समाज

छात्रामाथि यौन दुर्व्यवहार प्रकारण

प्रहरीमा उजुरी परेन, विद्यालयमा अधिकारकर्मी, छात्रा र शिक्षिकालाई सुरक्षा चुनौती

सरिता दाहाल |
चैत २३, २०७८ बुधबार २०:४५ बजे

मकवानपुर – अभिभावकहरुले विद्यालयमा भएको बाल यौन दुर्व्यवहार विरुद्ध नबोल्न भनेपछि बालिकाहरुमाथिको घटनामा न्याय मर्न नदिनका लागि मकवानपुरका अधिकारकर्मीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरुलाई सोही विद्यालयमा अध्यापनरत ३ जना शिक्षकमाथि लागेको आरोपको छानबिन गर्न मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका हुन् ।


शिक्षकको व्यवहारमाथि कारवाहीको माग गर्दै मंगलबार विद्यार्थीहरु तोडफोडमा उत्रेपछि बुधबार जिल्लाका अधिकारकर्मीहरु स्थलगत अध्ययनमा गएका थिए । शिक्षक रुद्रबहादुर बिक, हेमबहादुर बिक र लोकबहादुर बिकले कक्षा ४ देखि माथिल्लो तहको विद्यार्थीलाई केही वर्षदेखि लगातार यौन दुर्व्यवहार गर्दै आएको अध्ययनका क्रममा पत्ता लागेको अधिकारकर्मीहरुले बताएका छन् ।

ती शिक्षकहरुले कक्षा ४ मा पढ्दादेखि नै आफूहरुलाई नराम्रो छुवाइ गर्दै आएको र आफूले डरको कारण कसैलाई नबताएको हाल कक्षा ७ मा अध्ययनरत एक बालिकाले बताइन् । विद्यालयका बाल क्लबका अनुसार ती शिक्षकहरुबाट करिब ७० जना बालिकाहरु पीडित छन् ।

तर अभिभावक र शिक्षकहरुकै डरको कारण उनीहरु खुल्न सकेका छैनन् । बुधबार अधिकारकर्मीहरुसँग कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीहरुले आफूहरुमाथि नियमित यौन दुर्व्यवहार हुँदै आएको बताएका थिए ।

कक्षामा पढाउने क्रममा झ्याल ढोका बन्द गर्न लगाउने, विभिन्न बाहानामा छात्राहरुको संवेदनशील अंगहरुमा हात लैजाने गरेको र प्रतिकार गर्दा पिट्ने गरेको उनीहरुले बताए । जसले प्रतिकार गर्छ उसलाई ‘बदमास विद्यार्थी’ भन्दै पिट्ने गरेको र जसले चुपचाप सहन्छ उसलाई ‘यो मात्रै ज्ञानी छ’ भन्ने गरेको बालिकाहरुले अधिकारकर्मीहरुलाई बताएका थिए ।

अधिकारकर्मीहरुले सत्य तथ्य बुझनको लागि स्थलगत भ्रमण क्रममा पीडित बालिकाहरु, बालक्लबका सदस्यहरु, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयलगायतका सरोकारवालासँग घटना बारे जानकारी लिएका थिए ।

पीडितहरुले प्रशासनमा तीन शिक्षकको नाम किटानीसहित कारबाहीको माग गर्दै मिति चैत्र ७ गते उजुरी समेत दिइएको र त्यसको न्यायोचित निर्णय नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी सिविन नेपाल, बाल हेल्पलाइन नेपाल १०९८ मकवानपुरका व्यवस्थापक झबिन्द्र ज्ञवालीले बताए ।

घटना भएको लामो समय भएको र किटानी उजुरी नै दिएको २ हप्ता नाघ्दासमेत कानूनबमोजिम हुनुपर्ने कारबाही प्रक्रिया अगाडि बढ्न नसकेकोले सरोकारवालाहरु संवेदनशील नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले बताइन् ।

बालिकामाथि हुने याैन दुर्व्यवहारको घटनाबारे बुझ्न जाँदा आफूहरुलाई छात्राहरुसँग बोल्नसमेत विद्यालय प्रशासनले रोक्न खोजेको र लामो छलफलपछि छोटो समय बालिकाहरुसँग परामर्श गर्न पाएको हिमराइट्स मकवानपुरकी प्रमुख कुमारी वाइबाले बताइन् ।

विद्यालयका प्राचार्यको निर्देशनबमोजिम छात्राहरुसँग सोधीखोजी गर्ने महिला शिक्षक र कर्मचारीहरुलाई रिसभाव राखेर ज्यान मार्ने धम्कीसमेत दिइएको जानकारी प्राप्त भएको उनले बताइन् ।

