समाज

अमेरिकाको जर्सी सिटीकी सल्लाहकार डा. बिष्णुमाया परियार नेपालमा सम्मानित

इकागज |
चैत २०, २०७८ आइतबार १०:२३ बजे

काठमाडौं– सामाजिक अभियन्ता, मानवाधिकार, घरेलु हिंसा र दलित अधिकारको बारेमा योगदान पुर्‍याएकी डा. विष्णुमाया परियार सम्मानित भएकी छिन्। त्रिवि दलित युनियनले उनलाई सम्मान गरेको हो ।

प्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले डाक्टर लिसा राइट ओफ्नरद्वारा लिखित ‘द राइटर्स माइण्डसेट’ पुस्तकमा डाक्टर विष्णुमाया परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरेको थियो । दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ, जसमध्येमा डाक्टर विष्णुमायाको जीवनी पनि समावेश छ । जसलाई विश्वका ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छ । 


अमेरिका २७ सेप्टेम्बरलाई बिष्णु माया डे घोषणा गर्छ र भव्य सेलिब्रेट गर्छ । ‘हामी पनि हाम्री नेपाली चेलीलाई सम्मान गरौं । उहाँबाट प्रेरणा लिऔं ।’ अनेरास्ववियु नेतृ दीपा नेपालीले भनिन्, ‘उहाँको बारेमा नेपालका शैक्षिक स्थलमा पनि पढाइ होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रमका वक्ता मीम बहादुर परियार र सांसद परियारले बिष्णु मायाको जीवनी नेपालको शैक्षिक पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे।  सम्मानित व्यक्तित्व बिष्णु मायाको संघर्ष दुख र सफलताको कहानी सुन्दा दर्शकदीर्घामा दुख र हर्षको आँशु छचल्किएको थियो । स्वयं बिष्णु माया समेत आफ्ना दुख सुनाउँदा भक्कानिएकी थिएन् । 

को हुन् विष्णुमाया ?

परियार गोरखा जिल्लाको साविक ताक्लुङ गाविसको एउटा गरिब परिवारमा जन्मिएकी हुन् । गाउँमा छुवाछुत मात्रै नभएर उनले अनेक हिंसा सहिन्। जीवनका अनेकन घुम्तीमा हरेक ठक्करको सामना गरेकी उनी अहिले डाक्टर छिन् ।

त्यति मात्रै हैन उनी अमेरिकाको एउटा नगरपालिकाको मेयरको सल्लाहकारसमेत बनेकी छन् । उनी अमेरिकाको जर्सी सिटीका मेयरको सल्लाहकार बनेकी हुन् ।
घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो । 

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार उनी ईमिसरी दूतसमेत हुन् । उनैको पहलमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका र जर्सी सिटीबीच सिस्टर सिटी बनेको थियो।

डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूका लागि टिपिएस रिजोलुसन पास गराउन सफल भएकी थिइन् । यो जर्सी सिटी काउन्सिलबाट सम्भव भएको थियो । सन् सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपबाट अमेरिकी भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल भएकी थिइन् । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो ।

परियार संस्थापक अध्यक्ष बनेर सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका विभिन्न जिल्लाका बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्चालन गरी लाभान्बित गरिसकेको छ ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेकी छन् । 
 


Author

थप समाचार
x