समाज

अध्यात्मबाट सिर्जित सकारात्मक उर्जाको बहुआयमिक लाभः कांग्रेस नेतृ देउवा

इकागज |
चैत १०, २०७८ बिहीबार ६:२३ बजे

धनगढी- नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले जीवनको महत्त्व अध्यात्ममा लागेपछि थाहा हुने बताएकी छिन् । बुधबार धनगढीमा भएको सर्वोदय शान्ति पद यात्राको स्वागत कार्यक्रममा बोल्दै नेतृ देउवाले यस्तो उल्लेख गरेकी हुन् । ‘अध्यात्ममा लागेपछि नकारात्मक कुरा त्याग्न मद्दत गर्छ’, ‘आफ्ना अनुभव साट्दै उनले भनिन्, ‘अध्यात्मले जीवनमा हरेक समस्याबाट जोगिन सहयोग गर्छ। म सात महिना बिमारी भएर जापान बसेँ। भाषाको समस्या भएकाले मसँग कुरा गर्ने कोही थिएनन्। त्यो अवस्थामा अध्यात्मले नै सहज रुपमा उपचार गराउन प्रेरणा दिएको थियो।’

उनले अध्यात्मले प्रवाह गर्ने सकारात्मक उर्जाको बहुआयमिक लाभ रहेको बताइन् । 


अध्यात्मले मनका सोचलाई नियन्त्रणमा राख्न सहयोग गर्नेसमेत उनको अनुभव छ। उनले डा. मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश, मन्त्रले निक्कै प्रभावित पार्ने उल्लेख गरिन्। मणिभद्र महाराजको तपस्या प्रेरणादायी भएको चर्चा गर्दे नेतृ राणाले भनिन्, ‘४० वर्षदेखि हिँड्दै आउनुभएको छ। ८५ हजार किलोमिटर हिँड्ने उहाँको क्षमता र आत्मशक्ति अतुलनीय छ।’

कार्यक्रममा डा. मणिभद्र मुनीजी महाराजले साधनाको माध्याबाट आफूलाई शान्त बनाउने प्रयास गर्नुपर्नेमा जोड दिए। ‘आफू शान्त भएपछि मात्र अरुलाई शान्तिको सन्देश दिन सकिन्छ’, उनले भने, ‘दुःखमा कोही पनि आत्तिनु हुन्न, भगवान राम, कृष्ण र महावीरको जीवनमा पनि दुःख आएको थियो।’

कार्यक्रममा पूर्वसांसद शंकर पाण्डे, धनगढीका नगर प्रमुख नृपबहादुर वड, बिपी चिन्तन अन्तर्राष्ट्रिय समितिका सन्दीप रानालगायतले अध्यात्म र डा. मणिभद्र महाराजको बारेमा चर्चा गरेका थिए। मेचीबाट पैदल यात्रा गरेर नेपाल प्रवेश गरेका डा. मणिभद्र महाराज एवम् विराज मुनीजी महाराज पोखरा हुँदै धनगढी पुगेका हुन्। उनीहरु अब कञ्चनपुरको गड्डाचौकी हुँदै भारत जाने कार्यक्रम छ।


Author

थप समाचार
x