उज्जवल भविष्य बोकेर विद्यालय गएका छात्रामाथि भएको अमानवीय र जघन्य अपराधविरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरुको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशीलतालाई ध्यानमा राखी दोषीहरुले उन्मुक्ति नपाउने गरी कानूनबमोजिम कारबाही र सजायका लागि सम्बन्धित निकायसमक्ष मकवानपुरका बालअधिकार तथा मानवअधिकारकर्मीहरु माग गरेका छन् ।

स्थानीय केही सरोकारवालाको धारणा बुझ्दा यस समस्यालाई समाधानको निम्ति स्थानीय स्तरमै मेलामिलापको प्रयास गर्न खोजिएको, अभिभावकले पनि आफ्नै बालिकाहरुलाई नबोल्नका लागि दबाब दिएको प्रत्यक्ष देखिएको राडो नेपालका कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए ।

बालिकाहरुको न्यायका लागि अधिकारकर्मीहरुले आफ्नो तहबाट आवश्यक सहजीकरण तथा समन्वय गर्ने बताउँदै मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालकी संयोजक आरती पाठकले सम्बन्धित सरोकारवालाहरुले संवेदनशिल विषयलाई गहन रुपमा बुझिदिन आग्रह गरिन् ।

नेपालको संविधान २०७२ ले मौलिक हककै रुपमा धारा ३९ को बालबालिका सम्बन्धी हक अन्तर्गत बालबालिकालाई सम्बोधन गरी बालबालिकामाथि हुने कुनै पनि शोषणलाई निषेध गरेको छ । प्रचलित मुलुकी अपराधसंहिता २०७४ दफा २२४ ले कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन हुँदैन भनेको र दफा २२५ ले कसैले बाल यौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनेको छ । त्यसै गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिका विरुद्धको कसूर अन्तर्गत बालयौन दुर्व्यवहारलाई अपराध मानी दण्ड सजायको समेत व्यवस्था गरिएको छ । उल्लेखित अपराध गर्नेलाई ३ वर्षसम्म कैद र तिस हजारदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको सेलर्डका अधिवक्ता जगन्नाथ सुबेदीले बताए ।

स्थलगत भ्रमणमा गएको टोलीले विद्यालयसँगै इलाका प्रहरी कार्यालय फापरबारी, बागमती गाउँपालिकामा समेत घटनाबारे जानकारी लिएको थियो । टोलीले हेटौंडा फर्केर पत्रकार सम्मेलनमार्फत प्राप्त जानकारी सार्वजनिक गरेको छ । स्थलगत अध्ययनमा शान्ति फाउण्डेसन मकवानपुरका जिल्ला संयोजक सिता गुरुङ्ग, ग्रामीण महिला सेवा केन्द्र कार्यक्रम संयोजक दीपक न्यौपाने, सञ्चारिका समूह नेपाल बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, नारी सीप सृजना केन्द्र कार्यसमिति सदस्य सर्मिला विश्वकर्मालगायतको उपस्थिती रहेको थियो ।

घटनाको अझै पनि प्रहरीमा उजुरी परेको छैन । प्रहरीमा उजुरी नपरेपछि आरोपित शिक्षकहरु विद्यालयमा बिदा लिएर घर बसेका छन् । घटनापछि आफूहरुलाई चौतर्फी दबाब आएको बालक्लबका प्रतिनिधिहरुले बताएका छन् । यता बालिकाहरुलाई समर्थन गर्ने शिक्षिकामाथि घाँटी रेट्ने भन्नेसम्मको दबाब आएको बताइएको छ । ‘हामीलाई त जे भयो भयो, हामीलाई साथ दिने मिसहरुलाई पनि मारेर फाल्ने भन्ने सम्मको कुरो छ’ एक छात्राले भनिन् ।

स्थलगत अनुगमनमा गएको टोलीसँग विद्यालयका प्रध्यानाध्यापकले आफू पनि न्यायको पक्षमा रहेको र यसबारे प्रहरीलाई छानबिनको लागि आग्रह गर्ने तयारी भएको बताए । विद्यालयले यसअघि बुधबार बिहान विद्यालय व्यवस्थापन समितिको सदस्य भानुमाया सोराली मगरको संयोजकत्वमा छानबिन समिति बनाएकोमा उक्त छानबिन समिति अवैध भएकोले अब, छानबिनको जिम्मेवारी प्रहरीलाई दिने प्रध्यानाध्यापकले बताए ।


Author

थप समाचार
x