समाज

अरनिको स्मृति दिवस : अरनिकोबारे धेरै खोज जरुरी छ

इकागज |
फागुन २७, २०७८ शुक्रबार २१:५७ बजे

काठमाडाैँ – ललितकला क्षेत्रका विज्ञ तथा अग्रज कलाकारहरुले राष्ट्रिय विभूति अरनिकोका बारेमा धेरै खोज तथा अनुसन्धान जरुरी रहेको बताएका छन् ।

उनको आकृतिकै बारेमा पनि कलाकारले कल्पनाका आधारमा बनाउने गरेकाले यही नै मुहार हो भन्न सकिने अवस्था छैन । जन्मस्थान लगायतका धेरै गतिविधि अझै पनि यकिन भन्न सकिने अवस्था छैन । यद्यपि केही कुराहरु भने बाहिर आएका छन् । 


कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको । कतिपयले उनको जन्म पाटनमा भएको उल्लेख गरेका छन् । 

अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ (कसैकसैले १२४४ भन्ने गरेका) मा पाटनमा जन्मिएका थिए भन्ने छ । मृत्यु भने १३०६ मा भएको थियो । पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको कलाकारहरु स्मरण गर्छन् । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्छन्, “अरनिकोलाई चिन्ने कसरी ? उहाँको चित्र कल्पनामा मात्रै बनाउन सक्छौँ, प्रतिभालाई ध्यानमा राखेर  सिर्जना गर्नु परिसकेको छ ।” उनले अरनिकोका बारेमा धेरै खोज जरुरी रहेको पनि औँल्याए ।

विगतमा हुलाक टिकटमा राख्ने चित्र बनाउँदा पनि वर्तमान परिवेशमा चिन्न सक्ने गरी बनाएको उनले स्मरण गरे । अरनिकोको विषयमा धेरै मानिस अनभिज्ञ रहेको उल्लेख गर्दै कला क्षेत्रका एक अध्येता सञ्जय शाक्य धेरै अध्ययन अनुसन्धान गर्न बाँकी नै रहेको बताउँछन् । 

आज मार्च ११ अर्थात् अरनिको स्मृति दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँको सम्झनामा विशेष कार्यक्रम आयोजना गरी स्मरण गरेको छ । सोही अवसरमा आजदेखि पाँचदिने परम्परागत हस्तकला प्रदर्शनीसमेत सुरु भएको छ ।
 
अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रविन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए । 

नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा भएको आजको उक्त कार्यक्रमका संयोजक धर्मराज शाक्यले अब प्रतिष्ठानबाट अरनिकोका बारेमा थप अध्ययन र अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाए । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले आज नेपालीहरुले गौरव गर्ने दिन भएको उल्लेख गर्दै जसरी सगरमाथा, वीर गोर्खाली र बुद्ध जन्मेको देश भनेर गर्व गरिन्छ, त्यसरी अरनिको जन्मेको देश भनेर गर्व नगर्नु दुःखद भएकाे बताए ।

कलाकार कालु कुमालेको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष राजमान बज्राचार्य, प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरे लगायतले अरनिकोका विषयमा धारणा राखेका थिए ।

प्रतिष्ठानले अरनिको स्मृति दिवसका अवसरमा आज कलाकार कुमालेलाई सम्मान गरेको छ । नेपाली ललितकलाको क्षेत्रमा उहाँले गरेको योगदानको स्मरण गर्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । 


Author

थप समाचार
x