समाज

सकियो कर्णाली उत्सव

अन्तिम दिन ४ शीर्षकमा छलफल

सृजना खड्का |
फागुन २९, २०७७ शनिबार २०:५३ बजे

सुर्खेतः वीरेन्द्रनगरको बुलबुले उद्यानमा बुधबारबाट सुरु भएको कर्णाली उत्सव शनिबार समापन भएको छ । अन्तिम दिन ‘पश्‍चिममा प्रशासक, पश्‍चिमका प्रशासक’, ‘सरकारी गैरसरकारी’, ‘लोकतन्त्रको लय’, मुख्य मान्ठ, मूल कुडा’ शिर्षकमा छलफल भए ।
 
मुख्य मान्ठ, मूल कुडा शिर्षकमा  प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले ७० प्रतिशत बजेट केन्द्रले राख्‍ने र बाँकी ३० प्रतिशत स्थानीय र प्रदेश सरकारलाई बाँढिने भएकाले देशको विकास हुन नसकेको बताए । ‘कर्णाली र प्रदेश २ लाई सधैँ पछि पारिएको छ,’ उनले भने, ‘७० प्रतिशत बजेट केन्द्रले आफूसँग राख्छ । १५/१५ प्रतिशत स्थानीय र प्रदेश सरकारलाई दिन्छ । यसरी कसरी आउँछ समृद्धि ?’ व्यवस्था बदलियो, पात्र बदलिए तर, काम गर्ने प्रवृति बदलिन नसकेको उनले बताए ।
 
संघीयता कुनै जादुको छडी होइन भन्दै उनले भने, ‘संघियता भर्खरै जन्मिएको बच्चा हो । त्यसलाई बढी केयर चाहिन्छ । तर,  नेतृत्वका लागि संघियता ‘अनवान्टेड बेबी’ जस्तै भएको छ । सिंहदबारले नै प्रदेशलाई भेदभाव गरेको छ ।

कार्यक्रमको अर्को सत्रमा पश्‍चिममा प्रशासक, पश्‍चिमका प्रशासक शिर्षकमा छलफल भयो । छलफलमा कर्णाली प्रदेश सरकारका पूर्व प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णालीप्रतिको आफ्नो अनुभव सुनाए । ‘सिंहदरबारबाट हेर्दा यो भूमि पछि परेको जस्तो लागेको थियो,’ उनले भने, ‘तर, यहाँ आएर हेर्दा कर्णाली पछि परेको होइन पछि पारिएको रहेछ ।
 
जुम्लाकी पूर्वजील्ला अधिकारी दुर्गा बन्जाडेले कुनैपनि प्रशासकले समुदायमा राम्रो काम गर्न  मानिसको हृदयमा पुग्‍नुपर्ने बताइन् । ‘म जुम्ला जाँदा धेरैले किन गएको भनेर भनेर सोधे,’ उनले भनिन्, ‘महिला सीडीओको रुपमा जाँदा मलाई विश्‍वास गर्न पनि गाह्रो माने । तर, मेरो कामले मैले सबैको हृदयमा बस्‍न सफल भएँ ।’


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जनताको नजिकको सरकार स्थानिय सरकार भएकाले दूरीको हिसावले टाढाको सरकारभन्दा आफूहरूबाट मानिसहरूले अपेक्षा गर्ने गरेको बताए ।
 
‘लोकतन्त्रको लय’ शिर्षकमा बहस गर्दै पत्रकार अमित ढकालले कर्णालीमा मात्रै नभएर देशमै लोकतन्त्र नआएको बताए । ‘यो मुलुकमा लोकतन्त्र नै आएको छैन,’ उनले भने, ‘ कर्णालीका जनतालाई मात्र होइन नपाली जनतालाई नै लोकतन्त्र आएको छैन । लोकतन्त्रको यात्रा नै सुरु भएको छैन ।’

त्यस्तै, प्रतिनिधी सभा सदस्य पार्वती विसुन्केले जसलाई लोकतन्त्रले छुनुपर्ने हो उनीहरूलाई लोकतन्त्रले नछोएको बताइन् । रंगकर्मी घिमिरे युवराजले शक्तामा बस्नेहरूले राज्यको स्रोत आफ्नो बिलासिताको लागि मात्रै खर्च गरेको गुनासो गरे भने अभियन्ता रिता परियारले राजनीतिलाई फोहोर गेम भनेर नपन्छि त्यसलाई सफा गर्नतिर लाग्‍न युवाहरूलाई आग्रह गरिन् ।
 
सरकारी गैरसरकारीसंस्थाको भूमिका र चुनौतिबारे ‘सरकारी गैरसरकारी’ सत्रमा छलफल भयो ।  छलफलमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावल, प्रदेश-२ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष सुमित्रा शर्मा र समृद्धि फाउन्डेसनका निर्देशक दिपेन्द्र चौलागाइले आफ्ना विचार प्रस्तुत गरे ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x