सफल हुन नसक्दा बाघको आक्रमणबाट भौतिक क्षतिका घटना बढ्नसक्ने त्रास कायमै छ ।
केही वर्ष अगाडिसम्म पनि पर्यटकहरूले निकुञ्जको भित्री भागको भ्रमण गर्दा पनि आक्कल–झुक्कल मात्रै देखिने पाटे बाघ पछिल्ला समयमा गाउँ–बस्ती नजिकैका जंगल र निकुञ्ज क्षेत्रको सडकहरूमा समेत देखिने क्रम बढ्दै गएको छ ।

निकुञ्ज क्षेत्रमा बाघको संख्या बढ्दै गएपछि केही बाघ निकुञ्जको कोर क्षेत्रभन्दा बाहिर रहेका मध्यवर्ती क्षेत्र र सामुदायिक वनतर्फ आकर्षित हुन थालेको बाके राष्ट्रिय निकुञ्जका बार्डेन श्याम कुमार शाहले बताए । बाघ जंगलमा आफ्नो टेरोटोरी (इलाका) बनाएर बस्छ । आफ्नो इलाकामा अरू बाघलाई बस्न दिँदैन । पर्याप्त आहारा र पानी भएको क्षेत्रमा बाघहरू सानो–सानो टेरोटोरी बनाएर बस्छन् । सानो क्षेत्रभित्र धेरै बाघ छन् भने त्यहीँभित्र पनि आफ्नो छुट्टाछुट्टै टेरोटोरी बनाउँछन् । आहारा र पानी पर्याप्त भएका कारण बर्दिया निकुञ्जको बबई भ्याली र कर्णालीको भंगालो क्षेत्रमा धेरै बाघ छन । आहारा र पानी कम भएको क्षेत्रमा बाघ त्यसको खोजीमा यताउता घुमिरहन्छन् र त्यस्तो अवस्थामा बाघको टेरोटोरी पनि ठुलै हुन्छ ।

भर्खरै आफ्नो आमाबाट छुट्टिएर आफ्नो बासस्थानको खोजीमा रहेको कम उमेरका बाघ, बुढो भएर वा कुनै कारणले घाइते भएर शिकार गर्न नसक्ने अवस्थाका बाघहरू र अर्काे बाघसँगको लडाइँमा हारेर इलाका छोड्न वाध्य बाघहरू निकुञ्जको कोर क्षेत्रभन्दा बाहिरका जंगलमा बस्ने गरेका छन् । पछिल्लो समयमा बाघ बस्ने गरेको निकुञ्ज आसपासका मध्यवर्ती र साुमदायिक वन क्षेत्रमा बिना सावधानी घाँस–दाउरा गर्न, सागपात, निगुरो र च्याउ टिप्न अनि घरपालुवा वन्यजन्तुहरूलाई चरनका लागि लैजानेहरू नै मानिसहरू बाघको आक्रमणमा पर्ने गरेको छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाका अनुसार सन २०१९ यता बाँकेदेखि कैलालीसम्मका विभिन्न स्थानहरूमा बाघको आक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ । यो तीन वर्षमा बाघको आक्रमणबाट मृत्यु भएका घटनाहरूको विश्लेषण गर्ने हो भने ४० प्रतिशत मृत्यु निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा बाहिरका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा भएका छन् । यस क्रममा कुनै पनि आक्रमणको घटना मानवबस्तीमा भएको छैन भने रातको समयमा पनि बाघले कसैलाई आक्रमण गरेको छैन ।

सडक क्षेत्रमा हिँडडुल गरिरहेको समयमा पनि कोही बाघको आक्रमणमा परेका छैनन् । बाघको आक्रमणका सबै घटनाहरू घाँस–दाउरा काट्ने, च्याउ र सागपात टिप्ने अनि घरपालुवा वन्यजन्तु चराउने क्रममा भएको डा. कडरियाको दावी छ । बाघ बस्न थालेका बस्ती नजिकका मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा स्थानिय बासिन्दाहरू नै सावधानी नअपनाई जंगल पस्ने र ढुक्क भएर आफ्नो काम गर्ने गरेका कारण बाघको आक्रमणमा पर्ने गरेको उनको भनाइ छ ।

जंगल क्षेत्र बाघको बासस्थान हो । जंगलमा जाँदा बाघसँग जम्काभेट पनि हुनसक्छ, त्यसको आक्रमणमा पर्न मात्र होइन, ज्यानै पनि जान सक्छ भन्ने सोचेर सामान्य सावधानी अपनाउँदा मात्र पनि बाघको आक्रमणबाट बच्न सकिने मानव–वन्यजन्तु द्वन्द्व विशेषज्ञ डा. बाबुराम लामिछाने बताउँछन् ।

सामान्य सावधानी अपनाउँदा बाघको आक्रमणमा परिँदैन भन्ने कुराको सबैभन्दा राम्रो उदाहरण हो– चार–पाँचजनाको समूह बनाएर पैदल नै हिडेरै निकुञ्जको कोर क्षेत्रसम्म बाघको अबलोकन गर्न जाने पर्यटकहरू । बाघ हेर्न एउटा लठ्ठी बाकेर पैदलै निकुञ्जको कोर क्षेत्रमा पुग्ने पर्यटकहरू बाघको आक्रमणमा परेको बिरलै सुन्न पाइन्छ । तर घाँस–दाउरा काट्न बस्ती नजिकको वनमा जाँदा स्थानीय बासिन्दाहरू आक्रमणमा पर्नुको मुख्य कारण उनीहरूको असावधानी नै हो ।

