समाज

विजयजंग बस्‍नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी

इकागज |
फागुन २, २०७७ आइतबार १४:१६ बजे

काठमाडौँ : पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । आइतबार उनले बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएकी हुन् ।

एक समय सपना विनयलाई बुवा भनेर सम्बोधन गर्ने गर्थिन् भने विनय सपनालाई छोरी भन्थे । तर पछिल्लो समय आपसी विवाद बढेपछि सपना विनयविरुद्ध उजुरी दिन प्रहरीमा पुगेकी हुन् । पछिल्लो समय विनयले सपनामाथि यौन दुव्र्यवहार गरेको आरोप समेत लागेको छ ।


सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि उनीहरुभित्रको विवाद थप बाहिर आएको हो । विनयले सपनामाथि धम्कीपूर्ण चेतावनी दिएपछि महिला अधिकारकर्मीले प्रहरीमा उजुरी दिएर कारवाही गर्नुपर्ने माग उठाएका थिए ।

सोही क्रममा आइतबार उजुरी दर्ता भएको हो । परिसरका एसएसपी अशोक सिंहले विनयविरुद्ध उजुरी दर्ता भएको पुष्टि गर्दै थप अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी मागिएको बताए । पुर्जी ल्याएर विनयलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाउने सिंहले इकागजसँग बताए ।

‘उजुरी दर्ता भएको छ । अदालतबाट पक्राउ पुर्जी ल्याउने काम भइरहेको छ’ एसएसपी सिंहले भने, ‘पक्राउ गरेपछि थप अनुसन्धान अगाडि बढाउँछौ ।’ 

विवादको भित्री चुरो के हो ? 

पशुपतिमा बेवारिसे शव जलाएर समाजसेवा गरेको भन्दै चर्चामा आएका बस्नेत बेला बेला सामाजिक सञ्जाल युटयुबमा विवादास्पद अन्तर्वार्ता दिएर थप विवादमा समेत आउने गरेका थिए । बस्नेतको अभियानमा जोडिएर पशुपतिमा वेवारिसे शव जलाउन थालेकी १८ बर्षीया युवती सपना रोका मगरलाई बीबीसीले केही समय अगाडि १०० प्रभावशाली महिलाको सूचीमा राखेर थप चर्चित बनाएको थियो ।

त्यसपछि सपनाको कामको चर्चा मात्रै होइन, सबैले प्रशंसा गरे । तर बेवारिसे शव जलाउने अभियानको नेतृत्व गरेका विनय भने आफू ओझेलमा परेको भन्दै भित्रभित्रै गुनासो गर्ने गरेका थिए । सडकमा पुगेकी सपनालाई आफूले हिरो बनाएको भन्दै विनय बेला बेला अन्तर्वार्ता दिने गर्थे ।

सपनाले पनि आफूलाई कर्म दिने बुवा भएको भन्दै विनयको प्रशंसा गर्थिन् । तर पछिल्लो समय उनीहरुबीच मनमुटाव भयो । यतिसम्मकी सपनाले पशुपतिमा वेवारिसे शव जलाउने अभियान छाडेर म्याग्दी जानुपर्‍यो । 

तर पनि विवाद साम्य भएन् । युट्युबरले गर्दा दुई जनाबीचको विवाद झन उत्कर्षमा पुग्यो । पछिल्ला अन्तर्वार्तामा विनयले झोक्किदै सपनाका अश्लील फोटो आफूसँग रहेको र ती सार्वजनिक गरेर सपनाको चरित्र हत्या गर्ने धम्की दिएको भिडियो क्लिप भाइरल भयो ।

त्यसपछि धेरैको ध्यान सपना र विनयको विवादमा तानियो । अधिकारकर्मीले विनयलाई कारवाही गर्नुपर्ने माग उठाए । अन्याय सहन नहुने भन्दै सबैको सल्लाह सुझाव र दबाब आएपछि सपनाले आइतबार प्रहरीमा उजुरी दर्ता गरेकी हुन् । 
 


Author

थप समाचार
x