समाज

टुँडिखेल मोही, जग्गाधनी श्री ५ को सरकार

ऐन विपरित टुँडिखेललाई मोही

सुनीता साखकर्मी |
फागुन १०, २०७७ सोमबार ७:१९ बजे

तस्बिर : नेपाल पिक्‍चर लाइब्रेरी

काठमाडौँ : जग्गाधनी श्री ५ को सरकार, मोही टुँडिखेल । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौँले जनहित संरक्षण मञ्चलाई दिएको पत्र ७२३२ मा यही विवरण उल्लेख छ । पत्रमा ‘काठमाडौं महानगरपालिका-११ को कित्ता नं १८१ क्षेत्रफल १९४ रोपनी ८ आना ३ दाम जग्गाको जग्गाधनी श्री ५ को सरकार र मोही टुडिखेल कायम देखिएको’ विवरण उल्लेख छ । यो जग्गा सानो टुँडिखेल हो ।


भद्रकालीबाट शहिदगेट जाँदै गर्दा बाँया पट्टी छ यो सानो टुँडिखेल । यो जग्गामा धमाधम सेनाले भवन बनाउन थालेपछि यो जग्गा कसको नाममा छ भनेर खोज्‍ने क्रममा ऐन विपरित टुँडिखेललाई मोही बनाएको विवरण भेटिएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए । ‘जग्गा धनी श्री ५ को सरकार अनि टुँडिखेल मोही ! सार्वजनिक टुँडिखेल सरकारीमा परिणत भएछ’ उनले भने, ‘यो भूमि सम्बन्धि ऐन २०२१ विपरित छ । टुँडिखेललाई मोही बनाउनै मिल्दैन ।’

भूमि सम्बन्धी ऐन २०२१ मा मोहीको स्पष्ट परिभाषा छ । ऐनमा भनिएको छ- ‘मोही’ भन्‍नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ । टुँडिखेल न त किसान हो, न त कुनै संस्था नै । यसलाई कसरी मोही बनाइयो भन्‍ने विषयको खोजी गरिरहेको गणपतिले बताए ।

टुँडिखेल एकपछि अर्को गर्दै कब्जामा पर्न थालेपछि गत वर्ष कात्तिक २३ गते मानव साङ्ग्लोले घेर्दै ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको थियो । यही अभियानको दौरानमा अभियन्ताद्वय गणपति र सञ्जय अधिकारीले टुँडिखेलको नापी नक्सा जानकारी लिन थुप्रै पटक जनहित संरक्षण मञ्चबाट सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्दै सूचना माग गरे । तर मालपोत कार्यलय र नापी विभागले टुँडिखेलको कागजात सहजै दिएनन् । त्यसपछि हप्तौँ माथिल्लो पदका व्यक्तिदेखि तल्लो जिम्मेवार कर्मचारीलाई पुराना ढड्डा पल्टाउन लगाउँदै यसको क्षेत्रफल क-कसको नाममा छ र क-कसले उपभोग गर्दैछ भन्‍ने जानकारी पाएको गणपतिले जनाए । उनी भन्छन्, ‘अब नेपाली सेनाले कसरी/कहिलेबाट के-के प्रयोजनका लागि यो जग्गा हाल उपभोग गरिरहेको छन् ? सार्वजनिक हुनुपर्ने सरकारीकरण कसरी भयो ? त्यो हामी खोजी गर्दैछौँ ।’

डिल्लीबजारको भूमिसुधार तथा मालपोत कार्यालयले जनहित संरक्षण मञ्चलाई २०७६ फागनु ७ गते दिएको पत्रमा काठमाडौँ महानगरपालिका-३१ कित्ता नम्बर ८६३ मा रहेको ठूलो टुँडिखेलको विवरण भने यस कार्यालयको कम्प्युटरमा श्रेस्ता इन्ट्रि नदेखिएको व्यहोरा उल्लेख छ ।

त्यस्तै टुँडिखेल मात्रै नभई दशरथ रंगशाला, प्रदशनी स्थल लगायतलाई पनि मोही कायम गरी जग्गाधनी श्री ५ को सरकार र नेपाल सरकार उल्लेख गरिएको पत्रमा उल्लेख छ । मालपोत कार्यालयले मञ्चलाई दिएको पत्र नं ७२३२ का अनुसार काठमाडौँ महानगरपालिका वडा नं ११ को कित्ता नम्बर १९८ क्षेत्रफल क्रमशः ३७ रोपनी ९आना २पैसा जग्गा धनी राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर र मोही राष्ट्रिय खेलकुद परिषद्को नाउँमा मोठ कायम देखिएको छ ।

त्यस्तै महानगरपालिका-११ को कित्ता नम्बर २१६ क्षेत्रफल ६१रोपनी ५ आना २ पैसाको जग्गाधनी श्री ५ को सरकार र मोही दशरथ रंगशाला कायम देखिएको व्यहोरा छ । त्यस्तै, अर्को पत्रमा काठमाडौं महानगरपालिका-३१ कित्ता नं २०० को ६२ रोपनी १३ आना २ दाम २ पैसा जग्गा, कित्ता नं ५९६को ७ रोपनी ४ आना ३ दाम ३ पैसा जग्गा र कित्ता नं ५९८ को ४१ रोपनी २ आना १ दाम २ पैसा जग्गाको जग्गाधनी सार्वजनिक उद्यान तथा सभा गृह विकास समिति रहेको उल्लेख छ ।

पत्रमा काठमाडौं महानगरपालिका-३१ कित्ता नंम्बर १६२ क्षेत्रफल २१४ रोपनी १४ अना २ दाम जग्गाको धनी नेपाल सरकार र मोही प्रदर्शनी स्थललाई बनाएको उल्लेख छ । त्यस्तै काठमाडौं महानगरपालिका-३१ कित्ता नम्बर १३७३ क्षेत्रफल २३ रोपनी ५ आना ३ दाम १ पैसा जग्गाधनी काठमाडौं नगर पञ्चायतको नाउँमा मोठ कायम देखिएको उल्लेख छ ।

अधिवक्ता विकल प्रजापतिका अनुसार, व्यक्ति मात्रै मोही हुन सक्छ । तर टुँडिखेल, दशरथ रंगशाला र प्रदर्शनी स्थल मान्छे होइन । त्यसैले यसलाई मोही भनेर राखिनु अनौठो रहेको उनी बताउँछन् । ‘सरकारी/सार्वजनिक जग्गामा मोही लाग्दैन,’ उनले भने, ‘यदि कसैले यस्ता जग्गामा मोही दर्ता गरी ल्याए, स्वतः बदर हुन्छ । मालपोत कार्यालयले दर्ता बदर गर्न सक्छ । टुँडिखेल, रंगशाला र प्रदर्शनी स्थललाई पछि मोही बनाएको हुन सक्छ । यसबारे खोजी गर्नुपर्छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x