जनकपुरमा दुई दिन माछा, मासु र मदिरा बिक्रीमा रोक
जनकपुरधाम - जिल्ला प्रशासन कार्यालय धनुषाले होलीको अवसरमा जनकपुरधाम उपमहानगरपालिका भित्र दुई दिनसम्म माछा मासु तथा मदिरा बिक्रि वितरण नगर्न निर्देशन दिएको छ ।
होलीको पूर्व सन्ध्यामा मिथिला माध्यमिकी परिक्रमा ख्याल गर्दै यस्तो निर्देशन दिएका हुन । बिहीबार परिक्रममा सहभागी जनकपुरधाममा भगवान श्रीराम जानकीको डोला आउनेछ र शुक्रवार मध्यमा परिक्रमासँगै अन्तगृह परिक्रमा घुम्ने भएकोले त्यसलाई दृष्टिगत गर्दै प्रशासनले माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार एक विज्ञप्ति जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रमा माँसमदिरा विक्रिवितरण तथा सेवन निषेधित गरिएको जनाएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित शुरु भएको मध्यमा परिक्रमा बिहीवार जनकपुरधाम पुग्नेछ र शुक्रवार अन्तगृह परिक्रमा घुमेर सम्पन्न हुनेछ ।
यसका साथै होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधानबाट रकम असुल्नेजस्ता कार्य नगर्न अनुरोध समेत जिल्ला प्रशासन कार्यालयले गरेको छ ।
लागुऔषध, मदिरा तथा अन्य उत्तेजक पदार्थ सेवन गरी सवारीसाधान नचलाउन, हुलहुज्जत नगर्न र चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सञ्चालन नगर्न समेत आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन । उनले जिल्ला प्रशासनले जारी गरेको सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने चेतावनी समेत दिएका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया