१० वर्षमुनिका बालक बलात्कारका पीडक
काठमाडौँ- १० वर्षमुनिका बालक बलात्कारका पीडक ! सुन्दा अचम्म लाग्छ । तर, यो वास्तविकता हो । प्रहरी प्रधान कार्यालयको साढे चार वर्षको तथ्यांकमा १० वर्ष मुनिका २१ जना बालक बलात्कारको पीडक रहेको पाइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार यस्ता केसहरूमा बालकमाथि मुद्दा चलाउन मिल्दैन । ‘कानुनी रूपमा १० वर्षमुनिका बालबालिकालाई मुद्दा चलाउन मिल्दैन,’ उनले भने, ‘मुद्दा चलाउन नमिल्ने भएर सम्झाईबुझाई गरेर अभिभावकको जिम्मा लगाउने गरिएको छ ।’
मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधका लागि सजाय योग्य मान्दैन । ११ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई भने बढीमा ६ महिना सुधार गृहमा राख्ने अदालती आदेश हुन सक्छ । त्यस्तै, १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई भने वयस्कसरह कानुनी कारबाही हुने व्यवस्था छ ।
तथ्यांकमा के छ ?
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १० वर्षमुनिका एक जना बालक बलात्कारको पीडक भएको देखिन्छ । उनी बागमती प्रदेशबाट भएको तथ्यांकले देखाउँछ ।
आव ०७५/७६ मा १० वर्षमुनिका आठ जना बालक पीडक भएको तथ्यांकले देखाउँछ । जमध्ये प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा एक–एक जना, बाग्मती प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना भएको देखिन्छ ।
आव ०७६/७७ मा १० वर्षमुनिका पाँच जना बालक बलात्कारको पीडक भएको तथ्यांकले देखाउँछ । जसमा लम्बिनी प्रदेशमा दुई जना र उपत्यकामा तीन जना बालक बलात्कारको केसमा पीडक छन् । आव ०७७/७८ मा १० वर्षमुनिका चार जना बालक पीडक छन् । जसमध्ये प्रदेश १ र लुम्बिनी प्रदेशमा दुई–दुई जना भएको देखिन्छ । चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३ जना बालक पीडक भएको देखिन्छ । जसमध्ये प्रदेश १ का एक जना र उपत्यकाबाट दुई जना रहेका छन् ।
प्रमुख कारण : पारिवारिक वातावरण
मनोविद् करुणा कुँवर बलात्कारको घटनामा बालबालिका कस्तो परिवार र माहोलमा हुर्किएका छन् त्यसले फरक पार्ने बताउँछिन् । ‘ठूलो हुने बेलासम्म कतिपयले बालबालिकालाई आफूसँगै सुताउँछन्,’ उनी भन्छिन्, ‘बुवाआमाको क्रियाकलाप देखिरहेका हुन्छन् । यसले उनीहरूलाई जिज्ञासु बनाउँछ । देखेको एक्सपेरिमेन्ट गर्न खोज्दा उनीहरू अपराधको घेरमा पर्न सक्छन् ।’
बच्चालाई बलात्कारीको नाम दिनु राम्रो नभएको मनोविद् कुँवर बताउँछिन् । ‘बच्चाहरूको केसलाई केलाउँदा हामीले विचार गर्नुपर्छ, संवेदनशील हुनुपर्छ,’ उनी भन्छिन्, ‘आमाले लिपस्टिक लगाएको देख्दा बच्चाहरूले पनि त्यो सिको गर्न खोज्छन् । उनीहरूले जान्न खोज्छन् तर, त्यसको नतिजाबारे थाहा नहुन सक्छ ।’ बालबालिकाले जस्तो वातावरण पाउँछ उसको बालमनोविज्ञान त्यस्तै बन्ने उनी बताउँछिन् ।
