जो चार पटक नेपाल च्याम्पियन भए
धनगढी : शुक्रबार ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाउँदा लक्ष्मीदत्त भट्टका आँखा रसाए । तीन दशकअघि चार पटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माएका कैलाली गेटाका भट्टलाई त्यो सम्मान प्राप्तिको आशा थिएन । तर, खेलकुद पत्रकार मञ्च कैलालीले दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनलाई त्यो सम्मान दिएको हो । भट्टले ४० को दशकको सुरुवातमा एथलेटिक्सअन्तर्गतको हिँडाई विधा (स्लो रेस) मा एकछत्र राज गरेका थिए ।
तर, ६५ वर्षीय भट्टको खेलकूदसँगको साइनो छुटेको पनि तीन दशक पुग्न लागेको छ । नेपाली खेलकुदमा इतिहास बनाएका बैकुण्ठ मानन्धर, हरि रोक्कालगायत खेलाडीका समकक्षी थिए, उनी । कतिपय प्रतियोगिताहरुमा सँगै पनि खेलेका छन् । २०३१ देखि २०४० सम्म एथलेटिक्सका राष्ट्रिय खेलकूद प्रतियोगिताको म्याराथनमा सहभागिता जनाए । तर उनी कहिल्यै पनि प्रथम हुन सकेनन् । अधिकांश प्रतियोगितामा दोस्रो नै भए ।
त्यही समयमा खड्ग रानाभाटसँगको भेटले उनको खेल्ने शैली फेरियो । म्याराथुन छाडेर उनी हिँडाई अर्थात् ‘स्लो रेस’तिर लागे । नभन्दै सफलतामाथि सफलता प्राप्त गरे । २० किलोमिटरको प्रतियोगितामा उनले तत्कालीन सेती अञ्चलको प्रतिनिधित्व गर्दै चार पटक स्वर्ण पदक जिते । २०४० मा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २० किलोमिटर हिँडाईमा दोस्रो भएका भट्टले २०४१ मा दाङमा भएको २४ औं एथलेटिक्स प्रतियोगितामा पहिलो स्वर्ण जित्दै दुई घण्टा ९ मिनेट २१ सेकेन्डको रेकर्ड राखे ।
२०४२ सालमा वीरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकूदमा पनि स्वर्ण जिते । २० किलोमिटरको दुरीलाई सुधार गर्दै दुई घण्टा ७ मिनेट १० सेकेन्डमा झारे । २०४३ सालमै काठमाडौंमा भएको २६ औं राष्टिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्दै ह्याट्रिक गरे । उनले २० किलोमिटरको दुरी एक घण्टा ५७ मिनेट १९ दशमलव ३० सेकेन्डमा पूरा गरेका थिए । २०४५ मा महेन्द्रनगरमा भएको २७ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पनि स्वर्णमाथि कब्जा जमाएका थिए ।
२० किलोमिटरको हिँडाईमा नेपालमा रेकर्ड बनाउन सफल भएका लक्ष्मीदत्त भट्टले नेपालको प्रतिनिधित्व गर्दै दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।सन् १९८५ मा इन्डोनेसियामा भएको छैटौं एसियन ट्याक एण्ड फिल्ड र सन् १९८७ मा सिंगापुरमा भएको सातौं एसियन ट्याक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गरे । दुवै प्रतियोगितामा पदक नजिते पनि आफ्नो प्रदर्शनलाई भने सुधार गरे ।
अन्तर्राष्ट्रिय सहभागितासँगै राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि उनलाई राखेपमा २०४६ सालमा सहायक प्रशिक्षकको रुपमा नियुक्ति मिल्यो । तीन वर्षसम्म काम गर्दा उनले धेरै खेलाडीलाई प्रशिक्षण दिए । २०४९ सालमा सरकारले प्रशिक्षकबाट निस्काशन गरेपछि उनको प्रशिक्षणमा पनि पूर्ण विराम लाग्यो । ०४९ सालदेखि उनी फुर्सदिला छन् । ‘प्रशिक्षकबाट निस्काशन भएपछि खेलप्रतिको लगाब हुँदा हुँदै पनि टाढिन पुगेँ,’ उनले भने, ‘अहिले त बुढेसकाल लागिसक्यो । केही गर्न खोज्दा पनि सकिँदैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया