ट्युसन पढ्न गएकी छात्राको आफ्नै साथीको योजनामा हत्या
विराटनगर – उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माविको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीय कविता सुनुवारको आफ्नै साथीको योजनामा हत्या भएको छ ।
बेलका–६ किराँत चोकस्थित आफ्नै घरबाट मंगलबार विहान सवा ४ बजे अतिरिक्त कक्षा (ट्युसन) पढ्नका लागि हिंडेकी कविताको वडा नं. ३ को डंगटोलस्थित यसोदा खोलाको किनारमा शव भेटिएको थियो ।
बाटो हिंड्नेले शव देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेका थिए । कविताको हत्यामा उनकी १७ वर्षीया साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय बिनोद ढकालको संलग्नता देखिएको प्रारम्भिक अनुसनधानले देखाएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । भारतको सिक्किमस्थित वियुङमा घर भएका बिनोद केहि समयदेखि बहिनीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।
कवितालाई बिहानै उनकै साथीले फोन गरेर बोलाएको र बिनोदलाई पनि सँगै लगेको खुलेको छ । प्रहरीले फोन रेकर्डका आधारमा दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विज्ञप्ति निकालेर कडा कानुनी कारवाहीका लागि माग गरेका छन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा कविता र उनीसँगै अध्ययनरत अर्की छात्राबीच विगतदेखि झगडा भएको पत्ता लगाएको छ । मंगलबार विहान विद्यालयमा जाने क्रममा उनीहरुबीच भेट भएर झगडा सुरु भएको र खोला किनारमा पुगेपछि आक्रमण गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुले हत्याका क्रममा बियरको बोतल र ढुंगाले हानेको खुलेको छ ।
‘घटनास्थल हेर्दा विहान उज्यालो हुनुपुर्व नै हत्या गरेर नजिकैको बाँसधारीमा शव घिसारेर फालिएको देखिन्छ’ एक प्रहरीले भने, ‘घटनामा निकट संलग्नता रहेका दुईजनालाई पक्राउ गरिसकिएको छ ।’
विद्यालयले आगामी एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा संचालन गर्दै आएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले ट्यूसन पढ्नलाई गएकी कविताको शव भेटिएको बताए । उनले घटनामा संलग्न जोसुकै भएपनि कडा कारवाही हुनुपर्ने बताए ।
मृतक कविताको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वडा नंं. ३ का वडाध्यक्ष भरत दर्लामी मगरले बताए । उनले साथीसाथीबीच उत्पन्न भएको आपसी इबी बढेर हत्यासम्मको अवस्थामा पुगेको हुनसक्ने बताए ।
घटनापछि विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय रामपुरको अगाडि प्रदर्शन गरेका छन् । परीक्षाको मुखैमा यस्तो दुखद् घटना भएका कारण विद्यालयको समग्र शैक्षिक वातावरण नै बिथोलिएको एक शिक्षकले बताए ।
याे पनि...
ट्युशन पढ्न निस्किएकी किशाेरीकाे बाटैमा हत्या
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया