१२ वर्षमै सशस्त्र द्वन्द्वमा होमिएकी देवकी भन्छिन्, ‘सपूतको गीत माओवादी नेतालाई व्यंग्य'
पूर्वलडाकूलाई होइन, नवमाओवादीलाई प्रकाश सपूतको गीतसँग आपत्ति
काठमाडौँ- पर्वतका नवीन पुन अहिले बंगुर पालन गर्छन् । कुनै समय बन्दुक, गोली–गठ्ठा समाएका हात अहिले आफ्नो कृषि फार्मका लागि खियाइरहेका छन् । मन त उनको यसै खिइएको छ, माओवादी सशस्त्र युद्धको विसर्जनपछि । माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र युद्धमा लागेर उनले सपनासँगै सपना देखेको आँखा गुमाएका छैनन्, केबल छर्रा बोकेका छैनन्, मनमा एउटा अमिलो धोका पनि बोकेका छन् । त्यो धोका जुन उनलाई माओवादी नेतृत्वले दिएको थियो । उनलाई अहिले लाग्छ– नेताहरु केवल उनीहरुको ढाडलाई भर्याङ बनाउन चाहन्थे, राजनीतिक उचाइ छुन ।
जब उचाइमा पुगे, नेताहरुले बिर्सिदिए नवीन जस्ता हजारौं लडाकूलाई देखाएका सपना, भत्काइदिए उनीहरुको कल्पनामा बनेको एउटा सुन्दर साझा घर । त्यही भग्नावशेषलाई नै बनाए, आफ्नो राजनीतिको जग । त्यही जगमै टेकेर अझै माओवादी नेतृत्वले ‘सेन्टिमेन्ट’ बाँडिरहेको छ ।
उत्पीडित जाति, वर्ग, क्षेत्र, सर्वहाराको दल भन्ने माओवादीले के आफ्नो दाबी अनुसारको काम गरिरहेको छ त ? नवीन प्रतिप्रश्न गर्छन्, ‘त्यो त माओवादी नेताहरुको जीवनशैली हेरेर नै प्रष्ट हुन्छ । हामीजस्ता कार्यकर्ताले भोगेको चोट, वियोग, घाउमाथि अहिले उनीहरु निर्लज्ज तरिकाले अट्टाहास हाँसो हासेका छन् । उनीहरुको जीवनशैली हामीजस्ता कार्यकर्तामाथिको अट्टाहास बाहेक के हुन सक्छ ?’
नवीन पनि सशस्त्र युद्धका अरु लडाकूझैं आफ्नो घर छाडेर जंगल पसे । आफूले गाउँमा बिताएका बाल्यकालका सम्झनालाई मोदी खोलासँगै बगाएर नेतृत्वले देखाएका सपनालाई पछ्याए ।
आफूलाई देखाइएका सपना भने पूरा भएको ठान्दैनन् । तर देशको राजनीतिक परिवर्तनको अपनत्व लिन पाउँदा चाहिँ उनलाई गर्व छ । उनलाई गर्व मात्र छैन, पछुतो पनि छ । पछुतो छ त गलत नेताहरुबाट शाषित हुनुमा, परिचालित हुनुमा ।
जंगल पस्दा नेतृत्वले देखाएका अनेकौं सपना बोकेका नवीन फर्कंदा रित्तो फर्कनुपर्यो । देखाइएको सुन्दर सपना पूरा हुने आशा बाँकी नै थियो किनकि नेताहरु बल्ल राज्यसत्तामा पुग्दै थिए । सपना पूरा हुन्छ÷हुँदैन भन्ने दोधारमा उनी घर फर्के, त्यही एउटा आशा पनि पार्टी नेतृत्वले विस्तारै–विस्तारै मार्दै गयो । सपनाको पनि पार्टीले ‘हत्या’ गरेपछि अहिले उनी माओवादी आन्दोलन छाडेर बंगुर पालनमा व्यस्त छन् ।
०००
