समाज

१५ दिनकी सुत्केरीको मृत्यु

कमजोरी हटाउन भिटामिन किनेर ल्याइन्, खानै नपाई मृत्यु भयो

लक्ष्मी भण्डारी |
चैत ५, २०७७ बिहीबार १९:१० बजे

सांकेतिक तस्बिर

सुर्खेत  : दैलेख ठाँटीकाँघ गाउँपालिका ६ की ३२ वर्षीया हस्तना थापा १५ दिनको सुत्केरी हुन् । खानपान र शारीरिक समस्याकै कारण उनको शरीरबाट शक्ति हराइसकेको थियो । त्यसैले ठाँटीकाँध गएर बुधबारमात्रै भिटामिन किनेर ल्याइन् । बुधबार साँझ खाना खाइवरि भिटामिन र अन्य औषधी नखाई सुतेकी हस्तना कहिल्यै नउठ्ने गरी अस्ताइन् । 

बुधबार उनले भिटामिनसँगै सिटामोल र फलफुल किनेर ल्याएकी थिइन् । त्यो उनको घरको अटेलीमा अझै उस्तै छ । उनको रहस्यमय तबरले मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।


‘कमजोरी  महसुस गरी घर परिवारको सहमतिमै ठाटीकाँध बजार गएर भिटामिन, सिटामोल र फलफुल किनेर ल्याएर साँझको खाना खाएर श्रीमान् र बच्चासँगै सुतेकी रहिछन्,’ प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले भने, ‘बिहानपख बच्चा रोएपछि दुध खुवाउन बोलाउँदा नबोलेर हेर्दा उनको मृत्यु भएको थाहा भयो भनेर श्रीमानले बयान दिएका छन् र यस विषयमा अनुसन्धान भइरहेको छ ।’ 

प्रहरीले हस्तनाका श्रीमान शेरबहादुरको बयान शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको जनाएको छ । शव पोष्टमार्टमको लागि दुल्लु अस्पताल ल्याउँदै गरिएको प्रहरी जनाएकाे छ । दैलेखका प्रहरी नायव उपरीक्षक श्रेष्ठले हस्तानाको मृत्यु संकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेरबहादुरलाई नियन्त्रणमा राखिएको बताए ।

उनको के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्टमार्टमा रिपोट पछि खुल्ने उनको भनाइ छ । मृतक सुत्केरीका माइती पक्षले भने मृत्युबारे आफूहरुलार्ई खबर नभएको भन्दै विरोध जनाइरहेका छन् ।  

 


Author

थप समाचार
x