रेल उद्घाटन रिपोर्टिंगमा गएका पत्रकारहरु पीडै–पीडामा
जनकपुरधाम – कुर्था—जनकपुरधाम—जयनगर रेल सेवा उद्घाटन रिपोर्टिंङमा गएका पत्रकारहरुले राम्रै पीडा भोग्नु पर्यो, शनिवारका दिन । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको निमन्त्रणामा रेल सेवा उद्घाटनमा भारतीय भूमि जयनगर गएका आठ पत्रकारलाई अढाई घण्टासम्म बोगी(डिब्बा)भित्र थुनेर राखियो । अनि ८ घण्टासम्म प्यासमा ।
रेल उद्घाटन निम्ति शनिवार बिहान ७ बजे बस चढाइयो । अनि जयनगर लगियो । तर, बस्ने ठाउँसमेत दिइएन । पत्रकार लेखिएको लाइनका कुर्सीमा बस्न खोज्दा भारतीय सुरक्षाकर्मीहरुले नेपाली पत्रकार यहाँ बस्न मिल्दैन भनी उठाइयो ।
जहाँ बस्दा पनि भारतीय सुरक्षाकर्मीले उठाउँदै अन्ततः दर्शक दीर्घाको पछाडिको लाइनमा बस्न लगाइयो । उत्साहित हुँदै रिपोर्टिङका लागि गएका पत्रकारहरु भारतीय सुरक्षाकर्मी र रेल्वे पदाधिकारीहरुको अनौठो व्यवहारले दिक्क भए । भारतीय सुरक्षाकर्मी र रेलवे पदाधिकारीहरुको अनौठो व्यवहारले दिक्क हुँदै त्यहाँ नबसी स्टेशन घुमिफिर गरी रिपोर्टिंग गरे ।
रेल सेवा उद्घाटन इतिवृत्तान्त रिपोर्टिङमा गएका केही पत्रकारहरुले बस्ने ठाउँ पाए । केहीले बिहान ११ बजेसम्म चर्को घाममा डुल्दै समय बिताउनु पर्यो । नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले पीडा सुनाउँदै भन्छन्, ‘जनकपुरधामबाट नेपाली पत्रकारहरुलाई बसमा चढाएर स–सम्मान जयनगरसम्म लगियो । तर त्यहाँ पुगेपछि त न बस्ने ठाउँ दिइयो, न त रिपोर्टिंङ गर्न दियो । बरु अढाई घण्टासम्म चर्को घाममा तातिएका रेलको बोगीमा थुनेर राखियो ।’
उनले भने, ‘करीब ७ घण्टापछि २ बजेतिर एउटा खाजाको प्याकेज जनकपुरधाम फर्कने क्रममा दिइयो । तर पानी चाहिँ मात्र दुई सय एमएल बराबरको एक बोतल थमाइयो । तर, बोगीमा थुनिएर बसेका बेला पत्रकारहरुलाई प्यासले घाँटी सुकेको थियो ।’ पत्रकार राजन झा भन्छन्, ‘हामीहरुलाई ११ बजे उद्घाटन हुन्छ भनी हामीलाई रेलको बोगीभित्र बसाइयो । जसरी–त्यसरी दुई अढाई घण्टा प्यास अनि तातिएको रेल बोगीमा समय बिताए पनि न त उद्घाटनको फोटो खिच्न पायौं न दृश्य देख्न पायौं ।’
बोगीभित्र पसिसकेका नेपाली पत्रकारहरुलाई भारतीय तथा नेपाली सुरक्षाकर्मीले बाहिर निस्किनै दिएनन् । उता दिल्लीमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएपछि यता रेल चल्न थाल्यो । ‘रेल चल्न थालेपछि स्टेशनमै छुट्छौं कि भन्ने सोचेर पत्रकारहरु रिपोर्टिङ गर्न तल झर्न साहस गरेनन्’ नेपाल खबरका पत्रकार शैलेन्द्र क्रान्तिले भने ।
पत्रकार सुमित मिश्रका अनुसार, बोगी भित्र थुनिएका बेला त्यहाँ राखिएका बोत्तलका पानी पिउन खोज्दा सुरक्षाकर्मीहरुले हातैबाट खोसेका थिए । अढाई घण्टासम्म पत्रकारलाई बोगीभित्र कडा सुरक्षाका बीच थुनेर राखियो । सुरक्षामा खटिएका ती सुरक्षाकर्मीहरुले तल ओर्लियौं भने फेरि चढ्न दिन्न भनेपछि नेपाली पत्रकार रिपोर्टिंग त के पानी खान समेत तल ओर्लिन साहस गरेनन् ।
रेलभित्र थुनिएका बेला नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झा पत्रकारहरुको हालखबर सोधखोज गर्न आए । पत्रकारहरुले खाजा र पानीको समेत व्यवस्था छैन भनी पीडा सुनाए । त्यसपछि महाप्रबन्धक झाले तत्काल व्यवस्था गर्छु भनी आश्वासन दिए । तर उनी जनकपुरधाम आइपुग्दासम्म पत्रकार बसेको ती बोगीमा फर्केर आएनन्।
८ घण्टापछि करीब ३ बजे पुनः जनकपुरधाम आइपुगेका भोक–प्यासले रन्थनिएका पत्रकारहरु नेपाल रेल्वे कम्पनीद्वारा आयोजित उद्घाटन समारोह कार्यक्रमका रिपोर्टिंग गर्न साहस जुटाउन सकेनन् । उनीहरु रेल्बाट ओर्लिने बित्तिकै कोही आफ्ना घर त कोही नास्ताको पसल तिर लागेका थिए । यता पत्रकारहरुलाई भोग्नु परेको पीडाबारे नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झा भन्छन्, ‘हाम्रा पत्रकारहरु भारतीय महावाणिज्य दूतावासको निमन्त्रणामा गएको हुँदा दूतावासले व्यवस्थापन गरे होलान् भन्ने हामीलाई लागेको थियो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया