समाज

लथालिंग पशुपति, जता हेर्‍यो उतै विवाद

सुनीता साखकर्मी |
माघ २४, २०७७ शनिबार ८:३४ बजे

काठमाडौँ : ‘लर्ड सिभाज डिभोटी’ नामको एक फेसबुक पेजले गत सोमबार बिहानै पशुपतिको फोटो सेयर गर्दै लेख्यो- ‘अचम्म : पशुपति क्षेत्र विकास कोषले पशुपतिको शिवलिंगलाई १४२ किलो सुनको जलहरी लगाइदिने तयारी थालेको छ । यसको लागत करिब १ अर्ब छ ।’

डिभोटीको यो पोस्टमा धेरैले समर्थन जनाए । ‘जय शम्भो’, ‘जय भोलेनाथ’ लेखेर थुप्रैले खुसी व्यक्त गरे । तर यी सबैको भीडमा फेसबुक प्रयोगकर्ता राम चौंलागाईंले भने फरक कोण प्रस्तुत गरे । उनले कमेन्टमा लेखे- ‘शिवलिंगलाई सुनको जलहरी लगाइदिनुभन्दा यो पैसा अनाथालय, बृद्धाश्रम वा गरीबहरुको सेवामा लगाए महादेव पनि खुसी हुने थिए होलान् !’


पशुपतिकै प्राङ्गणमा रहेको बृद्धाश्रम लथालिंग अवस्थामा रहेको बेला शिवलिंगमा सयौँ किलो सुनको जलहरी राख्‍ने विषयको रामले मात्रै होइन, थुप्रैले विरोध गरे । प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको मापदण्ड उल्लंघन भएको भन्दै आपत्ति जनाए । त्यसमाथि जुन खालको ‘शिव’को व्याख्या समाजमा प्रचलित छ, त्यसको विलकुल फरक कार्य गर्न लागेको भन्दै थुप्रै आक्रोशित बने ।

पुराणहरुकै कथा मान्‍ने हो भने पनि शिव आफैमा एक तडकभडक नरुचाउने देउता हुन् । शरीरमा खरानी घसेर हिँड्छन् । स्वस्थानीकै एक खण्डमा त्रिपुरासुरले दु:ख दिएपछि देउताहरु महादेवको शरणमा पुगे । उनीहरुले महादेवको स्तुती गर्दै भनेका थिए - ‘हे त्रिलोकेश्वर, अमित पराक्रमी, उत्तम जटाधारी, तृक्ष्ण धार भएको बञ्चरो धारण गर्ने, त्रिशुल लिने, जगत्लाई शरण दिने, देवताका पनि देवता, सदा सर्वदा प्रसन्‍न भई बरदान दिने, कैलाश वासी, दश दिशारुपी बस्त्र धारण गर्ने, जगत्को सम्पत्तिलाई तुच्छ मान्‍ने....’

जगत्‌को सम्पत्तिलाई तुच्छ मान्‍ने यस्ता शिवलाई सुनले ढाकिदिने प्रसंग विवादित बन्यो । यो विवादको शृङ्खला लामो समयदेखि चलिरहेको थियो । स्थानीय र सम्पदा संरक्षण अभियन्ताहरुले विरोध जनाएपछि साम्य भएको विवाद एकपटक फेरि बाहिरियो ।

माघ १२ गते सोमबार 
यसदिन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित पशुपति दर्शन गर्न पुगेका थिए । कम्युनिष्ट नेताको मन्दिर दर्शन, यसै पनि विवादित हुन्थ्यो । दर्शन पछि पशुपतिको शिवलिंगमा सुनको जलहरी राख्‍न ३० करोड उपलब्ध गराउने बाचा गरेपछि त पशुपति पुन: विवादमा तानियो ।

त्यसो त पुराना मन्दिर मध्ये एक हो, पशुपति । हिन्दुहरुको आस्थाको केन्द्र हो यो । तर, पछिल्लो समय यही पशुपति नयाँ-नयाँ विवादमा तानिन थालेको छ । विवादको केन्द्र बन्‍न थालेको छ पशुपति । यसबाहेक अन्य थुप्रै विषयमा पशुपति वर्षौँदेखि विवादित बन्दै गएको छ ।

