समाज

काकाकुल ठोकर्पाबासीका घर-घरमा पानी पुर्‍याउने वडाध्यक्ष

अतिन आचार्य |
चैत १४, २०७८ सोमबार ९:४३ बजे

काठमाडौँ - निर्वाचनमा प्रत्येक उम्मेदवारले चुनावी घोषणापत्र सार्वजनिक गर्छन् । भए भरका योजना समेटेर बनाइएका घोषणापत्र विजयी भएपछि थन्किन्छन् ।  वाचा बिर्सँदै पनि जान्छन् ।

तर, सबै उस्तै हुँदैनन् । केहीले पूरा पनि गर्छन् । यसैमध्येका एक हुन् सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ का वडाअध्यक्ष नेत्र कार्की । उनले घोषणापत्रमा उल्लेख मुख्य वाचाहरू पूरा गरे। घर-घरमा खानेपानीको धारासहितको मिटर जडान गरे । 


सुख्खा डाँडा ठोकर्पाबासीका पुरुषलाई कुनै समय छोरी-चेली दिने बेला मानिसहरू सोच्थे ।' अहिले ठोकर्पाको अवस्था फेरिएको छ । आँगनमै खानेपानीको धारा पुगेको छ । कुनं समय झिसमिसेमै पानीको मुहान पुग्ने महिलाहरू घर आँगनमै व्यस्त छन् ।

अबदेखि वडाबासीले खानेपानीका लागि कष्ट गर्नु पर्दैन । पानी बोक्नै घण्टौंसम्म पैतालाले दुःख पाउनु पर्दैन । 

'कुनै समय ठोकर्पाबासीका पुरुषलाई छोरीचेली दिनेबेला मानिसहरू सोच्थे । त्यो सुख्खा ठाउँमा पानी पाइदैन, घण्टौ हिड्नुपर्छ,' कार्कीले बिहीबार खानेपानीको उद्घाटन गर्ने  क्रममा भनेका थिए ।

ठोकर्पाबाट घरमा छोरी माग्न गए दुःख पाउने आशामा दिन अस्वीकार गर्थे । अब भने उनीहरूको दुःख सुख्खा डाँडाबाट सदाको लागि अन्त्य भएको छ । ७ सय ८६ घरधुरी प्रत्यक्ष रूपमा खानेपानीबाट सबैजना लाभान्वित बनेका छन् ।

कामको परिणाम बल्ल प्राप्त

वडाअध्यक्ष कार्कीले खानेपानीका लागि ठोकर्पाबासीले गर्नुपरेको संघर्ष नजिकबाट देखेका थिए । कुनै समय उनी आफैँ दुःखको साक्षी बनेका थिए । उनले पाँच वर्षे अवधिमा दुःख मात्र देखेनन् । पानीकै कारण गाउँबाट बसाइ सर्नेको ताती पनि देखे । खानेपानीको व्यवस्था भएपछि गाउँ फर्कनेहरू बढ्न थालेको उनले सुनाए ।

उनीसँग घण्टौसम्म पानी थाप्‍न मुहानमा बसेको अनुभव छ । आफ्नो परिवारले पाएको दुःख भन्दा स्थानीय महिलाहरूले खानेपानी लागि गर्नुपरेको सास्तीलाई अन्त्य गर्न घर-घरमा धारा अभियान सुरुवात गरेको कार्की बताउँछन्। उनले भने, 'यो ठाउँको विकराल समस्या सदाका लागि अन्त्य गर्नु थियो । सुरुदेखि गरेको कामले अहिले बल्ल परिणाम प्राप्त गरेको छ ।' 

तीन वर्षअघि जेठको पहिलो सातादेखि खानेपानीका लागि जग बिस्तार प्रारम्भ भएको थियो । आफ्नो कार्यकाल नसकिदै सबै घरमा खानेपानी पुर्‍याउन सकेकोमा उनी उत्साहित छन्, 'जनताले राम्रो काम गर्नलाई मत दिएर विजय गराएका रहेछन् । मैले सकेको काम गरेको छु । राजनीति र आस्थालाई नसम्झेर सामाजिक सेवाभाव राखी सबैको घरमा पानी पुर्‍याए ।'

निर्वाचनताका उनले घोषणापत्रमा सबै घरमा खानेपानी पुर्‍याउने उल्लेख गरेका थिए । वर्षौदेखि स्थानीयले भोग्दै आएको खानेपानी समस्याको समाधान गर्न उनले पहिलो प्राथमिकतामा राखे ।

स्वास्थ्य, शिक्षा र बाटो निर्माण गर्ने कार्य बिस्तारै गर्दै जाने सोचाइ राखी अगाडि बढे । वडाअध्यक्षमा निर्वाचित भएपछि खानेपानीको समस्या समाधान गर्न उनले सामाजिक सोच राखी काम गरेको उनको भनाइ छ । आफ्नै कार्यकालमा खानेपानीको समाधान हुन नसके कहिले पनि गर्न नहुने उनलाई लाग्थ्यो ।

महाभूकम्पले पानीको विपत्ति निम्त्यायो 

पानीको अभाव रहने ठोकर्पामा २०७२ को महाभूकम्पले अलिअलि भएको पानी पनि सुकायो । महाभूकम्पले सिन्धुपाल्चोकमा संकट मात्र निम्त्याएन, खानेपानीको हाहाकार समेत बनायो। विभिन्न संघ संस्थाले टयांकरमा ल्याएर वितरण गरेका थिए । कार्कीले सधैँभरी टयांकरको पानीले नपुग्‍ने भएकाले वैकल्पिक खोजी गर्न थाले ।

उनीसँग खानेपानी तथा ऊर्जा क्षेत्रमा काम गरेको अनुभव थियो । वडाबासीलाई खानेपानी पुर्‍याउँन वैकल्पिक प्रयोग गर्ने सोच बनाए । खानेपानीका लागि पर्यावरणमा असर नपुग्‍ने गरी तीन वर्षसम्म विज्ञ टोलीले अध्ययन गरेको थियो । ३६ वर्षीय कार्कीले काकाकुल ठोकर्पाबासीलाई डिप बोरिङबाट पानी निकाली घण्टौसम्म मार्च गर्नुपर्ने बाध्यताबाट मुक्त गराए ।  

'डिप बोरिङ'बाट १७ वटा खानेपानी प्रणालीमा जडान गरिएको उनले बताए । एक घण्टामा १४ हजार लिटर पानी उत्पादन हुने गरेको छ । डिप बोरिङ खानेपानीको स्रोत रहेकाले वर्षामा पानी रिचार्ज भइ बढी उत्पादन हुने उनको विश्‍वास छ । सुख्खा मौसममा वर्षामा परेको पानीले धान्‍न सक्‍ने उनले बताए ।  

प्रत्येक घरमा धारा र मिटर मात्र छैन । बालमैत्री धारा पनि छन् । अनावश्यक खानेपानीको प्रयोग हुन सक्ने भएकाले शुल्क लिन मिटर जडान गरिएको छ । सबैका लागि समान सामाजिक न्याय लागू गर्न उनले मिटर प्रणालीको व्यवस्था गरिएको उनी सुनाउँछन् ।

स्थानीयको श्रमदानले योजना सफल 

'समाजमा समान मानिस बस्दैनन् र संसारभर पनि हुँदैनन्,' कार्की अगाडि थप्छन्, 'धनी गरिब सबैका लागि पानीको समान शुल्कको व्यवस्था गरेका छौँ । प्रत्येक उपभोक्ताले मासिक एक सय रुपैयाँ तिर्ने गरेका छन् ।'

खानेपानी योजना उनको मात्र एकल पहलमा बनेको होइन । स्थानीय जनसहभागिता र श्रमदानले मात्र घर-घरमा पानी पुर्‍याउँन सफल भएको उनी मान्छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत केही कामदार खटाइएको उनले प्रस्ट पारे ।

२४ घण्टै उपभोक्ताले पानी पाउँछन् । एक उपभोक्ताले दैनिक साढे दुई सय लिटर पानी पाउँछन् । प्राकृतिक रूपमा बढी उत्पादन हुने स्थानमा उपभोक्ताले पाँच सय लिटरसम्म पाएका छन् ।

संघीय सरकार तथा विभिन्न संघ संस्थाको करिब साढे दुई करोडको संयुक्त लगानीमा घर-घरमा पानी पुगेको हो । स्थानीयको श्रमदानले सुख्खा क्षेत्रमा पानी निकाल्न ठूलो योगदान रहेको उनले बताए । जनप्रतिनिधि भइ काम गरे पनि उनले आफ्नो भन्दा पनि स्थानीयको अपनत्व बढी रहेको ठान्छन् । 'जनताको लागि काम गर्न आएकाले 'वाह' पाउने गरी ठूलो काम गरेकै छैन,' उनी भन्छन् ।

पद अस्थायी, काम स्थायी

कार्कीले जनप्रतिनिधि भएर रहँदा आफ्नो जिम्मेवारी पूरा गरेको मान्छन् । पद भनेको अस्थायी हो तर जिम्मेवारीमा बस्दा स्थायी काम गर्नुपर्ने उनले बताए। इमान्दार जनप्रतिनिधिले जिम्मेवारी पूर्वक काम गरेमा योजना सफल बनाउन सक्छन् भन्ने उनलाई लागेको छ । 

उनी निर्वाचित भएर आएपछि आफूले कर्तव्य मात्र पालन गरेको ठान्छन् । वडामा उथलपुथल हुने गरी कुनै काम नगरेको उनले बताए । कर्तव्य पूरा गरेमा मतदाताको मनमा सदैव बस्न सकिने कार्कीको भनाइ छ । 'इमानदार र इच्छाशक्ति भएमा योजना सफल बनाउन सकिन्छ,' उनी उत्साहित हुँदै भन्छन्,' थोरै पैसा तथा भएको स्रोत साधन उपयोग गरेर विकास गर्न सकिन्छ ।'

स्थानीय सरकार गाउँमा पुगे पनि बजेट पर्याप्त नहुँदा समयमा काम गर्न समस्या हुन्छ । संघीय र प्रदेश सरकारको भर परेको भए तीन वर्षमा स्थानीय खानेपानी नपाउने उनलाई लागेको छ । नक्सा पासदेखि विभिन्न प्रक्रियामा लामो झन्झटमा फसिने चिन्ता उनले प्रकट गरे । वडाको बृहत् खानेपानीको योजनाको डिपिआर संघीय सरकारले अहिलेसम्म दिन नसकेको बताए ।

जनताको साना-साना कामहरूमा ध्यान दिएको र विकासको नाममा महत्त्वाकांक्षी योजना सार्वजनिक नगरेको उनले बताए । 'यस भेगमा बसोबास गर्ने जनताको मुख्य माग खानेपानी थियो', वडामा भएको समस्या सुनाउँदै भने,' शैक्षिक संस्था राम्रो थिएन, बन्यो । जिल्लामै लिफ्टसहित पहिलो स्वास्थ्य चौकी बनेको छ । '

वडामा अक्सिजन प्लान्टसहितको अस्पताल बनेको छ । विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिने कार्कीले बताए । एक्सरे, ल्याब र फार्मेसी जस्ता सुविधा अस्पतालबाट पाउनेछन् । समुदायमा शिक्षाको  र पुस्तकको महत्त्व बुझाउन सामुदायिक पुस्तकालय समेत सञ्‍चालनमा ल्याएका छन् ।

सँगसँगै सूचना प्रविधिलाई पनि कार्कीले भित्र्याए । पुस्तकालयमा वायरलेस इन्टरनेट पनि जडान गरी  टोल-टोलमा फाइबर इन्टरनेट पुर्‍याए । 'काठमाडौँमा नेट सुस्त चल्छ होला तर, यहाँ तीव्रगतिमा चल्छ',उनले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x