समाज

'यहाँ दु:खको अर्को नाम खानेपानी थियो अब त्यो पनि हट्‍यो'

इकागज |
चैत ११, २०७८ शुक्रबार १०:१२ बजे

काठमाडौँ- 'घर-घरमा पानी, घर-घरमा धारा' अभियान अन्तर्गत पहिलोपटक देशभरकै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- १ को सबै घरमा पानी पुगेको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी सबै घरमा पानी पुर्‍याउने धारा उद्घाटन भएको छ ।

वि सं २०७२ बैशाख १२ को भूकम्पले पानीको मुहान सुकेको थियो । त्यहाँका ७ सय ८६ घरधुरीले खानेपानीका लागि दुःख, पीडा र हैरानी खेप्नु परेको थियो । प्रत्येक घर खानेपानीको सेवाबाट लाभान्वित भएका छन् । विभिन्‍न दात्तृ संघ संस्थाको सहयोगबाट करिब २ करोड रुपैयाँको लागतमा खानेपानी घर-घरमा पुर्‍याइएको हो ।


वडा १ कार्यालयमा रहेको सार्वजनिक धारा गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र वडा अध्यक्ष नेत्र कार्कीले एकसाथ उद्घाटन गरे ।

घर-घरमा पानी पुग्नु भनेको ठोकर्पाबासीले नयाँ जीवन पाए जस्तै भएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले बताए । 'यहाँको दुःख पानी थियो, दुःखको अर्को नाम पानी थियो,' उनले भने,' वडाबासीले अबदेखि घण्टौँसम्म दुई गाग्री पानीका पानीको मुहान खोज्दै जानुपर्ने अवस्था हटेको छ ।'

ठोकर्पाबासीले पानी पाउनु भनेको सिंगो गाउँपालिकाको भविष्य सुन्दर बन्दै गइरहेको जिसीको भनाइ छ । पानीकै कारण वडाबासीले भोग्नुपर्ने दुःख अन्त्य सुरु भएको उनले बताए ।

पानीको स्थायी समाधानले सुनकोशीमा विकासको जरो फुट्न‌ सुरुवात भएको उनको भनाइ छ । 'धारामा पानी लिन जान बाध्यताबाट मुक्ति पाउनु यहाँका महिला र पुरुषहरूको समय बचत भइरहेको छ,' उनले इकागजसँग भने,' पानी लिन जाँदा लडेर चोटपटक लाग्थ्यो, अबदेखि त्यस्तो हुँदैन । घरमा काम गर्ने समय मिलेको छ ।'

वडाध्यक्ष नेत्र कार्कीले निर्वाचनको समयमा गरिएको घोषणा पूरा गरेको बताए । प्रत्यक्ष रुपमा करिब आठ सय घरधुरीले खानेपानीको सेवा पाउने उनको भनाइ छ । पानी सबैभन्दा महत्त्वपूर्ण रहे पनि यहाँका मानिसले सहजै नपाउँदा दुःख भइरहेको थियो,' उनले भने,' यस वडाबाट सदाको लागि पानी नपाइने समस्याको समाधान टरेको छ ।'

खानेपानीको लाइनमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता हटेको उनले बताए । प्रत्येक घरमा मिटरसहितको धारा जडान भएको छ । उपभोक्ताले न्यूनतम १ सय रुपैयाँ तिर्नुपर्ने उनले जानकारी दिए ।

वडाबासीको श्रमदानमा घर-घरमा खानेपानी पुर्‍याउन सम्भव भएको उनको ठहर छ । ठोकर्पाबासीको दुःख हट्नु भनेको समग्रमा गाउँपालिकाको दुखः टरेको उनले बताए ।

त्यसैगरी नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले यस वडाबाट भएको राम्रो काम देशभरका सबै स्थानीय तहले पाठ सिक्नुपर्ने बताए । विकास गर्ने संस्था स्थानीय तह रहेको घर-घरमा धारा अभियानले सुचारु गरेको उनको भनाइ छ ।

'स्थानीय सरकारमा सक्षम नेतृत्त्व तह रहेमा विकास गर्नलाई सहजै सकिन्छ,'  उनले भने,' नेतृत्त्वले पनि काम गर्न चाहना राख्‍नुपर्छ । विकास गर्न चाहेमा सबै कुरा सम्भव हुन्छ ।'


Author

थप समाचार
x