समाज

सुरु भयो 'कर्णाली उत्सव'

इकागज |
फागुन २६, २०७७ बुधबार १९:५० बजे

तस्बिर : सृजना खड्का/इकागज

सुर्खेत : कर्णाली उत्सव ‘...कुडा कर्णालीका’ को देस्रो संस्करण आजबाट सुरु भएको छ । वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सुरु भएको उत्सवमा २७ गतेदेखि २९ गतेसम्म विभिन्‍न सत्रहरु सञ्‍चालन हुनेछन् । उत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रम सफलताको शुभकामना दिए । कर्णालीको कला, संस्कृति, भाषा र इतिहासको बहस गर्न यस्ता कार्यक्रम जरुरी भएको उनले बताए । ‘पुर्खाले बाँचेको जीवन नयाँ पुस्तामा बुझाउनु जरुरी छ,’ उनले भने, ‘हामी इतिहासलाई बिर्सिएर वर्तमानमा बाँच्‍न सक्दैनौँ ।’

बिहीबार उत्सवमा पाँच वटा सत्र राखिएका छन् । पहिलो सत्रमा ‘बाडो, थाडो र ओटालो’मा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाय, समाजशास्त्री डा. टीकाराम गौतम र अध्येता गोविन्द नेपालीले बहस गर्दैछन् । यसलाई सञ्‍चारकर्मी दीपा दाहालले सहजीकरण गर्नेछिन् ।  ‘छाउ र भाउ’ नामक सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी बिन्दा पाण्डे र बालरोग विशेषज्ञ डा. नवराज केसीले आफ्ना विचार राख्‍नेछन् ।


‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रंगकर्मी हीरा बिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतम रहेका छन् । उनीहरूलाई सञ्‍चनरकर्मी भूपेन्द्र खड्काले सहजीकरण गर्नेछन् ।

‘कहरी सुकालो होला, कइले जाला कैठ ?’ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारी, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. दुर्गा थापासँग लेखक माधव चौलागाइँले बहस गर्नेछन्।

‘हाट जान्या, भोट जान्या’ सत्रमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, डोल्पाका समाजसेवी धनबहादुर बुढाथोकी र मानवशास्त्री जनक राईसँग पत्रकार नगेन्द्र उपाध्यायले बहस गर्नेछन्। त्यस्तै, बिहीबारको ‘कर्णाली घुमाउरो पड्यो,' ‘पड्नु पड्डो छ : साक्षर, शिक्षित र प्राज्ञिक कर्णाली,' प्राङ्गारीक प्रयास, ‘पुईँसाका कुडा, थैलीदेखि बैंकसम्म,' ‘कर्णाली, प्रणाली’ शीर्षकका सत्रमा छलफल हुनेछन् । अन्तिम दिन ‘पश्‍चिममा प्रशासक, पश्चिमका प्रशासक,' ‘सरकारी गैरसरकारी,' ‘लोकतन्त्रको लय’ ‘मुख्य माण्ठ, मूल कुडा’ जस्ता शिर्षकमा छलफल हुनेछन् ।


Author

थप समाचार
x