लेटाङ घटना
प्रहरी प्रशासनप्रति वितृष्णा बढेकाे हाे कि समाज अपराध उन्मुख भएकाे हाे ?
'संस्कार सिकाउनुपर्ने जनप्रतिनिधिले भीडयुक्त समाज बनाए'
काठमाडौँ – गत आइतबार मोरङको लेटाङ-५ मा स्थानीयको आक्रमणमा नेपाल प्रहरीकी उर्मिला श्रेष्ठको ज्यान गयो । शिक्षा विकास माविकी मनोज पौडेलले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेपछि आक्रोसशत भिडको आक्रमणबाट कर्तव्य पालनाकै क्रममा श्रेष्ठको ज्यान गयो । उनको घाँटी र छातीमा छुरा प्रहार गरिएको थियो ।
घटनाको बिजारोपण समाजभित्रकै विद्यालयबाट सुरु भयो । जहाँ शिक्षक र विद्यार्थीको सम्बन्धलाई लिएर मुद्दा उठेकाे थियाे । घटना मिलाउन दिनभर स्थानीय जनप्रतिनिधि र अभिभावकसहितको बैठक बसे पनि निष्कर्षविहीन बन्यो।
घटना भएको स्थानदेखि प्रहरी र स्थानीय सरकार (नगरपालिका)को कार्यालय करिब पाँच सय मिटर दूरीमा छ । आफ्नो क्षेत्रमा भएका गतिविधिलाई पीडित र पीडक दुवै पक्षलाई राखी छलफल गर्नुपर्थ्यो । दुवै पक्षबीच छलफल त भयो । तर, निचोडमा पुर्याउन सकेनन् ।
पीडक शिक्षक प्रहरी नियन्त्रणमा रहँदा पनि आम नागरिकले राज्य संयन्त्रलाई विश्वास गरेनन् । साँझसम्मै आन्दोलन चर्किरह्यो । पछिल्लो समय यस्ता घटना दोहोरिरहेका छन् । भीडले कानुनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको देखिन्छ । कानुन बलियो भए पनि राज्य निरीहजस्तै बन्ने गरेको छ ।
विभिन्न समूह र भीडले उच्छृङ्खल गतिविधि गर्दा राज्यका सम्पत्तिदेखि कयौँ मानिसका अनाहकमा ज्यान गुमाउनु परेको छ । समाजलाई आपराधिक मनोवृत्तिले निर्देशित गरिरहेको समाजशास्त्रीहरू बताउँछन् ।
जनप्रतिनिधिले विधिकाे शासन सिकाएनन्
राजनीतिक दलले आपराधिक मनोवृत्तिका व्यक्तिसँग सम्बन्ध विस्तार गर्ने र संरक्षण गर्ने क्रम बढेकाले समाजमा अराजकता फैलदैँ गएको पूर्व एआईजी देवेन्द्र सुवेदी बताउँछन् । समाज आपराधिक गतिविधितर्फ बढिरहेको उनको भनाइ छ । लेटाङ घट्ना त्यसैको उपज मान्न सकिने उनको तर्क छ ।
'स्थानीय तहका जनप्रतिनिधिले विकास भनेको बाटो र भवन निर्माण गर्ने मात्र बुझेका छन्,' सुवेदीले भने,' समाजलाई सुशासनतर्फ लैजानु पनि विकास हो । नैतिक शिक्षा कमजोर भयो, जनप्रतिनिधिले आफ्नो भूमिका राम्रोसँग निभाउन नसक्दा समाज नबनेर अराजक बन्यो ।'
समाजमा अपराध कम गर्न प्रहरी र स्थानीय तहको साझेदारी कार्यक्रम असफल भएको उनी मान्छन् । प्रहरी र स्थानीय सरकारले प्रभावकारी रुपमा काम गर्न नसक्दा समाजमा आपराधिक गतिविधि बढिरहेको उनको ठहर छ ।
'जनप्रतिनिधिले समाजलाई नेतृत्त्व दिएर अगाडि बढाउन सकेनन्, समाज उनीहरूको नियन्त्रण भन्दा बाहिर गइसकेको छ,' उनले थपे,' यस्ता घटनाहरू घट्नुमा समाजका विभिन्न तत्त्वहरूले प्रभाव पार्छन् । विभिन्न कालखण्डमा राजनीतिक दलले आफ्ना कार्यकर्ताले गरेको गल्तीलाई ढाकछोप गर्दा यस्ता घटनाले प्रोत्साहन पाइरहेको उनी स्वीकार्छन् ।
राष्ट्रसेवकको मृत्यु हुनुमा समाज र मानिसप्रति प्रश्न गर्ने समय आएको एआइजी सुवेदीले धारणा राखे । मानिसको राम्रो आचरण तथा व्यवहारले समाजलाई डोर्याउनुपर्ने तर उनले हिंसा र भीडले खराब बाटोतर्फ लगेकोमा आपत्ति जनाए । दिन प्रतिदिन हुने घटनाले मानिस र समाज सुरक्षित नभएको उनले बताए ।
उनका अनुसार यस्ता घटना घट्नुमा समाजलाई जनप्रतिनिधिले राम्रोसँग निर्देश गर्न नसकिरहेको पुष्टि हुन्छ । रिसमा आएर घटना घटे पनि जिम्मेवार स्थानीय तहका अभिभावक हुनुपर्छ । राजनीतिले संस्कार सिकाउनुपर्नेमा कुसंस्कार सिकाइरहेको छ । यो घटनाले आगामी स्थानीय तहको निर्वाचन राम्रो हुने लक्षण देखाउँदैन । समाजमा हुने हरेक घटनामा प्रत्यक्ष रूपमा राजनिति जोडिएको छ ।
प्रहरीको असफलता
राजनीतिक संरक्षण र प्रहरीभित्रको भ्रष्टाचारले दोषीले सजाय पाउनेमा समाजको विश्वास हराउँदै गएकोले भीडले आफैंले दोषीमाथि कारबाही गर्न तम्सिएको विश्लेषण समाजशास्त्रीहरूको छ । भीडले कानुन हातमा लिन पाउँदैन, तर प्रहरीले सही ढंगले अभियोजन गर्छ र न्यायलयबाट न्याय पाइन्छ भन्ने आशा मरेकाले भीडबाटै तात्तातो प्रतिवाद भएको हुनसक्छ । प्रहरीले समाजमा विश्वास कायम गर्न राजनीतिक संरक्षण वा भ्रष्टाचारका कारण कुनै पनि दोषी उम्कदैंन भन्ने स्थापित गर्ने चुनौती रहेको देखिन्छ ।
विकासको नाममा नैतिक शिक्षालाई बिर्से
कानुन र राज्य संयन्त्रप्रति विश्वास नभएको समाजशास्त्री डा. दिनेश प्रसाई बताउँछन् । समाजले पनि कानुनलाई भन्दा भीडलाई बढी मान्यता दिन थाल्दाको परिणाम पछिल्लो समय देखिन थालेको उनको भनाइ छ ।
समाजमा हिंसाका गतिविधि बढनुमा विवेक हराएका मानिस बढ्न थालेको पुष्टि भएको प्रसाईले बताए। 'स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि उहाँहरू रोल मोडलको रुपमा रहनु पर्ने हो । तर हुन सक्नु भएको छैन, ' उनी भन्छन्,' समयले उहाँहरूको लेखाजोखा राख्ला । समाजमा अहिलेको घटेको घटनाले परिणाम देखाउन थालिसकेको छ ।'
जनप्रतिनिधिहरू सु-संस्कार भन्दा भीडयुक्त समाज बनाउनतर्फ लागेको प्रसाईले आरोप लगाए । पीडितभन्दा पनि पीडकको पक्षमा जनप्रतिनिधिहरूले समर्थन गर्ने उनको बुझाइ छ । आफ्ना मानिसहरू घट्नामा संलग्न हुँदा त्यस्ता मुद्दालाई ढाकछोप गर्न तर्फ लाग्ने उनले बताए । समाज भन्दा उनले आफ्नो कोरा शक्तिका लागि जनप्रतिनिधिले राजनीति गरिरहेको प्रस्टयाए ।
समाजलाई निकास दिने शिक्षा र व्यवस्था लागू भएन । राज्यका तीनै तहले विकासका नाममा सडक, भ्यु टावर र पुल निर्माण हुनु विकास हो भनेर मानिएको अवस्था छ । 'व्यवस्थित समृद्ध समाज बनाउन आधारभूत आवश्यकता निर्माण गर्न सकेनन्,' प्रसाई भन्छन्,' समाजलाई वैचारिक रूपले सफल बनाउन अहिले विमर्श र बहस भएकै छैन । यस्ता घट्ना घट्नुमा मानिस विचारविहीन बन्न थाले ।'
