समाज

मनोकामना पूरा गर्ने ‘आमा झ्योमो याङ्ग्री’ (फोटो फिचर)

सुनीता साखकर्मी |
फागुन २०, २०७७ बिहिवार ७:५३ बजे

सिन्धुपाल्चोक (हेलम्बु) : डाँडाकाँडाले भरिएको छ, सिन्धुपाल्चोक । हरेक डाँडाका आ-आफ्नै कहानी छन् । कुनै धार्मिक हिसाबले महत्वपूर्ण छन्, त कुनै प्राकृतिक । माथि-माथि जमेका गोसाँइकुण्ड होस् वा पाँच पोखरी । तिनको छातीलाई चिर्दै बेगबान बग्‍ने भोटेकोशी, सुनकोशी वा मेलम्ची । प्रायः सबै प्रख्यात छन् । अग्ला-अग्ला हिम शृङ्खलाको साहसिक यात्राका लागि पनि सिन्धुपाल्चोक उत्तिकै महत्वपूर्ण र रोचक छ ।


यस्तै महत्वपूर्ण डाँडाहरूमध्ये एक हो, आमा झ्योमो याङ्ग्री शिखर । काठमाडौँबाट नजिकै रहेको यो शिखर पछिल्लोसमय धार्मिक रूपमा मात्रै नभई पर्यटकीय क्षेत्रको रूपमा समेत प्रख्यात छ । हेलम्बुको तिम्बुबाट तार्केघ्याङ हुँदै झोमुथाङ पुगिन्‍छ । झोमुथाङसम्म गाडी जाने बाटो छ । त्यहाँबाट भने आमा याङ्ग्रीसम्म पुग्‍न हिँड्नै पर्छ ।

छिटो हिड्नेहरू एक घण्टामा पुग्छन् भने ढिलामा तीन घण्टासम्म लाग्न सक्छ । पात झरेर उजाड बनेका रुखहरूमा उम्रिएका झारहरूले रुखलाई हरियो देखाउँछ । ओसिलो ठाउँमा दुई हप्ताअघि परेका हिउँका अंशहरू बाँकी छन् । थोरै जंगलको बाटो हिँडेपछि पङ्गस्होले पुगिन्‍छ । त्यहाँबाट आमा याङ्ग्रीको निर्माणधिन मन्दिरको टुप्पो देखिन्‍छ । केही मिनेटको गोरेटोबाटो हिँडेपछि आमा याङ्ग्रीको शिखरमा पुगिन्‍छ । मौसम खुल्ला भएको बेला शिखरबाट विभिन्‍न हिमाल श्रृखला देख्‍न सकिन्‍छ । बौद्ध गुरु जेत्सुन मिलारेपा, गुरु पद्म सम्भवले ध्यान गरेका डाँडाहरूमध्ये आमा झ्योमो याङ्ग्री पनि एक रहेको स्थानीयहरू बताउँछन् ।

जे माग्यो त्यही पूरा हुने विश्वास 
शिखरको नामै- आमा झ्योमो याङ्ग्री । आमा जति सरल र मायालु हुन्‍छिन्, त्यस्तै छ यो शिखर पनि । स्थानीय त यसलाई दयालु शिखर पनि भन्‍छन् । जे माग्यो, त्यही पाइने विश्वासले यहाँ टाढा-टाढाबाट दर्शनार्थीहरू आइपुग्छन् । केही दिनअघि १८ जनाको टोली यो शिखरतर्फ प्रस्थान गरिरहेका थिए । सोही टोलीमा थिए, ७३ वर्षीय छोमा रग्मी पनि । उनी युवा जोश निकालेर  शिखर चढ्दै थिए ।

जति-जति माथि उक्लिँदै गयो, उति-उति उनको धड्कनको गति तीब्र हुँदै थियो । तर, उनी उत्तिकै जोशिला र फुर्तिला देखिन्थे । उनी आमा याङ्ग्रीसँग केही कुरा माग्न आएका थिए । ‘म यहाँ मनको शान्ति माग्न आएको हुँ,’ उनी भन्‍छन्, ‘बुढेसकालमा चाहिने नै मनको शान्ति रहेछ । जति बाँचिन्‍छ त्यति धर्ममा ध्यान जाओस् । अरुलाई सहयोग गर्न पाइयोस् ।’

उनकै टोलीमा आएकी एक महिला पनि आमा याङ्ग्रीमा जे माग्यो त्यही पूरा हुने विश्वासले शिखर चढ्न आएको सुनाउँछिन् । भन्‍छिन्, ‘निकै गाह्रोसँग आइयो । अब मागेको कुरा पुग्ला नि !’

इस्ट देवता 
आचार्य कर्मा रिगजिन शेर्पाका अनुसार आमायाङ्ग्रीलाई बुद्ध धर्मालम्बीहरूको इस्ट देवता वा कुल देवताको रुपमा लिइन्‍छ । उनका अनुसार एकै जन्ममा बुद्धत्व प्राप्त गरेका जेत्सुन मिलारेपाको इस्ट देव छिरिङ छेङा हो । आमा याङ्ग्री चाहिँ छिरिङ छेङाको एउटा महत्वपूर्ण हिस्सा हो । ‘यो तीर्थयात्रा गर्दा नकारात्मक कुराहरू हट्ने विश्वास छ,’ उनी भन्‍छन्, ‘इस्टदेवलाई हृदयदेखि कामना गरेमा मनोकाङ्छा पूरा हुन्‍छ भन्‍ने गरिन्‍छ ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x