समाज

दाइजो उन्मूलन गर्न सामुहिक वैवाहिक कार्यक्रम

सुवास कर्ण |
फागुन १७, २०७७ सोमवार २१:० बजे

जनकपुरधाम : मधेशी समुदायमा व्याप्त रहेकाे दाइजो प्रथा उन्मूलन गर्ने उद्देश्यले महोत्तरीको पिपरा गाउँपालिकाद्वारा सामुहिक वैवाहिक कार्यक्रम गरेको छ ।मिथिला वैदिक परम्परा अनुसार साेमबार सम्पन्‍न वैवाहिक कार्यक्रममा उमेर पुगेका ७ जाेडीकाे विवाह सम्पन्‍न भएकाे हाे ।

गाउँपालिकास्थित एक विद्यालयमा भव्य समाराेहकाबीच आयोजित विवाह कार्यक्रममा दलित तथा गरिब विपन्‍न परिवारका ७ जोडीको विवाह सम्पन्‍न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिए । वैवाहिक कार्यक्रममा परम्परालाई ख्याल गर्दै हिन्दु वैदिक अनुसार मिथिला क्षेत्रमा प्रयाेग हुने सम्पूर्ण रितिरिवाज अपनाइएकाे थियाे ।  वधुकाे कन्यादान गाउँपालिका अध्यक्ष चौधरीले गरेका थिए । वरवधु जाेडीकाे लत्ता कपडा, मण्डप तथा पण्डाल सजावट, परम्परा अनुसार बेहुला पक्षबाट गएका जन्ती र बेहुली पक्षका व्यक्ति खानपिन अतिथी सत्कार लगायतकाे व्यवस्थापन गाउँपालिकाबाटै गरिएकाे थियाे ।


यसका साथै बधुकाे गरगहना र विवाहपछि विदाइमा दिइने दराज, पलंग लगायतका सामानहरुसमेत उपहार स्वरूप दिइएकाे अध्यक्ष चाैधरीले बताए । दाइजोप्रथाका कारण सबैभन्दा बढी पीडित आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्‍नहरुका छाेराछाेरीहरू विवाहमा कुनै समस्या नहाेस भन्‍ने उद्देश्यले कन्यादान योजना ल्याइएकाे र याे प्रत्येक वर्ष चलिरहने उनले बताए ।

उनले भने ‘यस वर्ष ७ जोडीको विवाह सम्पन्‍न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।’ सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्‍नु देवी दासले बताइन् । उनले जनाए अनुसार वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । यस अघि वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर विधिसमेत सम्पन्‍न भएको थियो । पिपरा गाउँपालिकाले दाइजो उन्मूलनका लागि ल्याएको यस कार्यक्रमबाट स्थानीयवासी समेत खुशी देखिएका थिए ।


Author

थप समाचार
x