समाज

‘आमाको ‘अ’लाई अर्थतन्त्रको ‘अ’सँग जोडौँ’

इकागज |
फागुन २७, २०७७ बिहीबार १६:२५ बजे

सुर्खेत : वीरेन्द्रनगरस्थित बुलबुले उद्यान भइरहेको कर्णाली उत्सव ‘...कुडा कर्णाली’को देस्रो संस्करणको दोस्रो दिन ‘छाउ र भाउ’ शिर्षकमा बहस भएको छ । यस छलफलमा कर्णालीका महिला, महिनावारी र बालबालिको विषयमा बहस भएको छ । लेखक राधा पौडेल, राजनीतिकर्मी विन्दा पाण्डे र बालरोग विशेषज्ञ डा.नवराज केसी र अधिकारकर्मी गमता बिकले यस सत्रमा विचार राखेका छन् ।

छलफलमा अधिकारकर्मी बिकले आफ्नो महिनावारी र सुत्केरी अवस्थाको अनुभव सुनाइन् । ‘१९ वर्षमा लछारपछार गर्दै बिहे गरिदिए,’ उनले भनिन्, ‘आइरन चक्कीको सट्टा ढुङ्गा खाएर बच्चा जन्माइयो । त्यो बेलामा छाउ र सुत्केरी हुँदा आराम चाहिन्छ भन्‍ने नै थाहा थिएन । बच्चा जन्मिएको दुईतीन दिनमै घाँस दाउरा गर्न हिँडिन्थ्यो ।’


महिनावारी हुँदा आफूले छोएको फुल फुलेर फल लाग्‍न थालेपछि उनले महिनावारी बार्न छाडेको बताइन् । ‘यसरी आफूजस्तै २० जना साथी मिलाएर आमा समूह बनाए,’ उनले भनिन्, ‘हामीले छाउ भत्काएर ट्‍वाइलेट बनाउन सुरु गर्‍यौँ । तर, अहिले पनि नीतिमा विभेद नगर्नू भनेपनि व्यवहारमा कार्यान्वयन भने भएको छैन ।’ महिलाहरू पछि पर्नुमा उनी आर्थिक अवस्था मुख्य कारण मान्छिन् । 

बालरोग विशेषज्ञ डा.नवराज केसीले कर्णालीमा बालबालिका मात्रै नभएर आमा पनि कुपोषित भएको बताए । ‘कर्णालीमा ४० प्रतिशत बालबालिका कुपोषित छन्,’ उनले भने, ‘बालबालिकासँगै आमाहरू पनि कुपोषित छन् । उहाँका ९२.५ प्रतिशत महिलाहरूको नाममा जग्गा छैन । ४१.५ प्रतिशत महिलाहरु अशिक्षित छन् । यसको असर बालबालिकामा देखिने गर्छ ।’ जबसम्म आमाको ‘अ’ लाई अर्थतन्त्रको ‘अ’सँग जोड्न सकिदैन तबसम्म देश जहाँको त्यहीँ  रहने तर्क उनले राखे ।
 
लेखक राधा पौडेलले अक्षर र भाषणमा महिला सशक्तिकरणको भए पनि व्यवहारमा उनीहरूलाई पशु समान व्यवहार गरिने बताइन् । ‘जबसम्म महिनावारी विभेदलाई वार्ता गर्दैनौँ तबसम्म केही हुँदैन,’ उनले भनिन्, ‘समाजले छोरीहरुलाई शक्तिविहिन छोरालाई शक्तिशाली बनाउँछ । तर, अब प्रश्‍न गर्नुपर्छ । प्रश्न गर्ने पहिलो थलो घर हो । आज आफ्नो परिवारमा प्रश्न गर्न नसक्ने छोरीले भोलि श्रीमान र समाजसँग प्रश्‍न गर्न सक्दिनन् ।’

राजनीतिकर्मी विन्दा पाण्डेले कर्णाली श्रोत नभएर भन्दा पनि व्यवस्थापन नभएर गरिब भएको बताइन् । अबको दिनमा देशलाई समृद्ध बनाउन सबैभन्दा पहिला आमालाई समृद्ध बनाउनुपर्ने विचार उनले राखिन् ।


Author

थप समाचार
x