प्रमुख समाचार

पुर्णागिरी शहरी खानेपानी आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता

पुर्णागिरी-शहरी-खानेपानी

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:४ बजे

काठमाडौँ – कञ्चनपुरस्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँ लगानीका लागि ऋण सम्झौता भएको हो ।

एशियाली विकास बैंकको वित्तीय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत आयोजनाका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष देवेन्द्रराज ढुङ्गानाबीच आइतबार ऋण सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टकोसमेत उपस्थिति थियो ।

२१ करोड २८ लाख ४८ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत १४ करोड ८९ लाख ९३ हजार र नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ५ करोड ३२ लाख १२ हजार लगानी हुने छ । साथै उपभोक्ताको तर्फबाट ५ प्रतिशत अर्थात १ करोड ६ लाख ४२ हजार व्यहोरिनेछ ।

भिमदत्त नगरपालिकाको वडा नम्बर ६ र ७ मा सेवा समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा २ हजार ८ सय ५८ घरधुरीका १६ हजार ४ सय ७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष ढुंगानाबाट वर्षौदेखि शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि आयोजना महत्वपूर्ण हुने भन्दै गुणस्तरीयरूपमा सयममा सम्पन्न गर्नेतर्फ प्रतिवद्धता व्यक्त गरे।

सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका भिमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले सुरक्षित र सर्वसुलभ खानेपानीको उपलब्धता दिगो विकास लक्ष्यसंग समेत जोडिएको बताए। उनले आयोजनालाई सफल बनाउन नगरपालिकाबाट प्राविधिक, व्यवस्थापकीय लगायतका पक्षबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले राम्रा पूर्वाधारयुक्त शहरहरूमा जनसंख्याको चाप बढ्दै गइरहेकाले खानेपानीका ठूला आयोजनाले शहरीकरणमा महत्वूर्ण भूमिका खेल्ने बताए । त्यसका लागि आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्ने र स्रोत विस्तारतर्फ समेत ध्यान केन्द्रित गर्नु पर्ने कार्यकारी निर्देशक सापकोटाले बताए ।

उनले भिमदत्त नगरपालिका र कोषको सहकार्य लामो समयदेखि हुँदै आएको भन्दै नगरपालिकासंग सार्वजनिक निजी अवधारणामा भिमदत्त कंचन मल (व्यावसायिक भवन) आयोजना अगाडि बढिरहेकोमा समेत खुशी व्यक्त गरे ।



Author

थप समाचार
x