वन क्षेत्रमा जाँदा समुह बनाएर मात्र जाने, आफू जान लागेको क्षेत्र आसपास बाघको ताजा पाइला वा दिसा छ कि छैन त्यो निरीक्षण गर्ने, नजिकको झाडी वा खोला–खोल्साहरूमा बाघ छ कि भनेर अनुगमन गर्ने, चनाखो भएर घाँस–दाउरा काट्ने र बाघ आइहालेमा आक्रमणबाट बच्नका लागि सहयोग होस् भनेर सँगै लाठी वा हँसिया–खुर्पाजस्ता हतियार राख्नुका साथै कुनै पनि बेला रूख पनि चढ्नुपर्ने अवस्था आउनसक्छ भनेर तयार हुने हो भने बाघको आक्रमणबाट धेरै हदसम्म जोगिन सकिने डा. लामिछाने बताउँछन् ।

राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय, वनका उपभोक्ता एवं सरक्षणकर्मी संघ–संस्थाहरूले बाघको आक्रमणबाट बच्नका लागि स्थानीयलाई आफ्नो आनीबानी र व्यवहारमा परिवर्तन गर्न आग्रह गर्दै प्रशिक्षण दिन शुरू गरेका छन् ।

स्पष्ट छ– बाघको आनीबानी परिवर्तन गर्न सम्भब छैन, त्यसैले मान्छेले आफ्नै आनीबानी व्यवहार परिवर्तन गर्नुपर्छ । बाघको आक्रमणबाट बच्न सावधानी अपनाउनुको विकल्प नभएका कारण उपभोक्ताहरूलाई सचेत बनाउन तालिम र प्रशिक्षणहरू आयोगना गरिएको कम्दी क्षेत्र वन उपभोक्ता समुहका अध्यक्ष लवराज खरेलले बताए ।

फागुन १० गते बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–४ सैनावारकी ४१ वर्षीया लिलि चौधरीको मृत्यु भएको छ । उनी बन पैदाबर लिन जंगल गएको बेला आक्रमणमा परेकी हुन् । गत फागुन ७ गते बिहान स्याउला काट्न गएका बेला बाँके जिल्लाको राप्तीसोनारी गाउपालिका–६ ढलैयामा बाघको आक्रमणबाट ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको थियो ।

त्यस्तै फागुन ८ गते बाघको आक्रमणमा परेर बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर गाउँका २८ वर्षीय वकिल गद्दी गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको सामुदायिक वनमा घाँस काटन गएका बेला गद्दी बाघको आक्रमणमा परेका थिए । घाँस काटिरहेका बेला बाघले आक्रमण गरेपछि गद्दीले आफूसँग भएको हँसियाले बाघलाई हिर्काएर चिच्चाए पछि बाघ भागेको थियो । गद्दी कराएको आवाज सुनेपछि उनीसँगै घाँस काटन गएका साथीहरूले घाईते अवस्थामा उनको उद्दार गरेर नेपालगञ्जको भेरी अस्पतालमा पुर्याएका थिए । घाँटीमा गम्भीर चोट लागेका गद्दीको उपचार भइरहेको छ । २०७८ साउन ३ गते बर्दियाको ठाकुरबाबा–६ मोतिपुरमा ७० वर्षीय गोरे थापाको भैँसी चराउन साुमदायिक वनमा गएका बेला बाघको आक्रमणमा परेर मृत्यु भएको थियो ।

२०७८ असोज २५ गते गेरुवा गाउपालिका–४ ढुकुनियामा ४० वर्षका जनकबहादुर थारुको पनि भैसी चराउन गेरुवा नदीको किनारा क्षेत्रको जंगलमा गएका बेला बाघको आक्रमणमा परेर मृत्यु भएको थियो । त्यस्तै, २०७८ मंसिर १२ गते गेरुवा गाउपालिकाकै वडा नं. ४ राजीपुरका ६८ वर्षीय कालुराम थारुको वन पैदावार लिन जंगलमा गएका बेला बाघको आक्रमणबाटै मृत्यु भएको थियो । गत पुस २४ गते बाँकेको राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र २२ गते वडा नं. ४ पर्साेनाकी ५३ वर्षीया लिला विष्टको बाघ आक्रमणबाटै मृत्यु भएको थियो ।

बाघको आक्रमणका कारण मान्छेको मृत्यु हुने घटनालाई न्युनिकरण गर्न डिभिजन वन कार्यालय र राष्ट्रिय निकुञ्ज प्रशासनलाई मान्छे खाने बाघलाई सके नियन्त्रणमा लिनुपर्ने र नसके मार्नु पर्ने राप्तीसोनारी गाँउपालिका वडा नं ६ का वडाअध्यक्ष रामलखन थारुले माग गरे।

मान्छे खाने बाघ पत्ता लगाएर सम्भव भएसम्म नियन्त्रणमा लिने र त्यसो गर्न सम्भव नभए त्यसलाई मारेर भए पनि भय र त्रासको वातावरणको अन्त्य गर्ने तयारी भइरहेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बताए ।

सन् २०१८ मा भएको गणनाअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बयस्क पाटे बाघ रहेका छन् । INS NEWS-स्वतन्त्र समाचार


Author

थप समाचार
x