प्रत्येक अभिभावकले आफ्ना बालबालिकाले गर्ने गतिविधिलाई निगरानी गर्नुपर्ने उनको सुझाव छ । ‘उनीहरूलाई कसैले फिल्म देखाइदिएको हुन सक्छ, इन्टरनेटमा आफैँले पनि खोजेर हेरेका हुन सक्छन्,’ उनी भन्छिन्, ‘आफ्ना बालबालिका के बोलिरहेका छन्, कहाँ गइरहेको छन्, के हेरिरहेका छन् यस्ता कुरामा अभिभावकले विचार पुर्याउनुपर्छ ।’
प्रहरी प्रधान कार्यालयको साढे चार वर्षको तथ्यांकमा १० वर्ष मुनिका २१ जना बालक बलात्कारको पीडक रहेको पाइएको छ ।
मनोविश्लेषक वासु आचार्यको हुर्काइलाई दोष दिन्छन् । ‘सानैदेखि अभिभावकले फरक यौन अंग हुनेलाई गर्ने फरक व्यवहार गरेको बालबालिकाले नियालिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘दिदीबहिनीलाई कम आफूलाई धेरै माया गरेको देखिरहेका हुन्छन् । सानैदेखि बालकले बालिका कमजोर आफू बलियो भन्ने मानसिकता बोकेर हुर्केको हुन्छ । यो त्यसकै उपज हो ।’ हुर्किंदै जाँदा त्यो बालकमा दम्भ भाव उत्पन्न हुने उनी बताउँछन् । ‘त्यसपछि उनीहरूले पेल्नुपर्छ, हेप्नुपर्छ भनेर सिक्न थाल्छन्,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा भने बालकसँग अरु कसैले यौनजन्य क्रियाकलाप गरेको भएर पनि उनीहरूले अरुलाई त्यसो गरेको हुन सक्छ ।’
यस्तो अवस्थाका जनचेतना नै समस्याको समाधान भएको मनोविश्लेषक आचार्य बताउँछन् । ‘बालबलिकालाई यौन, समानता र सम्मानजनक व्यवहारबारे सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘अभिभावकहरूलाई पनि यो विषयमा जनचेतना फैलाउनुर्छ । घरमा बालमैत्री वातावरणको निर्माण गर्न प्रेरित गर्नुपर्छ ।’
१० वर्षमुनिका बलात्कृत बालिका कति ?
नेपाल प्रहरीको तथ्यांक नियाल्ने हो भने १० वर्षमुनिका पीडकभन्दा पीडितको संख्या धेरै देखिन्छ । यो साढे चार वर्षमा १० वर्षमुनिका १२ सय ९६ बालिका बलात्कृत तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा १० वर्षमुनिका २ सय ९८ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७९ जना, मधेस प्रदेशमा ३८ जना, बाग्मती प्रदेशमा ४४ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६० जना, कर्णालीमा ९ जना, सुदूरपश्चिममा २१ जना र उपत्यका २५ बालिका बलात्कृत भएका छन् ।
आव ०७४/७५ मा १० वर्षमुनिका २ सय ६१ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ६८ जना, मधेश प्रदेशमा २१ जना, बाग्मती प्रदेशमा ४१ जना, गण्डकीमा २६ जना, लम्बिनीमा ६२ जना, कर्णालीमा सात जना, सुदूरपश्चिममा आठ जना र उपत्यका २८ बालिका बलात्कृत भएका छन् ।
आव ०७५/७६ मा १० वर्षमुनिका २ सय ९८ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७९ जना, मधेश प्रदेशमा ३८ जना, बाग्मती प्रदेशमा ४४ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६० जना, कर्णालीमा ९ जना, सुदूरपश्चिममा २१ जना र उपत्यका २५ बालिका बलात्कृत भएका छन् ।