यसका केही दृष्टान्तहरु हेरौँ- 
कृपालु जि उद्यानको विवाद

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनको पालादेखि नै कृपालु उद्यान विवादित छ । तीन वर्ष अघि पशुपति क्षेत्र विकास कोष र राधा माधव समितिबिच सम्झौता उद्यान बनाउन थालियो । जब काम सुरु हुन थाल्यो, बेलुका बाङ्गा रुखहरु काटियो र ति रुखहरु साँझको बेलामा आगो लगाउन थालियो । ब्यानरमा कृपालु जि बाटिका लेख्‍न थालियो । त्यसपछि मौलिकता गुमाउन पाइँदैन भनेर आवाजहरु उठ्न थाल्यो । तर काम रोकिएन । यत्तिकैमा गोबिन्द टण्डनको कार्यकाल सकियो । अभियन्ताहरुले कोष र समितिबिच भएको सम्झौता मागे । तर कोषका पदाधिकारीले टार्दै गए, दिएनन् ।

कृपालुजी महाराजका नेपाल-प्रचारक ‘स्वामी हरिदास’को अवधारणा अनुसार बनेको उद्यान बन्दै गर्दा पनि त्यसको केन्द्रमा निर्माण भएको शिवलिंगको बिचमा कृपालु जिको अस्तु राखिएको छ भन्‍ने हल्ला बाहिर आयो ।

केही समय अघि यसको बाहिर बनेको कंक्रिट गेटमा ‘कृपालु उद्यान’नामको बोर्ड राखेपछि विवाद झनै बढ्यो । त्यसलगत्तै पुरातत्व विभागले पुस २८ गते कोषको नाममा पत्र लेख्दै ‘कृपालु उद्यान’ लेखिएको बोर्ड तीन दिन भित्र हटाउन निर्देशन दियो । तर विभागले पत्र दिएको महिना दिन बितिसक्न लाग्दा पनि बोर्ड हटेको छैन ।

पाटी भत्काएर मन्दिर 
पशुपतिको बद्रीनाथ परिसरको कैलाशतिरको भागमा एउटा पुरानो पाटीभित्र लक्ष्मीनारायणको एउटा सानो प्रतिमा राखिएको छ । यस प्रतिमामा लक्ष्मीले नारायणको आफ्नो काखमा राखेर पाउ दबाइरहेको स्वरुप देखिन्छ । सामान्यतया लक्ष्मी नारायणका यस्ता प्रतिमा बिरलै देख्‍न पाइन्छ । यसरी लक्ष्मीनारायणको मूर्ति भएको पाटी २०७२ को भुकम्पले जीर्ण बनायो । कोभिड -१९ को महामारीका बेला लकडाउन भएपछि वरिपरि जस्ताले बारेर उक्त पाटीको पुन: निर्माणको काम भयो । तर भत्किएको पाटी, बन्यो मन्दिर ।

सामान्यतया पाटीलाई मन्दिर बनायो के भयो त भन्‍ने लाग्न सक्छ । तर यहाँ मौलिक जे जस्ता सम्पदा छन्, त्यसलाई त्यसरी नै संरक्षण गर्नु पर्ने थियो । माथि गजुर राखेर मन्दिर बनाएपछि यो पाटी पनि अहिले विवादको सिकार बनेको छ । 

बनेन गुरुज्यू सत्तल 
२०७२ सम्म पशुपतिको महास्नान घर अगाडि दक्षिणमा गुरुजीको सत्तल थियो । तर २०७२ को भुकम्पले उक्त सत्तल भत्कियो । उक्त ठाउँमा केही समय अघि अन्वेषण खोज गर्ने भनेर विकास कोष, पुरातत्व विभाग र बेलायतस्थित दुर्हाम विश्वविद्यालयको संयुक्त टोलीले खाल्डो खनेर अन्वेषण नि गर्‍यो । उत्खनन्को क्रममा त्यहाँ पुरातात्विक पर्खाल, शिवलिंग भेटिए । उत्खनन् पछि उक्त सत्तल पुन: बन्‍नुपर्ने थियो । तर उक्त सत्तल बन्‍ने छाँटकाँट देखिएको छैन । अहिले उक्त क्षेत्र खाली छ । 

