समाज

मोरङको लेटाङ तनावग्रस्त: प्रदर्शनकारीको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु

बाबुराम भण्डारी |
चैत ७, २०७८ सोमबार ६:३२ बजे

विराटनगर - मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित स्थानीय र प्रहरीबीच गएराति भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको छ ।

आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । झडपमा दर्जनौं आन्दोलनकारी र थप प्रहरीहरू पनि घाइते भएका छन् ।


उनीहरूको विराटनगरस्थित कोसी अस्पताल र नोवेल मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । छात्रा बलात्कारविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थी र स्थानीयले आइतबार दिनभर यौन आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयको कोठामै थुनेर उनको मोटरसाइकल विद्यालयकै चौरमा जलाइदिएका थिए ।

उनीहरूले आरोपी शिक्षकलाई विद्यालयको कोठामा थुनेर बाहिरबाट हिंस्रक आक्रमणको तयारी गरेपछि प्रहरीले उद्दारको प्रयास गरेको थियो । सोही क्रममा शिक्षक पौडेललाई इलाका प्रहरी कार्यालय लेटाङमा लैजाने क्रममा राती करीव साढे ८ बजे स्थानीयले अन्दाधुन्द आक्रमण गरेको प्रहरीले जनाएको छ । शिक्षक पौडेललाई आफैं कारबाही गर्ने भन्दै आक्रोसित बनेका स्थानीय आन्दोलनकारीले महिला प्रहरी जवान श्रेष्ठमाथि आक्रमण गरेका हुन् ।

आन्दोलनकारीबाट जोगिन भाग्ने क्रममा लडेकी प्रहरी जवान श्रेष्ठको घाँटीमा धारिलो हतियारको गहिरो चोट देखिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले उद्दार गरी लेटाङस्थित मनकामना अस्पताल पुर्याएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि कोसी अस्पताल विराटनगरमा लैजाने क्रममा महिला प्रहरी श्रेष्ठको बाटैमा मृत्यु भएको जनाइएको छ । प्रहरीमाथि आक्रमण भएपछि लेटाङमा रातीदेखि नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

शिक्षक पौडेलमाथि यसअघि पनि विद्यालयकै अरु छात्राहरूमाथि यौन दुव्र्यवहारको आरोप लागेको थियो । उनलाई गल्ती नदोहोर्याउने शर्तमा छोडिंदै आएपनि शुक्रबार होलीको दिन पुनः एक छात्रामाथि उनले यौन दुव्र्यवहार गरेको स्थानीयको आरोप छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x