समाज

त्यो सेर्माथाङ, यो सेर्माथाङ

सुनीता साखकर्मी |
फागुन २३, २०७७ आइतबार १३:२१ बजे

सिन्धुपाल्‍चोक (हेलम्बु) : ठाउँ उही हो, मान्‍छे उनै हुन् । तर दृश्य उस्तै रहेन । हेलम्बुको सेर्माथाङ पुग्‍ने प्राय पर्यटक अचेल यस्तै महशुस गर्छन् । ह्योल्मो समुदाय बस्ने यो ठाउँबाट ढुंगामाटोले बनेका परम्परागत ‘म्हेच्र्याकुमा’ घर अचेल हराएका छन् । कलात्मक बुट्टाहरू कुँदिएका तीन खापाको ‘नाम्ग्यल घोसुम’ झ्यालढोका छैनन् ।

पहिलाको सेर्माथाङ ।


२०७२ बैशाख १२ आएको भुकम्पले सेर्माथाङको दृश्य परिवर्तन भएको छ । ‘म्हेच्र्याकुमा’ शैलीका घरको ठाउँमा आरसिसी भवन ठडिन थालेका छन् । तीन खापाको ‘नाम्ग्यल घोसुम’ झ्यालको ठाउँमा आल्मुनियमा झ्यालढोका छन् ।

पहिलाको सेर्माथाङ ।

यसरी ह्योल्मोको ‘म्हेच्र्या कुर्मा’ शैलीको घरको सट्टा अन्य शैलीको घरहरू बनाउने वातावरणीय एवं सुरक्षाका दृष्टिले काठको फल्याक र ढुङ्गाको सट्टा आधुनिक जस्ताले छाउने अनि पुराना सामग्रीहरूको सट्टा आधुनिक सामग्रीहरूको बढ्दो प्रयोगले ह्योल्मोहरूले आफ्नो मौलिकताका सँगै घरको सौन्दर्य पनि गुमाउन पुगेका छन् ।

पहिलाको सेर्माथाङ ।

यो त बाहिर देखिने भयो, तर नदेखिने स-साना कुराहरू सेर्माथाङबाट हराउँदै गएको साङाग फिन्चोक उर्गेन छ्योलिङ गुम्बाका निवर्तमान अध्यक्ष एवं संस्कृतिविद् टासी दोङबा ह्योल्मो बताउँछन् । ‘विगतमा ह्योल्मो समुदायले आफ्नो विशेष अवसरमा कलात्मक काठको भाँडाकुँडा एवं पित्तल, तामा आदि धातुबाट परम्परागत शैलीमा निर्माण गरिएका भाँडा वर्तनहरू प्रयोग गर्थे,’ उनी भन्‍छन्, ‘तर हाल आएर सरल अनि टिकाउपनाका दृष्टिले यस्ता भाँडावर्तनहरूको प्रयोगमा कमी आएको छ । यसले गर्दा यस्ता परम्परागत शैलीका धाम्बे, फर्को, स्हाङ, विसौली आदि पुराना शेलीका सामग्रीहरू अहिले कमै घरहरूमा मात्र पाइन्‍छ ।’

पहिलाको सेर्माथाङ ।

उनका अनुसार कोठाको फल्याक साथै बरण्डा एवं झ्याल ढोकाहरूमा हरियो तितेपातीलाई पानीमा हल्का भिजाएर पुछ्ने चलन थियो । यसरी पुछेको तितेपातीको बास्नाले घरको काठहरूलाई किराहरूले खानबाट जोगाउँछ भने कोठाको फल्याक, झ्याल र ढोकाहरू चिप्लो र सफा देखिन्‍छन् ।