पर्वत मोदी गाउँपालिकाकी निशा पुन १८ वर्षको उमेरमा माओवादी नेताहरुसँग भूमिगत बनिन् । कक्षा ८ मा पढ्दै गर्दा उनलाई विद्यालयबाटै माओवादीमा प्रवेश गराएर जंगल पसाइएको थियो । ‘बुर्जुवा शिक्षा काम छैन, यसलाई हटाएर शैक्षिक विकास गर्नपनि माओवादी आन्दोलन चालिएको हो भनेर अनेकन सपना देखाएर म लगायत केही साथीलाई जंगल पसाइएको थियो,’ निशा स्मरण गर्छिन् ।
निशाको शरीरमा गोलीका छर्रा छन्,– ती छर्राले अहिले उति चोट दिँदैनन् । जति चोट माओवादी नेताको विचलनले निशालाई दिएको छ । निशाका लागि छर्रा केबल चोट होइनन्, स्मारक हुन्– अपूरा सपनाका । ‘मिठा–मिठा सपनाका ललिपप खुवाएर युद्धमा हामे, अहिले एउटै पूरा गरेनन् । छर्रा देख्दा अपूरा सपना आँखामा बग्रेल्ती आउँछन्,’ निशाले भनिन् ।
सानै उमेरमा भूमिगत बनेपछि अहिले उनीसँग आयआर्जन गर्न सक्ने कुनै सीप छैन । जंगलमा जीवन जिउने सीप सिकाइएन निशालाई । फाएरिङ, काउन्टर, माक्र्सका केही हरफ सिकाइएको, बुझाइएको बताउँछिन् उनी । ‘काम लाग्ने सीप सिकाइदिएका भएपनि हामी अहिले सम्मानजनक जीवन बिताउँथ्यौ होला । अहिले न सीप छ, न समाजमा सम्मान छ,’ निशाको दुखेसो छ ।
माओवादी नेताका जीवनशैलीले उनीहरुको उद्देश्य के थियो भन्ने जवाफ आफैं दिने निशाको बुझाइ छ । अहिले नेताहरु चिल्ला कारमा हुँइकिँदा खालीखुट्टा पाखा पखेरा गर्ने निशा जस्ता कार्यकर्ताले के सोच्छन् ? ‘माओवादी नेताका विचलनले हामीलाई पोल्छ, हाम्रो पिडाले उनीहरुलाई पोल्दैन ?’ निशा सुनाउँछिन् ।
०००
सिन्धुपाल्चोककी देवकी तिमिल्सिनालाई उनका बुवाले १२ वर्षकै उमेरमा माओवादी आन्दोलनसँग जोडिदिए । पहिलो पटक बन्दुकचाहिँ उनले २०५४ सालमा उठाइन् । उनी माओवादी आन्दोलनताका जनवादी कलाकार समूहमा थिइन् । ‘त्यो बेला बुवाले मलाई टिका लगाएर पार्टीको निम्ति दिनुभयो, १२ वर्षबाट नै म माओवादी आन्दोलनसँग जोडिएँ,’ उनले भनिन् ।
उनी पनि सानै उमेरमा माओवादीमा लागिन्, तर आफूले जुन सपना देखेकि थिइन्– अपूरो भएको ठान्छिन् । ‘देखेका सपना सबै पूरा हुन्छन् नै भन्ने छैन तर नेतृत्वले हाम्रो सपना, प्रतिबद्धता भने पूरा गर्न नसकेकै हो,’ उनी भन्छिन् । शान्ति प्रक्रियामा जाने बेला माओवादीले केही कमजोरी गर्दा नै अहिले माओवादी आन्दोलन शिथिल बनेको उनको ठम्याइँ छ ।
माओवादी नेतृत्वले आफू भन्दा पहिला कार्यकर्ताको बारेमा सोच्नुपर्ने भएतापनि आफैंलाई केन्द्रमा राख्दा सोझा कार्यकर्ताको अहिले बेहाल बनेको उनको जिकिर छ । ‘रोजीरोटीका लागि योद्धाहरु विदेशिनु परेको छ, सडकमा अलपत्र पर्नुभएको छ । हिजोका इमान्दार कार्यकर्ता अहिले साँच्चै पिडित छन्,’ उनले भनिन्, ‘पार्टी संगठनमा पनि ती असल कार्यकर्ता छैनन्, यो नेतृत्वको गल्ति हो ।’