सत्तलको ठाउँमा फलामे ट्रस्ट 
पशुपतिको बृद्धाश्रमको दक्षिण पूर्वपट्टी दुई मन्दिर छन् । अमर कान्तेश्वर र सुरेन्द्र कान्तेश्वर । २०७२ को भुकम्पअघिसम्म यो मन्दिरको वरिपरि सत्तल थियो । तर भुकम्पले भत्किएको यो सत्तल फेरि बनेन । कोषले त्यसलाई हटाएर मलामी बस्‍ने फलामको ट्रस्ट बनाएको छ । त्यो सत्तलको अस्तित्व नै हरायो । 

डिजिटल बोर्डले कुरुप 
पशुपति दर्शन गर्न आउनेहरुले जुत्ता फुकाल्ने स्थानकै छेउमा ठूलो डिजिटल बोर्ड राखिएको छ । पशुपतिमा डिजिटल बोर्ड राखेर कुरुप पारिएको भन्दै सम्पदा संरक्षण अभियन्ताहरू यसलाई हटाउन माग गरिरहेका छन् । तर अहिले सम्म यो हटेको छैन ।

पशुपति उपत्यकाको पुरानो सम्पदा हो । र यो विश्व सम्पदा सूचीमा रहेको छ । प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको नियम अनुसार पनि यहाँ कुनै पनि नयाँ संरचना राख्‍न पाइदैन । केही वर्ष अघि बौद्धमा पनि डिजिटल बोर्ड राखिएको थियो, तर अभियन्ताको दबाब पछि यो हट्यो । तर पशुपतिको डिजिटल बोर्ड हटेको छैन ।

शंकराचार्य मठमा कंक्रिट
त्यस्तै पशुपतिकै शंखराचार्य मठ नजिक रहेको मन्दिर पनि कंक्रिट प्रयोग गरी पुन:निर्माण गरिएको छ । त्यस्तै यसको पुन: निर्माणको लागि प्रयोग भएका सामाग्रीहरुको गुणस्तर कम भएको पाइएको छ । रातो माटोको विकल्पमा इँटाको धुलो प्रयोग गरिएको छ । रातो माटोले जोड्ने काम गर्छ । तर पोलेको इँटाको धुलोले जोड्ने काम गर्दैन ।

फिनिसिङ गर्दै जाँदा सिमेन्ट पनि लुकाएको भेटिएको थियो । यस्ता कार्य बाहिरिएपछि त्यसलाई पनि रोक्न पुरातत्व विभागले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको थियो । पत्रमा मन्दिर पुन:निर्माण गर्ने क्रममा ‘अनधिकृत सामग्रीको प्रयोग गरेको’ भन्दै उक्त कार्यलाई रोक्न निर्देशन दिइएको छ । तर यसबारे पनि कोषले कुनै एक्सन लिएको छैन । 

पशुपतिको १ सय वर्षे गुरुयोजना 
पशुपति क्षेत्र विकास कोषले १ सय वर्षे गुरुयोजना तयार पारेको छ । त्यस्तै यो गुरुयोजना कोषको कार्यकारी परिषद्बाट पारित भइसकेको छ । तर यससँगै विवादित बनेको छ । कोषले २०५२ सालमा पहिलो गुरुयोजना बनाएको थियो । उक्त गुरु योजना २०५८ मा स्वीकृत भएर २०५८ देखि लागू भएको थियो । कोषले संशोधित गुरुयोजना यही वर्षको साउनमा महिनामा मन्त्रालयमा पठाएको छ ।

गुरुयोजनामा पशुपति क्षेत्रको चार किल्ला भित्र रहेको भुवनेश्वरी मन्दिरदेखि सिफलसम्म बसोबास गर्दै आएका पुरानो बस्तीलाई विस्थापित गर्ने योजना छ । त्यस्तै पशुपतिनाथ मन्दिरको पश्चिमी ढोका भत्काउने, आर्यघाटको दुई चिता हटाएर भस्मेश्वर घाट मात्र सञ्चालनमा ल्याउने, आर्यघाटको छेउमै रहेको ब्रह्मनाल सार्ने, अन्तर्राष्ट्रिय दाता तथा सरोकार समूहसँग सहयोग र सहकार्यका लागि प्रोत्साहन गर्ने, पशुपति क्षेत्रमा दर्शन, पूजन तथा यज्ञ-यज्ञादि गर्न आउने भक्तजनका लागि आवश्यक पूर्वाधारको विकास गर्नेजस्ता गुरुयोजनाका लक्ष्य छन्  ।

पशुपति क्षेत्रभन्दा ३ किलोमिटर पूर्वतिरको गोठाटारको करिब ५ सय रोपनी क्षेत्रलाई सेवा क्षेत्रको रूपमा विकास गरी शिक्षा, स्वास्थ्य, पुन:स्थापना, सामुदायिक सेवासँग सम्बन्धित पूर्वाधार बनाउने योजना बनाइएको छ । यो गुरुयोजना तयार भएपछि स्थानीय आशमान संगतले कोषलाई विरोधपत्र समेत बुझाएका थिए । सरोकारवालासँग छलफल नै नगरी पशुपतिसँग गाँसिएका मूर्त-अमूर्त सम्पदा मासेर अत्याधुनिक भौतिक सम्पदा निर्माण गरी व्यापारिक चलखेल गर्न गुरुयोजना बनाइएको विरोधपत्रमा उल्लेख छ ।  

सरकार र कोषको लापरबाहीले लथालिंग पशुपति 
पशुपतिको इतिहास जति लामो छ, अहिले यससम्बन्धि उत्पन्‍न विवादको फेहरिस्त पनि लामो बन्दै गएको छ । ठाउँको नामै परिवर्तन गर्ने, भत्किएका सम्पदाको ठाउँमा नयाँ सम्पदा बनाउनुको साथै बनेका सम्पदा पनि कंक्रिटको प्रयोग गर्ने सम्मका हर्कतले पशुपतिलाई पटकपटक विवादमा तान्‍ने गरेको छ ।

स्थानीय, सम्पदा संरक्षण अभियन्ताहरु पनि यसको विरोधमा छन् । तर कोषलाई भने यो विषयमा मतलब नै छैन । पशुपतिमा भएको कंक्रिट प्रयोगले नेपाललाई नै नकारात्मक असर गर्छ । यहाँका आन्तरिक पर्यटक वा दर्शनार्थीलाई यसले खासै फरक पर्दैन । उनीहरुलाई त पहिलेभन्दा राम्रो भन्‍ने लाग्छ । सिमेन्टले प्लास्टर गरेर बनायो भने त्यो सुन्दर र राम्रो देख्छन् । तर जब बाह्य पर्यटकको कुरा आउँछ, जब हामी युनेस्को, विश्व सम्पदासँग जोड्छौँ, त्यो बेलामा नकारात्मक असर गर्छ ।

युनेस्कोले एउटा मापदण्ड बनाएको छ । यदि हामीले विगार्दै गयौँ, कंक्रिटको प्रयोग गर्दै गयो, मन्दिर नयाँ बनाउने, भएको सत्तलहरु भत्काउने, व्यापारिक प्रयोजनको लागि भवन बनाउँदै गयो भने उनीहरुको मापदण्ड काटिँदै जान्छ । यसले नेपाललाई घाटा गर्छ ।

पशुपतिमा नेपालकै प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको मापदण्ड विपरित काम भइराख्दा पनि कोष चुप छ । पशुपतिमा कुनै काम गर्दा पुरातत्व विभाग, विश्व सम्पदा, स्थानीय लगायत सबैको सर्वसम्मतीमा निर्णय गर्नुपर्ने हो । तर यहाँ एकलौटी रुपमा निर्णय गर्दा थुप्रै रुष्ट छन् । रामले भनेजस्तै ‘शिवलिंगलाई सुनको जलहरी लगाइदिनुभन्दा यो पैसा अनाथालय, बृद्धाश्रम वा गरीबहरुको सेवामा लगाए महादेव पनि खुसी हुने थिए होलान् !’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x