दन्त्य कथामा जस्तो अहिले गुरु र शिष्यको सम्बन्ध बन्न नसकेकोमा उनले गुनासो व्यक्त गरे । राम्रा कुरा सिकाउनेहरू आफै नराम्रो कार्यमा अग्रसर हुँदा समाज, व्यक्ति र व्यवस्था पथभ्रष्ट हुन थालेको उनले सुनाए ।
आवेगले घटना निम्त्यायो
समाजमा यौनजन्य दुर्व्यवहारले निम्त्याएको यस्ता अमानवीय प्रवृत्तिको घट्ना सम्झन लायक नभएको लेटाङ नगरपालिकाका उपप्रमुख कृष्ण कुमारी निरौला बताउँछिन् । मानिसहरू आवेगमा आउदाको परिणाम घटना भएको उनको भनाइ छ ।
'समाजमा मानिसहरू आवेगमा आएर होस गुमाउँदा यस्ता घटनाहरू समाजमा घटिरहेको छ,' निरौला भन्छिन्,' यो घटनाले धेरै कुरा सिकाएको छ । आवेगमा मानिसहरू संयमित नबन्दा दुःखद घट्ना घट्यो ।'
यस्ता घटनाहरू घट्दैमा समाज खराब भइसक्यो भनेर भन्न नमिल्ने उनी बताउँछिन् । 'समाजप्रति निराश भइहाल्नु पर्दैन,' उनी थप्छिन्,' समाजभित्र भएका खराब प्रवृत्तिलाई निरुत्साहित पनि गर्न सकिन्छ ।'
जनप्रतिनिधिप्रति स्थानीय मानिसहरूको विश्वास भने नघटेको उनको दाबी छ । न्यायिक समितिमा बसेर धेरै घटना मिलाइएको प्रमाण रहेको उनले बताइन् । सुरुमा प्रहरीमा पुर्याउन सकेको भए यो घटना नघट्नेमा उनको भनाइ छ ।
'विद्यार्थी र अभिभावकले समयमा पुर्याउन दिएनन्,' उनले भनिन्, ' रातिको समयमा को,कहाँबाट कसरी आए थाहा भएन। केही मानिसहरू बाहिरबाट आएको पनि भन्छन् त्यो बिस्तारै अनुसन्धानले खुलाउला ।'
प्रहरीले समाजलाई उत्तेजित बनाउँदैन
प्रहरीले उत्तेजित बनाएर प्रहरीले बल प्रयोग गर्छ र आम मानिसप्रति नकारात्मक भावना सिर्जना गर्ने अभिप्रायले यस्तो घटना हुन सक्ने नेपाल प्रहरीका प्रवक्ता कृष्णकुमार केसी बताउँछन् ।
‘एउटा पक्षले गरिरहेको आन्दोलनमा अर्को गलत पक्ष हाबी भएर पनि यस्ता घटना घट्छन्,' उनी भन्छन्, ‘राज्यको आदेशमा अग्रस्थानमा रहेर सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी हो । राज्यले हामीले तोडफोड, आगजनी, हुलदङ्गा हुन दिनु हुँदैन भनेर हामीलाई जिम्मा दिएको छ ।'
जिम्मेवारी वहन गर्ने क्रममा ढुङ्गामुढा भए पनि त्यस्तो अवस्थामा प्रहरी संयमित हुनुपर्ने उनको भनाइ छ । भीडलाई नियन्त्रण गर्न प्रहरी बल प्रयोग गर्न बाध्य हुने उनले बताए । आन्दोलनकारी आवेगमा आएर यस्तो घटना भएको पाइएको छ ।’
६ वर्षमा ११ प्रहरीको मृत्यु
मुलुकमा शान्ति प्रक्रियापछि विभिन्न आपराधिक समूहको आक्रमणबाट छ वर्षयता ११ जना प्रहरीको मृत्यु भइसकेको छ । कैलाली, बर्दिया, भोजपुर र मोरङमा मृत्यु भएको हो । वि. स २०७२ मा कैलालीमा थरूहटले गरेको आन्दोलनमा झडपमा ६ र सीमानामा आपराधिक समूहको झडपमा दुई प्रहरीको मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया