समाज

‘ड्रिम प्रोजेक्ट’ ऐतिहासिक कमलपोखरी उद्घाटन भयो, अब यसलाई पर्यटनसँग जोड्छौँ : मेयर शाक्य

इकागज |
चैत ३, २०७८ बिहीबार ८:१८ बजे

काठमाडौँ- बुधबार साँझ कमलपोखरी वरिपरी अरु दिन भन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा फरक । लामो समयदेखि बेवारिसे बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण अरूबेला भन्दा साँझ त्यहाँ बढी चहलपहल थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्‍न भएकामा निकै खुशी देखिन्थे । ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्‍न भएको भन्दै उनले कमलपोखरी उद्घाटन क्रममा पनि खुशी व्यक्त गरे । उनले अवरोधका बीच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा पुग्दा खुशी लागेको बताए ।


‘ऐतिहासिक ठाउँलाई राम्रो देखाउनुपर्छ, संरक्षण गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ र पर्यटनसँग जोड्नुपर्छ भन्‍ने हाम्रो नीति नै हो,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने उदेश्य अनुसार लामो समयदेखि बेवारिसे र फोहोर जमेको पोखरीलाई पुनर्जीवन दिने काम सम्पन्‍न गर्दा आज खुशी लागेको छ ।’

उनले परम्परागत, सांस्कृतिक र पर्यटकीय रुपमा विकास गर्ने अभियान अन्तर्गत कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गरेको पनि जानकारी दिए । महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको भन्दै प्रमुख शाक्यले पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा कमलपोखरी रहने बताए ।

उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग समेत पटक–पटक छलफल गरेर कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भए पनि बीचमा पुनर्निर्माणको काममा अवरोध भएको भन्दै दुःख व्यक्त गरे ।

‘हामीले यो क्षेत्रका जनप्रतिनिधिसँगै माननीय गगनकुमार थापासँग पनि धेरै पटक छलफल गरेर समवन्य गर्दै काम अघि बढाएका थियौँ,’ शाक्यले भने, ‘बीचमा उहाँहरु दिग्भ्रमित हुनुभयो । केही युवाले यो कमलपोखरी होइन कंक्रिटको पोखरी हो भन्दै भ्रममा पनि पार्ने काम गरे ।’

केही हप्ता अघि सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको मेयर शाक्यले नै विधिवत रुपमा प्रतिस्थापन गरेका थिए । उनले पहिलो चरणको काम सम्पन्‍न गरी कमलपोखरीको उद्घाटन भएको र अब दोस्रो चरणको काम सँगसँगै सुरुवात गर्ने जानकारी दिए ।

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएको उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार कमलपोखरीमा चार वटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुल ढोकासँगै एउटा गरी पाँच वटा मण्डप रहेका छन् । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्‍न भएको पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भएको पनि महानगरपालिकाले जानकारी दिएको छ । परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुनर्निर्माण गरिएको हो ।

पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरिएको छ ।


Author

थप समाचार
x