राहतको लोभमा करोडौंको मुद्दा, गाउँभरि त्रास
दोलखा : तामाकोसी गाउँपालिका–१ माझी गाउँका लछुमन माझीमाथि करोडौंको मुद्दा लागेको छ । राजश्व छलीको मुद्दा परेकाले उच्च अदालत पाटनबाट १५ दिन भित्र हाजिर हुन भन्दै पत्र आएको छ । कुनै फर्म र कम्पनीसमेत नभएका माझीका नाममा स्थायी लेखा नम्बरसमेत उल्लेखगरी अदालतको पत्र आएको छ ।
राजश्व अनुसन्धान विभागले राजश्व छली सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १६ गतेको फैसलाअनुसार प्रतिवादी लछुमनलाई हाजिरीका लागि आव्हान गरेको हो । लछुमनको नाममा दर्ता भएको पान नम्बरबाट ५ करोड २० लाख राजश्व छली भएकोले राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।
भुकम्प पीडित राहतको घरसमेत अर्काको जग्गामा बनाएका लछुमनलाई ‘घर बनाएको जग्गा खाली गर’ भन्ने दबाब आइरहेका बेला करोडौं राजश्व छलीको मुद्दाको पत्र आएपछि तनावमा परेका छन् । परिवारको नाममा २ रोपनी जग्गासमेत नभएका माझी तामाकोसीमा माछा मारेर दैनिकी चलाउँछन् ।
अदालतको तामेली देखाउँदै लछुमन माझी
यस्ता व्यक्तिका नाममा एक्कासी अदालतबाट तामेली आएपछि स्थानीय जनप्रतिनिधिसमेत चकित परेका छन् । कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालयसमेत नटेकेका माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनलको नामबाट राजश्व छली गरेको अभियोग छ ।
‘अदालतको फैसलापछि राजश्व छलीको समाचार पढेँ, त्यसमा आफ्नै गाउँका लछुमन माझीको नाम रहेछं’ तामाकोसी गाउँपालिका–१ का वडाध्यक्ष महेश काफ्लेले भने ‘समाचारै गलत रहेछ भन्ने लागेर वास्ता गरिनँ, यस्तो मान्छे नै छैन जस्तो लाग्यो ।’
कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालयसमेत नटेकेका माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनलको नामबाट राजश्व छली गरेको अभियोग छ ।
अदालतको तामेली आएपछि अहिले अभियोग सही रहेछ । तर गाउँका सोझा मान्छेहरू कसैले अपराध गरेर फसाएको हुनसक्ने उनकले आशका गरे । पीडितहरू पनि अहिले आफूलाई बचाउन वडाध्यक्षलगायत चिनेजानेकासँग हार गुहार गर्न थालेका छन् ।
गरिबी निवारण गर्छु भन्नेले फसाए
२०७२ सालमा विनासकारी भुकम्पले घरहरू ध्वस्त भए । भुकम्पपछि पीडितहरूका लागि खाद्यान्न, लत्ताकपडा, जस्तापातासहितका राहत लिएर आउँनेहरूको गाउँमा ओइरो लाग्यो । त्यसमा पनि दलित, जनजाती र माझी जस्ता पिछडिएका वस्ती र समुदाय यसको निशानामा परे । स्थानीयहरू पनि खेतीपाती नै छाडेर राहत लिन लागे ।
तामाकोसी मन्थली सडक नजिकै वस्ती भएकाले धेरैको नजर पनि सडक नजिकैको बस्तीमा पर्यो । एक वर्षपछि गाउँमा कपडा बेच्न हिड्ने मधेशी समुदायका एक जनाले आफूलाई ‘तपाईँको घर ढलेछ, राहत दिने मान्छे भेटाइ दिन्छु, काठमाडौं आउनुस्’ भनेको पीडित लछुमन सम्झन्छन् । उनैको भनाइबाट काठमाडौंमा एक जनासँग भेट भयो । उनले ३ पटकसम्म काठमाडौं बोलाए, राहतभन्दै पटक पटक ३६ हजार ५ सय पनि दिए । त्यही बेला पहिलो पटक नागरिकताको फोटोकपी लिए । फोटो खिचेर, फोटो पनि लिए ।
कपडा बेच्नेले राहत दिने मान्छे भेटाउँछु भनेर बोलायो ‘राहत दिने भए जाऊ भनेर पठाएँ,’ लक्षुमनकी श्रीमती मिठु माझीले गहभरी आँसु बनाउँदै भनिन् ‘अहिले त यस्तो अवस्था आयो, अब के हुन्छ थाहा छैन, हामी गरिबलाई बचाइ दिने कोही भए उद्धार गर्नुस् ।’
दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर ल्याएछन्, सबैमा सही गर्न लगाएको माझी सम्झन्छन् । सही मात्र गर्न जान्ने तर राम्रो लेखपढ गर्न नसक्ने माझीले उनले भने अनुसार सही गरे । उनैले विभिनन ठाउँमा लगेर सही गराए तर पैसा सडकमै ल्याएर दिएको सम्झन्छन् । राहत पाएकाले उनलाई राहत दिनेको नाम, ठेगाना केही जानकारी छैन तर देखे अनुहारसम्म चिन्न सक्ने बताउँछन् ।
काठमाडौबाट अर्कैले भेटे, मास्क लगाउँथे, चस्मा लगाएका थिए । तर ति राहत दिने को हुन् उनलाई थाहा छैन । लछुमनले उनको एउटा सम्पर्क नम्बरसमेत जनप्रतिनिधिलाई दिए । तर त्यो पनि लछुमनकै नाममा दर्ता देखियो । वडाध्यक्ष काफ्लेले भने ‘जसले ठग्यो, उसैले पीडितकै नागरिकताको फोटोकपी र फोटो राखेर सिम लिएर प्रयोग गरेको देखियो ।’ सोझा गाउँले ठगीमा एउटा ठूलै गिरोह लागेको हुन सक्ने उनले आशंका गरे ।
गाउँका अरु पनि सोही लाइनमा
राहतका नाममा लछुमन मात्र होइन । माझीगाउँका अधिकाँश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गर्नेहरू छन् । सोही ठाउँका दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, मोहन खत्री काफ्ले र शरण माझीले एउटै व्यक्तिलाई नागरिकता दिएर राहत लिनेमा पर्छन् । गरिबी निवारणका लागि राहत ल्याउनका लागि नागरिकता दिनस् भन्दै मागेको शरण माझीले बताए ।
राहतका नाममा ठगिएका माझी समुदाय
आफूलाई काठमाडौं पुगेपछि तिनै व्यक्तिले बीरगंज पुर्याए । ७ दिनसम्म घुमाए । विभिन्न ठाउँ पुर्याए, धेरै कागजका सही छाप गर्न लगाए र काठमाडौ ल्याएर १५ हजार दिएर पठाएको उनी सम्झन्छन् । अब लछुमन जस्तै आफूलाई पनि यस्तै पत्र आउने हो की भन्ने चिन्ता लागेको उनले बताए ।
अर्का बीरबहादुर माझी सर्लाहीको मलंगवा बोलाएर होटलमा ३ दिनसम्म राखे । फर्कने बेला ११ हजारका दरले २ जनालाई खर्च दिए । त्यसपछि सम्पर्क नभएकाले उनले बताए । आफू पनि काठमाडौं पुगेर १५ हजार राहत लिएर आएको अर्का पीडित मोहन काफ्लेले बताए ।
लछुमनकै छोरा दिनेश माझीलाई जनकपुर पुर्याए । त्यहाँबाट फर्कदा उनले १५ हजार पाए । बैंकको चेकसमेत नदेखेका माझीले बैंकको चेक जस्तोमा पनि धेरै पानामा सही गरेको सम्झन्छन् । लछुमनको नाममा अदालतबाट तामेली आएपछि आफूहरू पनि ठगिएको अरुले महसुस गर्न थालेका छन् ।
भीरकोटका व्यवसायी सुरेश उप्रेतीले गाउँका गरिब र विपन्नहरूलाई राहतको नाममा ठगी गरेको बताए । केही पढ्न लेख्न जान्नलाई तपाईहरू सम्पनन हौं राहत पाउँदैन भने राज्यले गम्भीर रूपले नलिए सिंगो गाउँले जेल जानु पर्ने अवस्था आउने बताए ।
हरेक व्यक्तिलाई छुट्टा छुट्टै ठाउँमा बोलाएर नागरिकता लिएर विभिनन कागजातमा सही गराएको उनीहरूले बताए । आफ्नो नागरिकता र फोटो लिएर गिरोहले नक्कली कम्पनी खडा गरी राजश्व छली गरेको हुन सक्ने उनीहरूको अनुमान छ । अब आफ्नो नाममा पनि कहिले अदालतबाट कहिले पूर्जी आउने हो भन्नेमा गाउँभरि त्रास बढेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया