समाज

सडकमै कुहिन्‍छन् कुकुर

व्यवस्थापन गर्ने निकाय गायब, महानगर चुप

सुनीता साखकर्मी |
फागुन ४, २०७७ मंगलबार ७:३९ बजे

दृष्य- १
शान्तिनगर गेटबाट अलिकति भित्र जाँदा सानो खरिबोट आउँछ । खरिबोट भन्दा थोरै पछाडि फर्किँदा फुटपाथमा भेटिन्‍छ मरेको कुकुर । यो मृत कुकुर एक हप्तादेखि यही छ । गाडीको ठक्करबाट मिरिएको जस्तो देखिने उक्त कुकुरको शरीर सड्दै गएको छ । सोमबार मृत शरीरमा किराहरू उडिरहेका थिए । त्यसबाट दुर्गन्धसमेत फैलिन थालेपछि पैदल यात्रीहरू छेउकुनाबाट हिँड्न थालेका छन् ।

दृष्य- २
भक्तपुरको कौशलटारमा पनि सोमबार शान्तिनगरकै जस्तो दृष्य देखियो । कौशलटारबाट लोकन्थलीतिर पैदल लाग्दा सडकको देब्रे पट्टी एउटा कुकुर मरेको छ । स्थानीय पसल व्यवसायीका अनुसार यो मृत कुकुर एक हप्तादेखि यहाँ छ । फुटपाथमा मृत कुकुरको शरीर सड्न थालिसकेको छ । तर यसको व्यवस्थापनमा कसैको ध्यान गएको छैन ।


परिणाम घातक 
झट्ट हेर्दा ‘कुकुर मरेको त हो नि’ भन्‍ने लागेपनि यो एकदमै विषय गम्भीर छ । किनकि कुकुरको मृत शरीरबाट घातक रोगहरू हामीले सास फेर्ने हावामा मिसिइरहेका हुन्‍छन् । सडकमा यसरी फालिएका कुकुरको मृत शरीरका कारण मानिसमा थुप्रै रोगहरू लाग्ने सक्ने पशुचिकित्सक डा.चन्द्र ढकाल बताउँछन् । उनका अनुसार यही कारण घातक रोगको नियन्त्रण गर्न चाँडो एक्सन लिनुपर्छ । ‘मान्‍छेमा लाग्‍ने ८० प्रतिशत रोग पशुबाट आउँछ, बोटबिरुवाबाट, जंगली जनावरहरुबाट पनि रोगहरु लाग्छन्,’ उनी भन्‍छन्,‘यसरी मृत जनावरका शरीर जथाभावी लथालिंग हुँदा झनै यसको खतरा बढ्छ ।’

जहाँतहीँ उस्तै, कहाँ छ क्लीन नेपाल ? 
शान्तिनगर र कौशलटारमा मात्रै होइन । यस्ता दृश्य काठमाडौँ उपत्यकाका थुप्रै सडक छेउमा देख्‍न सकिन्‍छ । सार्वजनिक सडकको फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायको हुने प्रावधान फोहोर मैला व्यवस्थापन ऐन-२०६८ छ । ऐनको परिच्छेद २ को दफा ३ र ४ मा यो कुरा उल्लेख छ ।

स्थानीय शासन सञ्चालन ऐनले पनि यो यही प्रावधान राखेको छ । ऐनको परिच्छेद ३, उपदफा २ को ‘नगर प्रहरी’ शीर्षक भित्र ‘ञ’को प्रावधान अनुसार सडकका छाडा पशु चौपायाको नियन्त्रण गर्ने जिम्मा सम्बन्धित गाउँपालिका एवं नगरपालिकाको हुन्‍छ ।

ऐनको परिच्छेद ३, उपदफा २ को ‘आधारभूत स्वास्थ्य र सरसफाई’ शीर्षकको ‘१०’ नम्बर बुँदामा स्थानीय निकायले सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी गर्न सक्ने प्रावधान राखिएको छ ।

यही प्रावधान अनुसार काठमाडौँ महानगरपालिकाले मृत भेटिएका जनावर व्यवस्थापनको जिम्मा क्लीन नेपाललाई दिएको छ । महानगरको २७औँ नगर परिषद्ले यो जिम्मा यो नेपाललाई दिने निर्णय गरेको थियो । परिषद्को उक्त निर्णय ४८ मा लेखिएको छ,‘क्लीन नेपाललाई मृत जीवजन्तु व्यवस्थापन कार्य वापत भुक्तानी दिने सम्बन्धी मिति २०७२ बैशाख २ गतेको प्रमुख तथा कार्यकारी अधिकृतस्तरको काठमाडौं महानगरपालिकाको निर्णयहरू अनुमोदन गरियो ।’

महानगरपालिकाले क्लिन नेपाललाई वार्षिक २४ लाख रूपैयाँ बुझाउने गरेको महानगरका पशु चिकित्सक डा. अवदेश झा बताउँछन् । तर, क्लिन नेपाल निकम्मा देखियो । ‘महानगरको कुनै ठाउँमा जनावर मृत भेटिएमा क्लीन नेपाललाई वा सम्बन्धित वडा वा नगरप्रहरीलाई सम्पर्क गर्न सकिन्‍छ,’ डा.झा भन्‍छन्,‘खबर गरेको एक घण्टाभित्र क्लीन नेपालले उक्त मृत चौपाया उठाउनुपर्छ ।’

तर, काठमाडौँका स्थानीयहरू क्लिन नेपालको नामै नसुनेको बताउँछन् । शान्तिनगरमा मृत कुकुरको दुर्गन्ध सहेर बसिरहेकी पसल व्यवसायी निर्मला श्रेष्ठ भन्‍छिन्,‘हामीले कहाँ कसलाई भन्‍ने मरेको कुकुर उठाइदेउ भनेर ? हामीलाई त केही थाहा छैन, जनप्रतिनिधिहरू सबै गाडीमा मात्रै हिँड्छन् ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x