आव ०७६/७७ मा १० वर्षमुनिका २ सय ७३ बालिका बलात्कृत भएको तथ्यांकले देखाउँछ । जसमध्ये प्रदेश १ मा ५१ जना, मधेश प्रदेशमा ३२ जना, बाग्मती प्रदेशमा ३६ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६७ जना, कर्णालीमा १३ जना, सुदूरपश्चिममा नौ जना, उपत्यकामा ४२ जना र केन्द्रीय अनुसन्धान ब्युरोमा एक बलात्कार पीडित बालिका रहेका छन् ।
आव ०७७/७८ मा १० वर्षमुनिका ३ सय ५ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७२ जना, मधेश प्रदेशमा २५ जना, बाग्मती प्रदेशमा ३९ जना, गण्डकीमा ३१ जना, लम्बिनीमा ७१ जना, कर्णालीमा २० जना, सुदूरपश्चिममा १७ जना र उपत्यका ३० बालिका बलात्कृत भएका छन् ।
त्यस्तै, चालु आर्थिक वर्षको माघसम्म १० वर्षमुनिका १ सय ५९ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ४६ जना, मधेश प्रदेशमा ११ जना, बाग्मती प्रदेशमा २१ जना, गण्डकीमा २३ जना, लम्बिनीमा २८ जना, कर्णालीमा नौ जना, सुदूरपश्चिममा छ जना र उपत्यका १५ बालिका बलात्कृत भएका छन् ।
अभिषेक घिमिरे
संयोजक, बृहत् राष्ट्रिय शिक्षा अभियान
बालबालिकाले हेरेर अनि नक्कल गरेर सिक्छन् । उनीहरूले आफूभन्दा ठूलाको नक्कल गर्छन् । वयस्कहरूले गरेको हरेक क्रियाकलापलाई सूक्ष्म ढंगले नियाल्ने गर्दछन् र तिनै क्रियाकलाप र गतिविधिलाई अनुसरण गर्ने गर्छन् । यो बालबालिकाको प्राकृतिक स्वभाव हो । उनीहरूले यसरी नै सिक्ने हुन् । सिकाइको यो प्रमाणित विश्वव्यापी मान्यता हो ।
सिकाइलाई वातावरणले असाध्यै ठूलो प्रभाव पार्दछ । घर, परिवार, समाज र त्यहाँको संस्कार स्वाभाविक रूपमा बालबालिकाले अनुसरण गर्दछन् । बालबालिकाले के सिके भन्ने कुरा त्यहाँको सामाजिक वातावरण कस्तो छ भन्ने कुराले धेरै प्रभाव पार्दछ । बालबालिका हुर्कने ठाउँ, उनीहरूले संगत गर्ने मानिस, बाबुआमा, नातागोता, साथीसंगत लगायतले उनीहरूको सिकाइलाई प्रभावित गर्दछ ।
जहाँसम्म दश वर्ष मुनिका बालक यौनजन्य अपराधको कसुरमा प्रहरीको तथ्यांकमा रहेको भन्ने छ, यो विषयलाई हामीले गम्भीरतापूर्वक लिनु जरुरी छ । बालबालिकाको मनस्थिति अपराध नै गर्ने भन्ने त हुँदैन तर आपराधिक पृष्ठभूमिको घर, परिवार तथा समाजमा हुर्किएका बालबालिका प्राय: विभिन्न आपराधिक गतिविधिमा मुछिएका छन् । अर्थात्, देखासिकीमा यस्ता घटना भएका छन् ।
अहिले इन्टरनेट/मोबाइल तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नेमा बालबालिका पनि अत्यधिक भेटिएका छन् । के सही र के गलत भन्ने नबुझेका उनीहरूले इन्टरनेटमा देखिएका सामग्रीलाई जस्ताको त्यस्तै अनुसरण गर्ने हुँदा कहिलेकाहीँ यस्तै दुर्घटना भएर कानुनी फन्दामा परेका छन् । यो क्रमलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायले नरोक्ने हो भने धेरै बालबालिका साइबर क्राइममा फस्ने पनि देखिएको छ । अहिले स्कुल उमेरका छात्राहरूले आफ्नै कक्षाका सहपाठीबाट साइबर बुलिङ र ह्यारेस्मेन्टको समस्या भोग्नुपरेको गुनासो विद्यालयका शिक्षकले बारम्बार गरिरहनुले यो समस्या भित्रभित्रै विकराल बन्दै गएको अनुमान लगाउन सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया