समाज

४ महिनामा एक लाख विद्युतीय पासपोर्ट वितरण

अनलाइनबाट समय बुक गरेपनि लाइन नै राेज्छन् सेवाग्राही

अतिन आचार्य |
फागुन ३०, २०७८ सोमबार १८:२७ बजे

काठमाडौँ- त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा झापाका वीरबहादुर लिम्बु भेटिए । उनी बिहान ७ बजे पुगेका थिए । लाइन बसेको ४ घण्टामा राहदानीको आवेदन बुझाउने समय पाएका छैनन् ।

विद्युतीय राहदानी बनाउन उनी काठमाडौँ आएको दुई दिन भइ सकेको छ । विभागमा पहिलोपटक आएका लिम्बुले भीडभाड देखेर समयमा राहदानी पाउने आशा मारिसकेका छन् ।


'यतिका धेरै भीडभाड छ । कहिले तलको कोठा-कहिले माथि कोठा पठाउने गर्छन,' लिम्बु भन्छन्,' कहिले कागजपत्रमा नम्बर मिलेन भन्छन् । फेरि तपाईंको मोबाइलमा नम्बर आउँने भनेर भन्छन् केही बुझ्न सकिएको छैन ।'

वीरबहादुरले अनलाइनबाट राहदानीका लागि इनराेलमेन्ट गरेका थिए । फर्मको प्रक्रिया पूरा भए पनि कार्यालयका कर्मचारीले पुनः बोलाएर दुःख दिएको उनले बताए ।

कार्यालय भित्रका प्रहरीले घरि यता घरि उता दपेट्छन् । लाइनमा बसेका प्रहरीले लाठ्ठी देखाएर त्रसाउँछन् । गेटदेखि प्रहरीको सामना गर्नुपरेको उनको भनाइ छ । 'यति काम लागि जिल्लाबाट पनि हुन्थ्यो,' परिसरको भुईँमा बसेका उनले भने,' राहदानी भन्दा पनि अहिले प्रहरीको हप्की खाइएको छ । एमआरपी बनाउँदा यति धेरै दुःख पाएको थिइन् ।'

फोटो खिच्‍न अझै बाँकी रहेकाले आजै पालो नपाइने उनको भनाइ छ । साँझसम्म पालो नपाएमा अझै कति दिनसम्म विभागमा धाइरहनु पर्ने हो उनले थाहा नभएको बताए ।

काठमाडौँबाट छिटो पासपोर्ट बन्ने सुनेकाले उनी जिल्लाबाट पाउने सुविधा त्यागेर आएका हुन् । विभागले ५८ जिल्लाबाट विद्युतीय राहदानीको इनराेलमेन्ट सेवा बिस्तार गरिसकेको छ । मधेस प्रदेशको सबै जिल्लाबाट सेवा बिस्तार सुरु भइसकेको छ ।

राहदानी बनाएर कतार जाने तयारीमा रहेको वीरबहादुर सुनाउँछन् । साथीको कम्पनीमा बोलाएकाले राहदानी बनाएर पेश गर्ने योजनामा उनी छन् । जिल्लाबाट उनले राहदानी बनाउन २० हजार लिएर आएका थिए । 'होटलमा बसेकाले खर्च पनि सकिँदै गएको छ,' उनले भने,' खाजा मात्र खाएर आएको पानी पिउँदै बसेको छु ।'

दाङका विदुर भट्टराईको पनि लिम्बुको जस्तै समस्या छ । पासपोर्टको मिति सकिएकाले नयाँ बनाउन काठमाडौं आएका हुन् । तर, सात दिन बित्दा पनि तर उनको बन्न सकेको छैन ।

सोमबार मध्यान्ह उनी राहदानी विभागको लाइनमा थिए । ११ बजे खाना खाएर पुगेका थिए । लाइनमा बस्दा कहिले फोटोको साइज मिलेन भनेर उनी कहिले फर्म भरेको विवरण नमिलेको भन्दै फर्कने गरेका छन् ।

विभागमा भेटिएका विदुरले इकागजसँग भने, 'पैसा बुझाएर रसिद लिएको छु । यो झन्झटबाट कहिले मुक्ति पाइने हो । आज काम भएन भने भोलि फेरि पासपोर्टका लागि लाइन लाग्नुपर्नेछ ।' 

राहदानी लिन आउने सेवाग्राहीले समय बुक गरेर आउनुपर्ने विभागका महानिर्देशक डोरनाथ अर्याल बताउँछन् । समयमा बुक नगरिदिने आजै पासपोर्ट चाहियो भनेर सेवाग्राही आउने गरेकाले भीडभाड बढेको उनको भनाइ छ ।

'पछिल्लो समय सेवाग्राहीलाई मिति लिएको समयमा आउन भनिएको छ,' उनले भने,' ४ बजेको समय लिएकाहरू बिहान १० बजे आउने गर्दा समस्या हुँदै गइरहेको छ । एउटा समूहमा करिब तीन सय सेवाग्राही हुने गरेका छन् ।'

विभागले २२ वटा काउण्टरबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको अर्यालले जानकारी दिए । एउटा पासपोर्टको आवेदनलाई लाइभ इनराेलमेन्ट गर्न ५ मिनेट लाग्‍ने गरेको छ ।

विभागले दैनिक २ हजार सेवाग्राहीलाई पासपोर्ट वितरण गर्ने गरेको छ । राहदानी दिने र आवेदन लिने गरी कुल ४५ सय सेवाग्राहीले सेवा पाइरहेका छन् । आवेदन दिएको दुई दिनमा सेवाग्राहीले राहदानी पाउने गरेका छन् । कुनै बेला सेवाग्राहीको भेरीफेकिसेशन गर्नु परेमा नमिलेमा चार-पाँच दिन लाग्ने गरेको उनले जानकारी दिए ।

विद्युतीय पासपोर्ट जारी गरेको चार महिनामा उनले एक लाख पासपोर्ट जारी गरिसकेको छ । विभागले मङ्सिर १ गतेबाट विद्युतीय राहदानी वितरण सुरु गरेको थियो ।

'विभागमा भीडभाड बढ्नुमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि सहज हुन थाल्नु पनि एउटा कारण हो,' अर्यालले भने,' विद्यार्थीहरूको पनि भीडभाड छ । अष्ट्रेलिया र क्यानडा पढ्न जानेहरू छन् । आगामी दुई महिनापछि केही भीडभाड कम हुन सक्छ । धेरै विद्यार्थीका लागि अष्ट्रेलियामा अप्रिलको इन्टेक छन् ।'

कर्मचारी अभावले सेवाग्राहीलाई छिटो सेवा दिन नसकिएको उनको भनाइ छ । कर्मचारी पर्याप्त भएमा दुई सिफ्ट काम गरेर भए पनि छिटोछरितो सेवा प्रदान गरिने उनले प्रस्ट पारे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x