बिहेवारी जुराउने 'बिहेनेपाल एप' : दिदीबहिनीकाे प्रयासमा एक महिना नबित्दै २६ हजार जाेडिए
काठमाडौँ- इन्टरनेटको सहयोगले पछिल्लो समय विभिन्न कामहरू सहज हुँदै गएको छ । मानिसहरूले हप्तौँ र महिनासम्ममा नसकेका कामहरू केही सेकेण्ड र मिनेट लगाएर काम सम्पन्न गर्न थालेका छन् ।
अझ भनौ सरकारी कार्यालय वा बैंकमा लामो लाइनमा बसेर पैसा बुझाउने झन्झट टरेको छ । मोबाइल बैंकिङको सहयोगबाट घर-घरमै बसेर वा आफू रहेको कार्यालयबाट पैसा तिर्न सकिने भएको छ । यसले गर्दा मानिसको समय पनि बचत हुन थालेको र प्रविधिमा मानिसको पहुँच बढ्दै गएको छ ।
अझ रोचक पक्ष कुनै समय जीवन साथीको खोजी गर्न लमीको आवश्यकता पर्थ्यो । तर, समय बदलिएसँगै मानिसको स्थान प्रविधि वा इन्टरनेटले लिएको छ । साथी वा जीवनसाथी खोज्नसमेत इन्टरनेटले सहयोग गरिरहेको छ ।
जहाँ मानिसको जीवनसाथी खोज्न घर-घर पुग्नुपर्थ्यो । अब भने इन्टरनेटको सहाराले जीवन साथी खोज्न मद्दत गर्ने छ । प्रेमी-प्रेमिका खोज्न विभिन्न मोबाइल एपहरूको प्रयोग गरिन्थे ।
चर्चित टिन्डर डेटिङ एपहरूको सहाराबाट प्रेमी खोजिन्थ्यो । त्यही प्रेम विवाहमा समेत परिणत भएका छन् । जीवनसाथी खोज्नका निम्ति भने नेपालमै पनि केही साता पहिले 'बिहेनेपाल एप' आइसकेको छ । २७ वर्षीया श्रद्धा कटुवाल र २४ वर्षीया श्रेया कटुवाल दिदीबहिनी मिलेर रावा सफ्टवेयर कम्पनीबाट निर्मित ‘बिहेनेपाल’ एप सार्वजनिक गरिसकेका छन् ।
हालसम्म २६ हजार प्रयोगकर्ताहरू भइसकेको श्रद्धा कटुवालले जानकारी दिइन् । उनका अनुसार, २२ देखि ३० वर्ष उमेर समूहका युवायुवतीहरू सहभागी भइरहेका छन् । महिलाहरू करिब पाँचदेखि छ हजार जना रहेका छन् ।
' बिहेबारी एप' लन्च भएको केही सातामा प्रयोगकर्ताको संख्या बढिरहेको छ,' उनी खुसी छिन् । बिस्तारै प्रयोगकर्ताको संख्या बढ्नेमा विश्वस्त छिन् । 'एप प्रयोग गर्नेको संख्या नेपालमा बसेकाहरू बढी छन्,' उनले भनिन,' विदेशमा बसोबास गरिरहेका नेपालीहरूले पनि सहभागिता जनाइरहेका छन् ।'
बिहेबारी एपमा नेपाल बाहेक बढी दक्षिण कोरिया, फ्रान्स र युएईबाट प्रयोगकर्ताहरू बढी छन् । अमेरिकामा बसोबास गरिरहेका र विद्यावारिधि उपाधि गरेकाहरू समेत सहभागी छन् । बिहेबारी एपमा सहभागी हुनेहरू सबै पेशा अपनाएका प्रयोगकर्ता रहेको कटुवालले जानकारी दिइन् ।
छोटो समयमा ग्रामिण भेगमा बसोबास गरिरहेको मानिसको पहुँचमा पुगेकोमा उनले खुसी व्यक्त गरिन् । प्रयोगकर्ताहरूको प्रोफाइल हेर्दा र पहिरन गाउँमा बसेर काम गरिरहेका जस्ता देखिने गरेको उनी सुनाउँछिन् ।
बिहेबारी एप प्रयोगकर्ताहरूले भेटघाट पनि गर्न थालिसकेका छन् । दश जनाजति डेटमा गएको जानकारी प्राप्त भएको कटुवालले बताइन् । 'धेरै प्रयोगकर्ताहरू भने एक-आपसमा च्याट गर्ने गरेको देखिन्छ,' उनले थपिन,' तर, अहिलेसम्म कसैले पनि विवाह गरेको जानकारी दिएका छैनन् । विवाह भए पनि हामीलाई जानकारी दिएका छैनन् ।'
पुरुष प्रयोगकर्ताहरूले महिलाहरूको फेक प्रोफाइल हुन सक्ने भनेर कम्प्लेन गर्न थालिसकेको उनी सुनाउँछिन् । फोटो नहाली आइडी बनाएर प्रयोगकर्ता सक्रिय भएका छन् । फेक आइडीको बारेमा धेरै कम्प्लेन आएपछि अनिवार्य तस्विर अपलोड गर्ने व्यवस्था मिलाउन लागेको उनको भनाइ छ ।
'फेसबुकमा भन्दा बढी पुरूषहरूको महिलाहरूलाई रिक्वेस्ट आउने गरेको छ,' प्रयोगकर्ताहरूको भनाइ उद्धृत गर्दै कटुवाल भन्छिन्,' पुरुष प्रयोगकर्ताहरू महिलाको फेक प्रोफाइल रहेको गुनासो गरिरहेका छन् ।' महिलाको तुलनामा चार गुणा पुरुष प्रयोगकर्ताहरू छन् ।
जीवनसाथीको खोजीमा सक्रिय प्रयोगकर्ताहरुले उमेर, शिक्षा, बसोबास र स्थान जस्ता छनोट एपबाट भेटन सक्नेछन् । जब प्रयोगकर्ताले उपयुक्त व्यक्ति भेटछन् तब उनीहरु च्याटमार्फत आपसमा कुराकानी गर्न सक्नेछन् ।
बिहेबारी एपमा प्रयोगकर्ताले निःशुल्क युजर बन्ने गरेका छन् । तर, युजर आईडीमा प्रयोगकर्ताले भने आफ्नो सबै विवरण उल्लेख गर्नुपर्ने हुन्छ । केही प्रयोगकर्ताले आफ्नो विवरण सार्वजनिक गर्न चाहदैनन् ।
गोपनियता राखेर प्रयोग गर्नेहरू पनि छन् । निःशुल्क प्रयोगकर्ताले भिआइपी क्लबमा रहेका प्रयोगकर्ताहरूको प्रोफाइल देख्न सक्दैनन् । भिआईपी क्लबको सदस्य बन्नका लागि ४९ हजार रुपैयाँ लाग्ने गरेको उनले जानकारी दिइन् । भिआइपी प्रयोगकर्ताले निशुल्क प्रयोगकर्ताहरूको प्रोफाइलमा भिजिट गर्न सक्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया