समाज

मौसममा सुधार, अब चिसो कम हुँदै जाने

इकागज |
माघ २५, २०७७ आइतबार ११:१६ बजे

तस्बिर : रासस

काठमाडौँ : आसपासका अग्ला डाँडामा हिँउ परेसँगै आज बिहान काठमाडौँको न्युनतम तापक्रम एक डिग्री सेल्सियससम्म पुगेको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको मापनमा त्यस्तो देखिएको हो । आज बिहान काठमाडौँमा अधिक चिसो महसुससमेत भएको थियो ।

हुनत काठमाडौँमा यो वर्ष अति चिसो भएको दिन गत पुस १६ मा न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियस थियो । आज बिहान साढे छ बजेसम्म एक डिग्री रहे पनि क्रमश: बढ्दै गएको र न्यानो अनुभव भइरहेकाे छ ।


साढे सात बजेको न्यूनतम तापक्रम बढेर दुई डिग्री भएको थियो । अहिले अलिक चिसो भएपनि मध्यान्‍नपछि अझ न्यानो हुने अनुमान मौसमविदहरूको छ । पश्‍चिमी वायुको प्रभावले तीन दिनदेखि पश्‍चिम नेपालबाट मौसम बदली सुरु भएको र अहिले पूर्वी नेपालबाट बाहिरिसकेकोले मौसमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्‍चिमी वायुको न्युन चापीय प्रणालीको प्रभावका कारण धेरैजसो स्थानमा हिउँदे वर्षा हुनुका साथै उच्च पहाडी भागहरुमा हिउँ परेको थियो । हाल  मुलुकको मध्य र पूर्वी तराईका थोरै स्थानहरूमा र पश्‍चिमी तराईका एक दुई स्थानमा  हुस्सु र कुहिरो पनि लागेको छ ।

काठमाडौं उपत्यका वरपरका अग्ला डाँडाहरुमा पनि हिउँ पर्दा चिसो महसुस भएको हो । पश्‍चिमी वायुको यो प्रभाव हटेपछि गर्मी याम नै सुरु हुने हुनाले यो वर्षको जाडो यही हिमपातसँगै सकिएको अधिकारीहरूको धारणा छ ।
 


Author

थप समाचार
x