समाज

कमलपोखरी पुनर्निर्माण रोक्‍न अभियन्ताको चेतावनी

नरोके कानुनी उपचार खोज्‍ने

इकागज |
माघ ६, २०७७ मंगलबार १९:५ बजे

काठमाडौं : संरक्षणको नाममा गैरकानुनी र संरक्षणको मान्य सिध्दान्त तथा व्यवहार प्रतिकुल हुनेगरी भइरहेको कार्य रोक्न सम्पदा अभियन्ताहरूले पत्र बुझाएका छन् । उनीहरूले काठमाडौं महानगरपालिकामा ‘कमलपोखरीको कार्य तत्काल रोक्न’ चिठ्ठी बुझाएका हुन् ।
 
पोखरीको अस्तित्व समाप्त पर्ने गरी भइरहेको काम नरोकेमा कानुनी उपचार खोज्‍ने उनीहरूले महानगरलाई चेतावनीसमेत दिएका छन् । काम नरोके संविधानको धारा ४८ ले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने नागरिकलाई दिएको दायित्व अनुरूप कानुनी उपचार खोज्‍न बाध्य हुने चेतावनी उनीहरूले पत्रमार्फत महानगरलाई दिएका हुन् ।
 
महानगर- १ मा अवस्थित कमलपोखरी (पलेस्वाँ पुखु) मा भइरहेको काम तत्काल रोक्न पुरातत्व विभागले पनि महानगरलाई माघ-५ मा पत्र पठाइसकेको छ । ‘महानगरपालिकाद्वारा संरक्षण गर्ने कार्य अगाडि बढाउँदा पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई प्रतिकुल असर नपर्नेगरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी प्राचीन स्मारक ऐन २०१३ (पाँचौँ संशोधन सहित)को परिधिभित्र रही कार्य गर्न/गराउन,’ भन्दै विभागले पत्र पठाएको हो ।
 
महानगरले विभागलाई अटेर गर्दै पत्र पाएको रातमा नै डोजर चलाइ माटो ओसार्न सुरु गरेको छ । महानगरको यो कामप्रति अभियान्ता असन्तुष्ट बनेका हुन् ।  असन्तुष्ट अभियान्ताले कमलपोखरीमा भइरहेको काम रोक्न चिठ्ठी बुझाएको सम्पदा बचाउ अभियन्ता आलोकसिध्दि तुलाधरले बताए । ‘हामीले मेयर विद्यासुन्दर शाक्यलाई दुई बजे चिठ्ठी दर्ता गरेर आयौँ,’ उनले भने ।
 
उनीहरुले महानगरमा बुझाएको चिठ्ठीमा ‘विभागले पत्र काटेकै दिनको राति धमाधम डोजर चलाएको र राति सम्पदा अभियन्ताहरू गएपछि मात्र काम रोक्नु दुःखद र लज्जास्पद कानुनसमेत प्रतिकुलको कार्य भएकोले तत्काल सम्पूर्ण कार्य रोक्न र पोखरीको माटो सुकेर पानी नअड्डिने अवस्था सृजना हुनु अगावै सो फ्याकिएको पानी पुनर्भरण गर्न अनुरोध गर्दछौँ,’ भन्‍ने वाक्याम्स उल्लेख गरिएको छ ।  

चिठ्ठीमा पोखरीलाई (सिमसार) कसरी दिगो रूपमा जीवित राख्‍ने तथा सोको ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक पक्षलाई कसरी जीवन्त दिने भन्‍नेबारे स्वतन्त्र विज्ञ तथा अन्य सरोकारवाला निकायसँग छलफल गर्न आग्रह गरिएको छ । 


यस्ताे छ महानगरमा बुझाइएकाे पत्र :


 


Author

थप समाचार
x