पहिलाको सेर्माथाङ ।

ह्योल्मो घरको माथिल्लो तलाको कोठा नै मुख्य भएकाले यसै कोठामा सजावटका विशेष आकर्षक देखिन्‍छन् । कोठाको एक कुनादेखि अर्काे कुनासम्म मिलाएर राखिने बुट्टा कुँदेर बनाएको काठको ठूलो-ठुलो र्‍याकहरू राखिन्‍छन् । जसलाई ‘छ्येटी बक्सी’(पुजा गर्न विशेष तरिकाबाट बनाएको दराज), ‘कायुल बक्सी’ (कप थाल आदि राख्‍ने विशेष तरिकाबाट बनाएको दराज), ‘नेसा भङा’ (तल्लो भागमा अन्‍न राख्‍ने र माथिल्लोमा भाँडाकुँडा आदि राख्‍न विशेष तरिकाबाट बनाएको दराज), ‘क्याङजाङ बक्सी’ (अन्‍न भण्डारका लागि विशेष तरिकाबाट बनाएको बाकस) आदि नाम दिइएको पाइन्‍छ । तर यो पनि विस्तारै हराउँदै जाने हो कि भन्‍ने चिन्ता बेलाबेला टासीलाई लाग्‍ने गर्छ ।

पहिलाको सेर्माथाङ ।

उनी भन्‍छन्, ‘पुर्खाहरूको कलात्मक सिर्जनालाई बचाइ राख्‍न परम्परागत शैलीका घर तथा घरायसी सामग्रीहरूको संरक्षण गर्नेतिर सामाजलाई सजग पार्न आवश्यक छ ।’

समृद्ध इतिहास 
ह्योल्मो आदिवासी जनजातिहरू भूमिपुत्रको रुपमा सदियौँदेखि ह्योल्मो (हेलम्बु) क्षेत्रमा बसोबास गर्दै आएका छन् । ह्योल्मो क्षेत्रले सिन्धुपाल्चोकको उत्तर-पश्चिम भेग, नुवाकोट जिल्लाको माथिल्लो पूर्वी-उत्तरी भेग तथा रसुवा जिल्लाको पूर्वी-दक्षिण भेगको क्षेत्रलाई ओगटेको छ । नेपालको सामाजिक भूबनोटमा जनजातिहरू मध्येको ह्योल्मो आदिवासी भाषा, परम्परा, संस्कृति, भेषभूषा, कला आदिको विशिष्टताले गर्दा नै ह्योल्मो जातिहरूले आज आफ्नो छुट्टै पहिचान सहितको अस्तित्व कायम गर्न सफल भएको छ ।

भूकम्पले ध्वस्त सेर्माथाङ ।

ईसाको ८ औं शताब्दीताका नेपालको सिन्धुपाल्चोक, नुवाकोट तथा रसुवा जिल्लाका ह्योलमो हिमश्रृंखलाको हिमाली उपत्यकाहरूमा ह्योल्मो सभ्यताको विकास भएको थियो । बौद्ध धर्म सम्प्रदायका समुदाय रहेको ह्योल्मो जातिको ऐतिहासिक पृष्ठभूमि अध्ययन गर्दा यस ठाउँको ह्योल्मो नामकरण यहाँको भौगोलिक स्वरुपता तथा यस क्षेत्रको मुख्य संरक्षक देवीको नामको आधारमा राखिएको तथ्यहरू फेला पार्न सकिन्‍छ ।

भूकम्पले ध्वस्त सेर्माथाङ ।

शाक्यमुनी गौतमबुद्धले अवतंशक सूत्रमा वर्णन गर्दै भविष्यवाणी गरे अनुसार आठौँ शताब्दीमा गुरु पद्म सम्भव (गुरु रिम्पोेछे) ह्योल्मो क्षेत्रमा आइ तपस्या गरेको पवित्र तथा पुण्य स्थल हो । साथै ११ औँ शताब्दीमा तिब्बतको महायोगी मिलारेपा पनि आई ह्योल्मो भूमिको ताक्फुग् सिंगी जोङमा तपस्या गरेको थियो ।

भूकम्पले ध्वस्त सेर्माथाङ ।

ह्योल्मो शब्दको अर्थ स्थानीय भाषा अनुसार ह्योल र मो मिली बनेको छ । जस अनुसार ह्योलको अर्थ भिरालो हुँदै बगेर गएको भूमि र मो को अर्थ शक्ति सम्पन्‍न संरक्षक देवीको रुपमा बुझिन्‍छ । अर्थात् भिरालो हुँदै बगेर गएको पवित्र हिमाली भूमिको संरक्षकको रुपमा करुणामयी आमा झ्योमो याङ्ग्री देवी विराजमा छिन् ।

भूकम्पले ध्वस्त सेर्माथाङ ।

यस क्षेत्रलाई हिमाली श्रृंखलाको पवित्र उपत्यका ह्योल्मो घाङ्रा को रुपमा पनि विविध धर्म ग्रन्थहरूमा नामाकरण भएको पाइन्‍छ । बौद्ध धर्मका एक प्रमुख देव तथा ङिङ्मा सम्प्रदायका प्रवद्र्धक महागुरु गुरु रिम्पोछेले यहाँका हिमाली गुफाहरूमा ध्यान, तपस्या गर्नुका साथै भविश्यका निम्ति भनेर आफ्ना धार्मिक महत्वका महत्वपूर्ण पवित्र पुस्तकहरूको साथै अमूल्य निधि (तेर)हरू ह्योल्मो क्षेत्रमा लुकाएर राखिएको यहाँका पवित्र बौद्ध धार्मिक पुस्तकहरूमा उल्लेख गरिएको पाइन्‍छ ।

भूकम्पले ध्वस्त सेर्माथाङ ।

पहिचान गुम्‍ने चिन्ता 
२०७२ बैशाखमा गएको विनाशकारी भुकम्पले यहाँ मानवीय क्षति हुनुका साथै भौतिक क्षति भयो । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा नष्ट भै समाजमा त्रास र चिन्ताको वातावरण व्याप्त भयो ।

अहिलेको सेर्माथाङ ।

त्यसकारण केन्द्रीय आयोजना इकाईबाट ह्योल्मो फाउन्डेशन नामक संस्थाले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं २ स्यामेखर्का गाउँमा ह्योल्मो गाउँ पुन निर्माण परियोजना सञ्चालन गर्न २०७४ असार १३ गते स्वीकृत गरिएको ‘म्हेच्र्याकुमा’ एसएमसी तथा ‘म्हेच्र्याकुमा’ आरसीसी आवासिय भवनहरू निर्माण गर्न उपयुक्त भएको भन्दै राष्ट्रिय पुन निर्माण प्राधिकरणलाई पत्र काटेको थियो ।

अहिलेको सेर्माथाङ ।

त्यस्तै २०७४ भदौ २६ गते प्राधिकरणले इकाइको पत्र अनुसार स्विर्कति दिएको जनाउँदै ह्योलमो फाउन्डेशनलाई पत्र पठाएको थियो । तर ह्योल्मो समुदायका भुकम्पले भत्किएका परम्परागत घरहरू यो शैलीमा बनेनन् । स्थानीयले सहर बजारका जस्ता घर बनाए । ह्योल्मो आदिवासी जनजातिहरूमा आफ्नो जातीय पहिचानबारे जानकारी कम भएको कारण यस्तो समस्या आएको संस्कृतिविद् टासी बताउँछन् ।

अहिलेको सेर्माथाङ ।

‘आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, धर्म, परम्परा तथा भेषभूषा भएपनि यसको महत्वबारे जानकारी भएन । चेतना पनि नआएको कारण उनीहरूको भूमि माथिको हक, प्राकृतिक सम्पदामाथिको हक तथा अधिकार आदि विषयमा ज्ञान नभई राज्य तथा अन्य व्यापारिक फाइदाको लागि कार्य गर्ने संघ संस्थाहरूले ह्योल्मो आदिवासी जनजातिहरू माथि शोषण गरिरहेको छ,’ उनी भन्‍छन्, ‘बिगतका करीब ३०-३५ बर्षको दौरानमा ह्योल्मो आदिवासी जनजातिहरू कामको खोजीमा आफ्नो पितृ भूमिबाट शहरी तथा अन्य क्षेत्रहरूमा बसाइँसराइँ गर्दै गएको र धेरै विदेशीएको कारण उनीहरूको सन्तानहरूले आफ्ना मौलिक भाषा बिर्सिन थालेका छन् । जस्ले गर्दा ह्योल्मो जनजातिका अति विशिष्ट भाषा लोप हुने स्थितिमा पुग्‍न थालेकोले ह्योल्मो भाषा ठूलो संकटबाट गुज्रिएको छ ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x