समाज

कमलपोखरी पुनर्निर्माण ४० प्रतिशत सम्पन्‍न

'विवादले रोकिन्‍न पुनर्निर्माणको काम'

पोखरी एक इञ्‍च पनि घटेको छैन : महानगरपालिका

सुनीता साखकर्मी |
माघ ९, २०७७ शुक्रबार २२:२० बजे

काठमाडौँ : विवादका वावजुद पनि काठमाडौँ महानगरपालिका-१ मा रहेको कमलपोखरीको पुनर्निर्माणको काम रोकिएको छैन । महानगरपालिकाका प्राविधिक प्रेमबहादुर श्रेष्ठका अनुसार कमलपोखरी पुनर्निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । हालसम्म कमलपोखरी पुनर्निर्माणको लागि २ करोड १० लाख रूपैयाँ खर्च भइसकेको महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बताए । त्यस्तै पोखरी पुनर्निर्माण कुनै नियम कानुन विपरित नगरेकोले काम नरोक्ने समेत उनले जनाए ।


‘पुरातत्व विभागले पनि हामीलाई पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई प्रतिकुल असर नपर्ने गरी काम गर्नु भनेर पत्र पठाएको हो,’ उनले भने, ‘तर हामीले कुनै ऐनको विपरित वा वातावरण प्रतिकुल हुने गरी काम गरेका छैनौँ ।’ उनका अनुसार कमलपोखरीमा मण्डप बनाउने क्रममा ‘वाल’ ठड्याएपछि विवाद सुरु भएको यियो । उनी भन्छन्, ‘हामीले परम्परागत निर्माण सामग्री प्रयोग गरेर नै निर्माण अगाडि बढाएका छौँ । सिमेन्टको प्रयोग गरेका छैनौँ । अलिकति ढुंगाहरू जोड्न मसला त हाल्न परिहाल्यो ।’

त्यस्तै कमलपोखरीको साइज एक इञ्च पनि नघटाएको उनको दाबी छ । ‘पहिले उपत्यका बिकास प्राधिकरणले ढुंगा छापेको थियो । कंक्रिटको गेट बनाएको थियो । पर्खाल लगाएको थियो । त्यतिबेला केही नभन्ने, अहिले हामीले स्वीकृति लिएर गर्न थालेपछि विरोध गर्ने ? डिजाइन फाइनल भएर काम हुन थालेकै डेढ वर्ष भइसक्यो,’ उनी भन्छन् ।

कमलपोखरीको शिलन्यास २०७६ असार १९ गते भएको थियो । कमलपोखरी पुनर्निर्माणको अनुमानित लागत  भ्याटसहित ९ करोड ४६ लाख ९९ सय हजार पाँच सय दुई रूपैयाँ छ भने ठेकेदारले भ्याटसहित ६ करोड ३६ लाख ५९ हजार छ सय चार रूपैयाँमा बनाउने कबुल गरेको थियो । त्यस्तै जय धनञ्जय/कंडेल जे.भी. रानीबारीले ठेक्का पाएको छ । यसले २०७७ असार १५ गतेसम्म कार्य सम्पन्न गर्नुपर्ने थियो । तर लकडाउनका कारण सम्पन्न गर्न नसकेको प्रमुख थापाले बताए ।

‘हामीले सरोकारवालाहरुसँग छलफल गरेर २०७६ मै पुनर्निर्माणको थालनी गरेको हो । एक्कासी लकडाउन भएर निर्माण सामग्रीको अभाव भएपछि काम रोकियो,’ उनले भने, ‘सरासर काम भएको भए, अहिले त सक्किसक्थ्यो । तै पनि पुरातत्वले हामीलाई सुझाव दिएको छ, हामी ऐहितहासिकतालाई नबिगारी पुनर्निर्माण गर्छौ‌ ।


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x