०००
बन्दुक बिसाएपनि योद्धा, लडाकूले आफ्नो मन बिसाउन पाएका छैनन् । उनीहरु आफ्ना सपनाको मृत्युलाई बोकेर बाँचिरहेका छन् । तल्लो स्तरको जुनी कटाइरहेका छन्, अवसरको खोजीमा भौतारिएका छन्, युद्धमा सँगै हेलिएका ‘माथिल्ला तहका नेता’ को आशा राख्दै छन् । तर सत्ताले उनीहरुको आवाज अब सुन्दैन, चिन्दैन । उनीहरुको चित्कारले पार्टी शीर्ष नेताको ध्यान खिच्दैन । लडाकूकाको चित्कारमा नेताहरु सन्नाटा पाउँछन्, अग्घोर सन्नाटा । यस्तै/यस्तै सन्देश दिनेगरि गायक प्रकाश सपुतको गीत ‘पीर’ ले बहस चलाएको छ ।
माथि उल्लेखित पात्रहरु पनि प्रकाश सपुतको गीत आफूहरुको अवस्थाको असल चित्रण भएको बताउँछन् । ‘एकदम राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ, यथार्थ नै यही हो । हामी हिलोधुलो खाँदै हिँड्दा नेता चिल्ला गाडीमा हुँइकिन्छन्,’ निशाले सुनाइन् ।
फार्म चलाइरहेका नवीन पनि अहिले माओवादीका नेतामा वैचारिक विचलन आएको र सत्तालोलुप बन्दा यस्ता सिर्जनाहरु बजारमा आउन पाएको बताउँछन् । नेताहरुले देखाएका सपना पूरा गर्न आफूमात्र प्रतिबद्ध देखिएपनि केही ऊर्जा मिल्ने भएपनि नेताहरुले ध्यान नदिएका कारण गीतले बहस निम्त्याएको उनको तर्क छ ।
यता तिमिल्सिनाको भने धारणा मिश्रित छ । ‘यौन व्यवसायमा लागेका छन् भनेर देखाइएको छ, त्यसलाई अलिक अर्कैं ढंगले देखाउँदा राम्रो हुन्थ्यो, तर समग्रमा गीत राम्रो छ, नेताहरुप्रतिको व्यंग्य हो,’ उनले भनिन् ।
शान्ति सम्झौतापछि माओवादीको नेतृत्वले आफ्ना लागि लडेका लडाकूलाई भने बिर्सिएकै छ । गाउँ, समाज, देशका लागि अनेकन् सपना देखेर युद्धमा होमिएका ती लडाकूलाई सपना पूरा नगरी घर फर्काइएको थियो । सशस्त्र युद्धका कमाण्डरहरु भने राज्य सत्ताकै वरीपरि घुमिरहँदा ती कार्यकर्ताको भूमरीमा फसेजस्तो कष्टकर जीवनबारे सोच्नुपर्दैन ? प्रश्न माओवादी नेतृत्वलाई हो, सत्तालाई हो ।
माओवादीका शीर्ष केही नेताले यसको खेदो नै खन्न खोजे । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यो गीतलाई लिएर विवाद गर्न आवश्यक नभएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनले गीतले बोलेको भाका र बोकेको सन्देश मात्र होइन, सशस्त्र युद्धपछि आफू र पार्टीपङ्क्तिमा आएको विचलनलाई स्वीकारेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया