समाज

बूढानीलकण्ठ गाडी दुर्घटना

लीला परिवारको प्रश्न : जीवनको मूल्य एक हजार तोकेर न्यायालयले दिन खोजेको सन्देश के हो ?

सृजना खड्का |
चैत २१, २०७८ सोमबार ६:५० बजे

‘पैसा उठाएर गोरखामा देवकोटाहरूको अन्तिम संस्कार गर्ने पाटी बनाउनुपर्‍यो,’ भन्दै आफन्तले यादव देवकोटालाई प्रस्ताव गरे । यो कुरा उनले भाउजू लीला देवकोटालाई सुनाए । ‘कति हाल्नुपर्ने हो, हामी पनि हाल्छौँ’ भन्दै लीलाले त्यसमा स्वीकृति जनाइन् । सबैले पाँच–पाँच हजार रुपैयाँ हाल्ने कुरा भएको थियो । लीलाले पनि हालिन् । पैसा संकलन भइरहेको थियो । तर, गोरखा पठाउने व्यवस्था मिलिसकेको थिएन । लीलाले दिएको पैसा यादवको खल्तीमै थियो । 

त्यसको केही दिनपछि यादव पोखरामा हुन लागेको ‘लिटरेचर फेस्टिवल’तिर लागे । २०७६ मंसिर २८ गतेको दिन थियो । त्यस दिन साँझ एउटा सेसनमा उनले सहजकर्ताको भूमिका निभाउँदै थिए । तर, बिहान साढे ११ बजेतिर उनलाई दाइ रामकुमार देवकोटाको फोन आयो । रामकुमारको आवाज अन्य दिनको जस्तो सामान्य थिएन । उनी हतासमा थिए । ‘कता हो ? यहाँ भाउजूलाई गाडीले हानेछ, बाँसबारीको न्यूरो अस्पताल तुरुन्तै आउनुपर्‍यो,’ उताबाट आत्तिएको आवाज आयो ।


यादव तनावमा परे । आफू टाढा भएकाले एक चरण सबै आफन्तलाई फोन गरेर अस्पताल जान आग्रह गरे । सामान्य दुर्घटना होला भन्‍ने उनले सोचेका थिए । तर, मनमा भने अनेक कुरा खेलिरहेको थियो । त्यसको डेढ घण्टापछि रामकुमारको फोन फेरि आयो । यसपटक आएको फोनले पनि केही न केही सन्देश पक्कै बोकेर आएको थियो । तर, यादवलाई के थाहा त्यो खबर भाउजू लीलाको मृत्युको हुनेछ भनेर । 

यादव काठमाडौँ फर्किने फ्लाइटको टिकट हेर्न थाले । पोस्टमार्टमको काम भोलिपल्ट हुने भएकाले परिवारका सदस्यले उनलाई आफ्नो काम सकेर भोलिपल्ट फर्किने सल्लाह दिए । ‘त्यहाँ बसेपछि जसोतसो कार्यक्रम चलाउनुपर्ने भयो,’ उनले भने, ‘त्यस दिन मैले कार्यक्रम त चलाएँ तर, कसरी चलाएँ म आफैँलाई थाहा छैन ।’

यादव भोलिपल्ट बिहानै काठमाडौँ फर्किंदा छोराछोरीको रुवाबासी थियो । ‘बिहान सारसौदो पूजा गर्न मन्दिर हिँडेकी आमालाई गाडीले किचेर मार्दा कुन छोराछोरीको मन सम्हालिन्थ्यो र,’ उनले भने । पोस्टमार्टमका लागि शवलाई टिचिङ अस्पताल लगिएको थियो । उनीहरूले अस्पताललाई शव देखाइदिन आग्रह गरे । पोस्टमार्टम कक्षमा राखिएको शवको अनुहारमा रगतका छिटा थिए । सडकमा घिस्रिएकाले होला कतै–कतै कोतारिएका दाग पनि थिए । तिघ्र्रा बाङ्गिएको थियो । भाँचिएको जस्तो देखिन्थ्यो । 

पोस्टमार्टमपछि शवलाई दाहसंस्कार गर्नुभन्दा पहिला सवारी धनी पक्षलाई प्रहरीले सम्पर्कमा ल्यायो । जो सम्पर्कमा आए उनी परिवारका सदस्य थिएनन् । कुनै तेस्रो व्यक्ति (कृष्णबहादुर थापा)लाई एजेन्टको रूपमा पठाइएको थियो । मदिराको नशामा उच्च गतिमा अनियन्त्रित हिसाबले गलत साइडबाट गाडी चलाएर लीलालाई ठक्कर दिने व्यक्ति थिए, पृथ्वी मल्ल । उनको परिवारले थापालाई ज्यानको मूल्य सम्झौता गर्न पठाएको थियो । 

देवकोटा परिवार क्षतिपूर्ति र कानुनी कारबाहीबिना लीलाको शव कुनै पनि हालतमा उठाउने पक्षमा थिएन । पछि सम्झौता भएर दाहसंस्कारको प्रक्रिया अघि बढ्यो । लीला र रामकुमारका दुई छोरी र एक छोरा छन् । जेठी छोरी सविना(२३) घटना भएकै साल साउनमा जापान गएकी थिइन् । अहिले पनि उतै छिन् । कान्छी छोरी रविना (२०) र छोरा रविन अहिले यहीँ पढ्दै छन् । आमाको मृत्युपछि घरायसी वातावरण बिग्रिएर छोराछोरीको पढाइलगायत अन्य पक्ष बिग्रिँदै गएको छ । श्रीमती गुमाएको पीडाले रामकुमारमा पिउने बानी बढेको छ । 

लीलाको संघर्षका साक्षी हुन्, उनका देवर यादव । ‘बच्चाहरू हुर्किएर उनीहरूको कमाइ खाने बेलामा उहाँले ज्यान गुमाउनुपर्‍यो,’ उनले भने, ‘दाइ र छोराछोरीको अवस्था देख्दा छाती चिरिएर आउँछ ।’ देवकोटा परिवार २०६४ सालमा गोरखाबाट काठमाडौँ आएको थियो । त्यो बेलादेखि नै उनीहरू गार्मेन्ट फ्याक्ट्रीमा काम गर्थे । 

घटनापछि भने सबै कुरा बदलियो । तीन सन्तानले आमा गुमाए भने देवकोटा परिवारले न्याय गुमाउने खतरा बढ्न थाल्यो । पीडितलाई झन् पीडा दिन पैसा, पावर र पहुँचको खेल सुरु हुन थाल्यो । कोभिडको जोखिम देखाउँदै सर्वोच्च अदालतले पृथ्वीलाई पाँच लाख धरौटीमा थुनामुक्त गर्‍यो । २०७७ असार ३१ मा न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

त्यसपछि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले १० वर्ष सजायको माग गर्दै अभियोगपत्र दर्ता भएको थियो । तर, केही दिनअघि मात्रै काठमाडौँ जिल्ला अदालतले दुई वर्ष अगाडिको सो घटनाको फैसला सुनाउँदै पृथ्वीलाई जम्मा एक हजार जरिवाना र ६ महिना कैद सजाय सुनायो ।

न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले सो फैसला सुनाएको हो । ६ महिना कैद सजाय सुनाए पनि कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेको देखाइएको छ । तर, सो अवधिमा उनी अधिकांश समय ‘उपचारका लागि’ अस्पताल बसेका थिए । अदालतको फैसलाअनुसार अब उनले एक हजार रुपैयाँ जरिवाना तिरे पुग्छ । 

काठमाडौँ जिल्ला सरकारी वकिल प्रमुख गंगाप्रसाद पौडेलले उक्त फैसला चित्तबुझ्दो नभएकाले मुद्दा पुनरावेदनमा जाने बताए । ‘फैसलाको पूर्णपाठ आएको छैन,’ उनले भने, ‘कति समय लाग्छ भन्‍न सक्ने अवस्था छैन । पूर्णपाठ आएपछि पुनरावेदन जानेछौँ ।’

यो फैसलाबाट देवकोटा परिवार अलिकति पनि सन्तुष्ट छैन । ‘यो देख्ने र सुन्‍नेलाई पनि लाज लाग्ने खालको फैसला हो,’ यादव भन्छन्, ‘पकेटमारलाई पनि यस्तो खालको कारबाही हुँदैन । कसैको जीवनको मूल्य एक हजार तोकेर न्यायालयले दिन खोजेको सन्देश के हो ?’

यो फैसलाले सरासर अपराधलाई सामाजिकीकरण गरेको यादव बताउँछन् । ‘पैसा र तागतको भरमा अदालतमा पेस गरेको नक्कली इन्टरनेसनल ड्राइभिङ लाइसेन्सलाई आधार मानेर यस्तो फैसला गर्न मिल्छ ?’ उनको प्रश्न छ, ‘मान्छेको ज्यान केही होइन, पैसा भयो भने जसलाई जहाँ पनि मार्न पाइन्छ, भन्‍ने सन्देश यो फैसलाले दिएको छ ।’

यो फैसलामाथि उनीहरूलाई शंका छ । ‘यो फैसलाले सरासर हामीमाथि अन्याय गरेको छ,’ यादवले भने, ‘न्यायको प्रचलित मान्यता र तथ्यभन्दा बाहिर बसेर फैसला भएको छ ।’ फैसलामाथि उनीहरूलाई शंका हुनुको पछाडि थुप्रै कारण छन् । फैसला हुनुभन्दा अगाडि पीडित पक्षलाई न फोन गरिएको छ, न बयान लिन नै बोलाइएको छ । यादवका अनुसार बयानका लागि चिठी काटिएको देखिएको छ । तर, देवकोटा परिवारलाई यसबारे खुटखबर छैन । 

लीलाका श्रीमान्लाई दुई दिनपछि बल्ल फैसलाबारे जानकारी भयो । ‘भाउजूको फैसला भएछ थाहा भयो भनेर दुई दिनपछि सोध्दा दाइलाई थाहा नै रहेनछ,’ यादवले भने, ‘हामीले फैसलाको पूर्ण पाठ पाइसकेका छैनौँ । सरकारी वकिलको कार्यालयले मिडियामा पुनरावेदन जान्छौँ भनेको सुनेका छौँ । हामी पनि यो विषयमा छानबिन गर्न न्यायपरिषद्मा उजुरी दिन जाने तयारी गरिरहेका छौँ ।’

रामकुमार अहिले पनि बिहानदेखि बेलुकासम्म गार्मेन्टमै खटिन्छन् । घर सम्हाल्ने जिम्मा कान्छी छोरी रविनाको थाप्लोमा आएको छ । उनीहरू खुलेर आफ्ना कुरा राख्न पनि सक्दैनन् । उनीहरूका लागि अहिले हर्ताकर्ता भनेका यादव नै हुन् । जसले निरन्तर बोल्दा–बोल्दा केस यहाँसम्म आइपुगेको छ । ‘यत्तिको हारगुहार गर्दागर्दै त यस्तो खालको फैसला आउँछ भने म नभएको भए मेरा दाजु र भतिजाभतिजीको कुरा बाहिर पनि नआउने रहेछ ।’

यादवको नजरमा लीलाको दुर्घटना होइन, हत्या भएको हो । ‘दुर्घटना हुनलाई सहिसलामत हालतमा सवारी चलाएको हुनुपर्छ,’ उनले भने, ‘सवारी चालकको कागजपत्र हुनुपर्छ । बिनालाइसेन्स रक्सी सेवन गरेर आफ्नो दिशामा हिँडिरहेको मानिसलाई विपरीत दिशामा गएर ठक्कर दिनु दुर्घटना होइन, हत्या हो ।’

अहिले देवकोटा परिवारलाई सबैले एउटै प्रश्न उठाइरहेका छन् । त्यो प्रश्न उनीहरूले लिएको क्षतिपूर्ति रकमसँग सम्बन्धित छ । यादवलाई क्षतिपूर्ति रकमको अंक लुकाउनु छैन । उनी निर्धक्कसाथ आफूहरूले ५५ लाख रुपैयाँ सवारी धनीबाट क्षतिपूर्तिका रूपमा लिएको स्विकार्छन् । त्यो पैसा अहिले रामकुमार र रविनाको संयुक्त खातामा राखिएको छ । एक रुपैयाँ पनि खर्च गरिएको छैन । 

‘धेरैले त्यत्रो रकम क्षतिपूर्तिमा किन लिएको भनेर प्रश्न उठाइरहेका छन्,’ यादव भन्छन्, ‘पैसा लिएर मेलमिलाप गरेको भन्‍ने आरोप पनि आइरहेका छन् ।’ यसमा उनी प्रश्न गर्नेहरूलाई नै प्रतिप्रश्न गर्छन्–तपाइँहरू आफैँ भन्‍नुस् मान्छेको ज्यानको मूल्य कति हुन्छ ?

लीला नै घरको मुख्य आय स्रोत भएकाले बच्चाहरूको भविष्यका लागि उक्त रकम लिएको यादवले बताउँछन् । ‘क्षतिपूर्ति पाएकै कारण न्याय नपाउने भन्‍ने हुँदैन, न्याय पाएकै कारणले क्षतिपूर्ति नपाउने भन्‍ने पनि हुँदैन,’ उनी भन्छन्, ‘न्याय नपाएर बच्चाहरूले अपराधी फेरि गाडी चलाएर हिँडेको देख्न पनि नपरोस् र क्षतिपूर्ति नपाएर भोलि उनीहरू कचौरा लिएर सडकमा हिँड्ने अवस्था पनि नआओस् । दुवै पक्षलाई ध्यानमा राखेर लड्नु नै बाँचेकाहरूको कर्तव्य हो । यसमा एउटा परिवार मात्र होइन, सिंगो समाज लड्नुपर्छ ।’

क्षतिपूर्तिमा उनीहरूको दाबी छैन । उनीहरूको असन्तुष्टि न्याय प्रक्रियामा हो । ‘अदालत भनेको चारखालको माल अड्डा होइन,’ यादव भन्छन्, ‘दुवै पक्षलाई कति पैसा लियौँ–दियौँ भनेर सोधपुछ गरेको आधारमा लालपुर्जा बनाए जस्तो न्यायको फैसला हुनु हुँदैन । घटना के भएको हो र तथ्यहरूले के देखाउँछ भन्‍ने त्यसको आधारमा फैसला हुनुपर्छ ।’

न्याय पाउने कुरामा आफूहरूले लिएको क्षतिपूर्तिले कहीँकतै बाधा नगर्नेमा यादव ढुक्क छन् । ‘हामीले क्षतिपूर्ति पायौँ अब न्याय चाहिँदैन भनेर कतै हस्ताक्षर गरेका छैनौँ,’ उनी भन्छन्, ‘क्षतिपूर्तिको पैसालाई न्यायसँग लगेर जोड्न मिल्दैन । मिल्छ भने संविधानको कुन धाराले मिल्छ भन्छ हामीलाई देखाएर हाम्रो चित्त बुझाउनुपर्‍यो ।’

क्षतिपूर्ति र न्याय दुवै एकै साथ समानान्तर ढंगले अगाडि बढ्नुपर्ने देवकोटा परिवारको माग छ । ‘यो विषयमा एकले अर्कोको मोलाहिजा गर्न सक्दैन,’ यादव भन्छन्, ‘क्षतिपूर्तिका कारण न्याय र न्यायका कारण क्षतिपूर्तिको कुरामा असर पर्नु हुँदैन । यी दुवैका रेखा फरक छन् तर, दुवै समानान्तर हिसाबले अघि बढ्नुपर्छ ।’

तर, धनले धानिरहेको व्यवस्थामा न्याय पाउने देवकोटा परिवारको आशा कमजोर बन्दै गइरहेको छ । ‘जोसँग जति पैसा छ, उसले त्यसैको आधारमा सामाजिक सुरक्षा पाउने रहेछ,’ यादवले भने, ‘बितेको एक महिनाभित्र भएका फैसला मात्रै पल्टाएर हेर्ने हो भने पीडितले न्याय पाएको हामी कतै देख्दैनौँ ।’

न्यायालयलाई यादवको प्रश्न छ– पीडितले न्यूनतम न्याय पाएँ भनेर अनुभूत नहुने यो फैसला कस्तो फैसला ? ‘हामीले फाँसी देऊ भनेका छैनौँ, उसले जसरी हान्यो त्यसरी नै हामी पनि मार्छौं भनेका छैनौँ,’ उनी भन्छन्, ‘अपराधी १० वर्ष जेल जाँदा हामीले गुमाएको मान्छे फिर्ता पाउँदैनौँ । तर, पीडित परिवारलाई हत्याराले सजाय भोगिरहेको छ भन्‍ने अनुभूति त गर्न पाउनुपर्‍यो नि । त्यो पीडित परिवारको हक हो कि होइन ?’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x